२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सांसदसँग विकास माग

आश गुरुङ

फू, मनाङ — गाउँमा स्वास्थ्य संस्था छैन । सिटामोल खानसमेत पाइँदैन । स्कुल छ, विद्यार्थी छैनन् । आलु र जौबाहेक खाद्यान्न हुँदैन । सरकारी अधिकारी र नेता बिरलै आउँछन् । आश्वासन दिन्छन्, फर्किन्छन् । बाटो न सडक । पुल छैन ।

सांसदसँग विकास माग

कृषि, पशुलगायत सेवामूलक कुनै कार्यालय छैन । सरकारको प्रतिनिधि वडा कार्यालय छ । गाउँपालिकाको कार्यालय १ दिनको बाटामा छ । कर्मचारी चामेमा बस्छन् । जाँदा २ दिन, आउँदा २ दिन । ‘हामी त बिरामी भए पनि औषधी खान पाउँदैन माननीयज्यू । एउटा स्वास्थ्य संस्था तुरन्तै चाहियो,’ मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङसँग फू गाउँका टसीखण्डो लामाले जिज्ञासा राखिन्, ‘धनी बिरामी भएपछि हेलिकप्टरमा भए पनि जान्छन् । हामी औषधी खान नपाएर मर्नुपरेको छ ।’

तिब्बती सीमा नजिकै पर्ने हिमाली जिल्ला मनाङको नार र फू गाउँमा चुनावताका बाहेक अन्य समय नेता बिरलै पुग्छन् । चुनावअघि, चुनावपछि र यसपटक गरी ३ पटक फू गाउँ पुगेका नेता पोल्देन छोपाङ गुरुङ उक्त क्षेत्रका स्थानीयले राख्नसम्मका माग राखे ।

स्थानीयको पीडा सुन्न र उनीहरूको चाहना बुझ्न आएको उनले बताए । उनलाई स्थानीयले विकटको विकास गरिदिन आग्रह गरे । स्थानीयका अनुसार गाउँलेको सेवाका लागि विगतमा सरकारी कार्यालय नभएका होइनन् । स्वास्थ्य, कृषि, पशु कार्यालय स्थापना भएको थियो । गाउँमा स्कुल स्थापना भएको थियो ।

‘यहाँ न सरकारी कार्यालय नै छ, न कर्मचारी नै’ फू गाउँका तेन्जिङ पासाङ लामाले भने, ‘अहिले जनप्रतिनिधि मात्रै छन् । सरकारी कर्मचारी छैनन् ।’ विकटका कारण विकास नभएको र नेताले जनताको माग पूरा गर्नुपर्ने उनले बताए । सडकबाट ओर्लिएपछि मुस्किलले २ दिनमा पुगिने गाउँमा पर्यटक भने फाट्टफुट्ट आइरहन्छन् ।

सरकारद्वारा प्रतिबन्धित उक्त ठाउँमा सरकारी अनुमति लिएर मात्रै विदेशी जान पाउँछन् । भारी बोक्ने भरिया, खच्चड धपाउने तथा काम गर्नेबाहेक उक्त ठाउँमा स्थानीय समेत ओहोरदोहोर कम गर्छन् । नार र फू गाउँ मिलाएर नार्पाभूमि गाउँपालिका भएको छ ।

गाउँपालिकामा १ सय २८ घरधुरी र ६ सय १५ जनसंख्या छ । गाउँवासीले चामे गाउँपालिकाको कोतोबाट नार र फूसम्म मोटरबाटो निर्माण, खानेपानी व्यवस्था, ढलको व्यवस्थापन, नारदेखि ङावलसम्म मोटरबाटो निर्माण, फू गाउँको विद्यालय भवन निर्माण, विद्युतीकरण, स्वास्थ्यचौकी व्यवस्था, गाउँपालिका कार्यालय च्याँखुमा स्थानान्तरण, तिब्बत सिमानासम्म गोरेटो र मोटरबाटो खुलाउनेलगायत माग गरे ।

सांसद गुरुङले यसअघि झोलुंगे पुल निर्माण, गाउँमा मोबाइलको टावर राख्न पहल गरिएकामा सफल भएको र स्थानीयको चाहनाअनुरूप विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक विकासमा मेरो अग्रसरता रहनेछ,’ उनले भने ।

उनले आफू सांसद छँदा नै गाउँपालिका केन्द्रसम्म सडकको ट्रयाक खोल्नका लागि पर्ने र घरैपिच्छे धाराका लागि प्रदेश सरकारसँग बजेट माग गरिने बताए । फू गाउँदेखि तिब्बतको सिमानासम्म गोरेटो र मोटरबाटो खुलाउन पहल गरिने उनले बताए ।

नार्पाभूमि गाउँपालिका–२ नारगाउँका वडाध्यक्ष मिङमर फुन्जो लामाले सांसद गाउँमा आएको देखेर खुसी लागेको बताए । गाउँको समस्या भनेरै साध्य नभएको भन्दै उनले लिखित रूपमै सांसदलाई माग राखेको बताए । ‘विकास निर्माणमा भइरहेको ढिलाइबारे उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । खबरदारी गर्दै सम्बन्धित ठाउँमा गएर बुझ्ने र विकासमा जनताको साथमा रहने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?