१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्यानको फारम भर्नै रकम

विना थापा

कास्की — वडाको सिफारिस लिई आन्तरिक राजस्व कार्यालय पोखरा पुगेकी लक्ष्मी रानामगर अलमलिएर उभिइरहिन् । पोखरा–२६ देखि पसलका लागि स्थायी लेखा नम्बर (प्यान) लिन पुगेकी उनी कार्यालयमा पहिलोपटक आएकी हुन् ।

प्यानको फारम भर्नै रकम

उनीसँगै आएकी साथीलाई समेत यसबारे केही जानकारी थिएन । दुवै जना प्यान नम्बर लिन बसेका सेवाग्राहीको भीडतिर पुग्छन् ।


लाइन बसेका एक व्यक्तिले पहिला फारम भर्नुपर्ने बताएपछि उनीहरू फेरि सोधपुछ गर्दै गेटको अगाडि पुग्छन् । बाटोमा फारम भर्न बसेका लेखापढी व्यवसायी व्यस्त थिए । मगरले पनि पालो कुरेर फारम भरिन् ।

‘फारम भरेको एक–डेढ सय लिन्छन् होला जस्तो मनमा लागेको थियो तर ३ सय ५० रुपैयाँ मागे । बार्गेनिङपछि ३ सय रुपैयाँमा मिल्यो,’ उनले भनिन्, ‘आफूलाई फारम भर्न नआउँदा ठगिन पुगें, मौकामा चौका हाने ।’ उनका अनुसार सँगैका अर्का सेवाग्राहीको कम्पनीको प्यानका लागि फारम भरेबापत उनीहरूले ७ सय रुपैयाँ लिएका थिए ।


कार्यालयले १०/२० रुपैयाँ लिएर अफिसमै फारमका लागि कर्मचारी थपिदिए ठगिनुपर्ने थिएन भन्दै धेरै सेवाग्राही गुनासो गरिरहेका थिए । फारमको अवस्था हेरेर २ सयदेखि ७ सयसम्म लिइने लेखापढी व्यवसायी रामेश्वर गिरीले बताए । ‘घाममा बसेर फारम भर्न पनि त गाह्रो छ,’ उनले भने ।


वृद्ध, अशक्त र बच्चा च्यापेर आउनेलाई प्राथमिकता दिएर प्यान नम्बर भरिदिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले बताए । कार्यालय आउने कसैलाई नफर्काइएको उनको दाबी छ । कार्यालयमा फारम भर्न एउटै सेवाग्राहीलाई २० देखि २५ मिनेट लाग्ने भएकाले आफैंले अनलाइनमा भरेर आउँदा सहज हुने उनको भनाइ छ । उप्रेतीका अनुसार कार्यालयभित्र कुनै बिचौलिया छिर्न दिइएको छैन ।


निःशुल्क फारम भराउन ३ छुट्टै कर्मचारी करारमा राखिएको छ । प्यान नम्बरका लागि व्यवसायी र रोजगारदाता सबै एकैसाथ आउँदा भीड बढेको छ । साउन महिनामा मात्र १५ हजार जनाले आवेदन दिएको तथ्यांक छ । पछिल्लो समय दैनिक हजारको संख्यामा आउन थालेकाले थेग्न गाह्रो परेको उप्रेतीले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?