२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दृष्टिविहीन सगरमाथा अभियानमा

बागलुङ — सरकारले कानुन संशोधन गरेर लगाएको रोकविरुद्ध परेको रिटमा भएको फैसलापछि यहाँका दृष्टिविहीन युवक अमिट केसी सगरमाथा आरोहणको तयारीमा छन् ।

दुई वर्षअघि आरोहणमा जाँदा उनी ८ हजार मिटरको साउथ पोलमा पुग्दा अक्सिजन सकिएर शिखर नटेक्दै फर्किएका थिए ।


त्यसपछि सरकारले पर्वतारोहण नियमावलीको नियम ३ संशोधन गर्दै अपांगता भएकाहरूलाई आरोहणमा रोक लगाएको थियो । सर्वोच्चको संवैधानिक इजलासले अपांगले पनि सगरमाथा चढ्न पाउने फैसला गरेपछि जैमिनी नगरपालिका–४ का केसी पुनः तयारीमा जुटेका हुन् ।


समानताको हकविपरीत सरकारले नियम संशोधन गरेको भन्दै केसीले दिएको रिटमा संवैधानिक इजलासले गत असारमा फैसला गरेको थियो । ‘अघिल्लो साउथ पोलमा पुग्दा मौसमको खराबीले २४ घण्टा बस्नुपरेको थियो, अनि अक्सिजन सकियो,’ उनले भने, ‘फेरि आरोहण गर्न सरकारको नियम संशोधनले रोक लागेको थियो । अब म तयारी गरिरहेको छु ।’


आवश्यक प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि ८ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि पुनः आरोहणमा जाने उनले बताए । ‘अब पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ,’ केसीले भने, ‘६० हजार डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।’


त्यसका लागि उनी आर्थिक संकलन अभियानमा छन् । ‘अघिल्लो पटक मौसमले साथ दिएन, अब जसरी पनि पुग्छु,’ उनले भने । अमेरिकी दृष्टिविहीन एरिक एहिङमेयरले सन् २००१ मा सगरमाथा आरोहण गरेको रेकर्ड छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?