कार्यकक्षमै थुनिए डिभिजन प्रमुख

सडक मर्मत सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीय आक्रोसित
सम्झना रसाइली

तनहुँ — भत्किएको सडक मर्मत गर्ने यसअघिको सहमति कार्यान्वयन नगरेको भन्दै डिभिजन सडक कार्यालय प्रमुख विष्णुप्रसाद काफ्ले बुधबार उनको कार्यकक्षमै एक घन्टा थुनिएका छन ।

कार्यकक्षमै थुनिए डिभिजन प्रमुख

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौंडाको हलेदीदेखि कोत्रेसम्म भत्किएको सडक मर्मत गर्ने सहमति भएको थियो ।


गाछेपानी, हलेदी क्षेत्रका युवाले सडक कार्यालय पुगेर नाराबाजीसहित धर्ना दिंदै तत्काल सडकको मर्मत सुधार गर्न माग गरेका थिए । समयमै मर्मत नसकिदा दुलेगौडाको गाछेपानीे पुलदेखि कास्की सिमाना कोत्रेखोला पुलसम्मको सडक खण्ड अस्तव्यस्त र मृत्युमार्ग जस्तै बनेको उनीहरूको भनाइ थियो ।


कार्यालय प्रमुखले लापरवाही गरेका कारण समयमै सडकको मर्मत सुधार नभएको स्थानीय हरिलाल रिमालले आरोप लगाए । ‘सडकभर खाल्डा छन् । यात्रुले सास्ती खेप्नुपरेको छ । सवारी चालक खाल्डो छल्ने ध्याउन्नमा हुँदा दुर्घटना बढेका छन्’, रिमाल भन्छन्, ‘यति हुँदा पनि सरोकारवाला कानमा तेल हालेर बसेको छ, हामीलाई थाङ्नाको पुतली जस्तो बनाएर खेलाएका छन् ।’


गण्डकी प्रदेशलाई संघीय राजधानी काठमाडौँसंग जोड्ने एकमात्र राजमार्ग भएपनि सडकमा भएका खाल्डाखुल्डीले यो खण्डमा निकै जोखिम बढाएको छ । दुई वर्षअघि कालोपत्रे गरिएको सडकखण्ड अहिले भत्केर खाडलै खाडल बनेको छ । तीनै खाडलमा परेर दैनिकजसो दुर्घटना हुँदा धनजनको क्षति हुने गरेको छ ।


सडक भत्किएर बनेका सानाठुला खाल्डामा पानी जमेको बेला हिलाम्य र घामलाग्दा धुलोले स्थानीयले सास्ती झेल्दै आउनुपरेको स्थानीय शंकर पन्थ बताउँछन् । उनि भन्छिन्, ‘तीनवटै तहको सरकारलाई गिज्याईरहेको यो सडक मर्मत नहुँदा खाल्डाखुल्डीले यात्रु र स्थानीयलाई पासो थापे सरह भएको छ ।’


सडक खण्डमा दैनिक जसो दर्जनको हाराहारीमा साना–ठुला दुर्घटना हुने गरेका छन् । यही स्थानमा भएका दुर्घटनामा परी हालसम्म करिब सय जना बढिले ज्यान गुमाएको पन्थ बताउँछन । उनले भने, ‘यस खण्डमा हुने अधिकांश दुर्घटनाको कारण सडकमा भएको ज्यानमारा खाल्डो नै हुन् ।’


जीर्ण सडकले जोखिम निम्त्याएपछि आक्रोशित बनेका स्थानीयले गत चैत २४ गते एक घण्टासम्म सडक अवरुद्ध पारेका थिए । छियाछिया बनेको सडक तत्काल मर्मत गर्नुपर्ने र पैदलयात्रीको सहजताका लागि दायाँबायाँ फुटट्रयाक निर्माण गर्नुपर्ने माग गर्दै बिरोधमा उत्रिएका थिए ।


सोही दिन दिउँसो जिल्ला प्रशासनको आव्हानमा स्थानीय, सडक डिभिजन कार्यालय र सरोकारवालाको छलफलले बैशाख महिनाभित्र सडक मर्मत गर्ने सहमती भएको थियो । तर मर्मत गर्ने सहमती भएको ५ महिना हुँदा समेत काम पुरा नभएपछि स्थानीय पुन: विरोधमा उत्रिएका हुन् । सडकभर खाल्डा छन् । यात्रुले सास्ती खेप्नुपरेको छ । सवारी चालक खाल्डो छल्ने ध्याउन्नमा हुँदा दुर्घटना बढेको स्थानीय लक्ष्मण श्रेष्ठ बताउँछन् ।


स्थानीयले समन्वयको सट्टा अबरोध सिर्जना गरेकाले मर्मतको कामलाई तिब्रता दिन नसकिएको बताउँदै आएका सडक डिभिजन कार्यालय प्रमुख बिष्णुप्रसाद काफ्लेले भदौ १५ गतेबाट मर्मतको काम अगाडि बढ्ने आस्वाशन दिएका छन् । उनले भने, ‘सडकको पानी कटाउन नसकेसम्म जतिपटक मर्मत गरेपनि टिकाउ हुँदैन । ठेकेदार कम्पनीले यही भदौ १५ गतेबाट काम अगाडि बढाउँछु भनेको छ, यदि सो समयमा काम अगाडि नबढे ठेकेदारलाई कारवाही प्रक्रिया अगाडि बढाउँछाैं ।’ ठेकेदारको जिम्मामा भएको काम कार्यालयले गर्न नमिल्ने भन्दै उनले ठेकेदारले मर्मत गरे पनि टिकाउ नभएकाले भुक्तानी रोकिएको बताए ।


यो सडकखण्ड तीनवर्ष अघि स्तरोन्नती गरी कालोपात्रे गरिएको भएपनि स्तरोन्नती सकिएको महिना दिनबाटै उप्किएर सडकमा खाल्डो पर्न थालेको थियो । सडकमा देखिने खाडल बेलाबखतमा टाल्ने गरिएपनि लामो समयसम्म नटिक्दा झनै जोखिम बढेको छ । २०७३ साउनमा एकवर्षमा काम सक्ने गरेर रोशन सिद्धगढी जेबीसंग स्तरोन्नती गरी कालेपत्रेको ठेक्का लगाइएको थियो ।


म्याद थप गरेर २०७४ साउनसम्म सक्नुपर्नेमा दोस्रोपटक सोही बर्षको कात्तिकसम्मको म्याद थप गरिएको थियो । सो अबधिमा काम गरेकोमा टिकाउ नभएपछि ठेकेदार कम्पनीलाई ९५ लाख रुपैयाँ बाँकी रकम भुक्तानी नगरिएको सडक कार्यालयले बताएको छ । तीन करोड ७ लाख रुपैयाँको लागतमा ठेक्का लगाइएको मध्ये दुई करोड १२ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको छ ।


पर्यटकीय सहर पोखरा प्रवेश गर्ने राजमार्गको अवस्था दयनीय हुँदा पर्यटकमाझ नकरात्मक छाप पर्ने हुँदा तत्काल यो सडक निर्माण कार्य अगाडि बढाउन प्रतिनिधिसभा सदस्य केदार सिग्देलले डिभिजन सडक कार्यालयसंग आग्रह गरे । उनले भने, ‘निर्माणको जिम्मा लिएको कम्पनीले तत्काल निर्माणको काम अगाडि नबढाए कारवाहीको प्रक्रिया अगाडि बढाई अर्को विकल्प खोज्नु पर्छ । पर्यटन वर्ष २०२० नजिकै आइसकेको छ, यो सडकको अवस्थाले पर्यटन वर्षलाई नकरात्मक असर नपरोस भन्नेमा हामी सबै सचेत बन्नुपर्छ ।’


पृथ्वीराजमार्गको यो सडक खण्डको दुरावस्थाले गर्दा तनहुँको दुलेगौंडादेखि पोखरासम्मको यात्रा निकै नै सास्तिपूर्ण बन्ने गरेको छ । सडक भत्केर धुलोले अगाडि देख्न समेत मुस्किल हुँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् ।


१५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएर सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको गण्डकी प्रदेश सरकारले प्रदेशको प्रवेशद्वारको सडकको कन्तबिजोग अवस्थामा सुधार गर्न नसक्दा पर्यटकमा नकरात्मक सन्देश प्रवाह हुँदै गएको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?