१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गण्डकी प्रदेश सरकार मातहतका कर्मचारीलाई एकहप्ते भ्रमण बिदा, खर्च सरकारले नै व्यहोर्ने

प्रतीक्षा काफ्ले

(गण्डकी) — गण्डकी प्रदेश मातहतका कर्मचारी एकहप्ते भ्रमण जान पाउने भएका छन् । यस्तो बिदामा गण्डकी प्रदेशअन्तर्गतका महत्वपूर्ण पर्यटकीय गन्तव्य भ्रमण गर्नुपर्ने छ भने सो ठाउँमा रहेका होमस्टेमै बास बस्नुपर्ने छ । त्यो सबै खर्च भने सरकारले व्यहोर्ने छ ।

गण्डकी प्रदेश सरकार मातहतका कर्मचारीलाई एकहप्ते भ्रमण बिदा, खर्च सरकारले नै व्यहोर्ने

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तराष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ । अहिले आन्तरिक पर्यटन वर्षको ९ महिना बित्दासमेत प्रदेश सरकारले पर्यटक भित्र्याउने कुनै योजना बनाएको छैन् । प्रचारप्रसारको लागि कर्मचारीलाई भ्रमण पठाउने भएको हो ।

जसको लागि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको छ । बैठकले ‘बिदा पर्यटन कार्यविधि २०७६’ स्वीकृत गरेको छ । जसमा एउटा कर्मचारीले ७ दिन बिदा पाउने छ । बैठकले गरेका निर्णय शुक्रबार सार्वजानिक गर्दै सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले तलवी बिदा दिने निर्णय भएको बताए । उनका अनुसार कर्मचारीले आ–आफ्नो पद अनुसारको खाईपाई आएको एक महिनाको तलबस्वरुप भ्रमण खर्चवापत पाउने छन् ।

गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरवन्दी छ । हाल १८ सय कर्मचारी कार्यरत छन् । मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन वर्षलाई टेवा दिन कर्मचारी भ्रमणको व्यवस्था गरिएको बताइएको छ ।

यसैगरी बैठकले कास्कीमा डेंगु रोग नियन्त्रणका लागि २१ लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ । हालसम्म कास्कीमा एकसय ५० भन्दा बढी डेंगुका कारण बिरामी परेका छन् । यस्ते गण्डकी प्रदेशसभा र प्रदेशको प्रशिक्षण प्रतिष्ठान भवन निर्माण गर्ने विषयमा पनि बैठकले निर्णय गरेको छ ।


प्रकाशित : भाद्र ६, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?