गाउँ घुम्ने पर्यटक घटे

आश गुरुङ

लमजुङ — हिउँदमा भरिभराउ हुने जिल्लाका होमस्टे गाउँ यतिबेला सुनसान भएका छन । जेठ असारसम्म भीडभाड देखिने गाउँ साउन भदौसँगै सुनसान देखिएका हुन् । 

जिल्लाका दर्जन बढी पर्यटकीय गाउँ घुम्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । शिक्षक, विद्यार्थी, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्मचारी मात्रै नभएर साथीसँगै र परिवारसमेतका पर्यटक हुल बाँधेर आउँथे ।
स्मार्ट भिलेजउन्मुख पर्यटकीय घलेगाउँमा केही महिनाअघि दैनिक ३ सयसम्म पर्यटक आउँथे ।

जेठ असारमै पनि पर्यटकले भरिभराउ थियो । वर्खायामसँगै पर्यटक आगमन घटेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए । ‘असारदेखि पर्यटक घटेका हुन । साउनमा दैनिक १०/१२ जना आए । अहिले २/३ मा झरेको छ,’ उनले भने ।

वर्षायामको समय सडक अवरुद्व, बाढीपहिरोले यात्रामा कठिन, दृश्यावलोकन राम्रो नदेखिनु लगायत कारण पर्यटक आउँदैनन् । यसले होमस्टे व्यवसायी फुर्सदमा रहेको पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए । ‘अलिअलि आउने गरेका छन् । हिउँदको जस्तो छैन,’ उनले भने, ‘पर्यटक नआएपछि होमस्टे सञ्चालक फुर्सदमा छन् ।’ हालै मात्र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले उत्कृष्ट घोषणा गरेको राइनासकोट सामुदायिक होमस्टे पनि सुनसान छ ।

होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु गुरुङका अनुसार बर्खा नलाग्दासम्म पर्यटक अटिनअटी थियो । दैनिक डेढ सय पर्यटक थुप्रिने काउलेपानीमा पनि अहिले पर्यटक छैनन् । बेंसीसहरबाट नजिकै भएकाले धेरै पर्यटक काउलेपानी आउथे ।

बर्खा लागेपछि गाउँ प्राय: सुनसान बनेको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । ‘पहिले डेढसय पर्यटक आउने गाउँमा अहिले ३/४ जना देखिएका छन् । कहिलेकाहीं देखिँदैनन्,’ उनले भने । गाउँमा यतिबेला मकैबाली भित्र्याउने, कोदो र धान रोप्ने र गोडमेल गर्ने काम भइरहेको छ ।

सिउरुङ ग्रामीण पर्यटन व्यवस्थापन उपसमितिका सचिव उमरबहादुर गुरुङका अनुसार तरकारी र फलफूल लगाउने समय हो । अहिले लगाएका तरकारी र फलफूल पर्यटकलाई खुवाउन हुन्छ । यो समय जंगली च्याउ खोज्ने समय पनि हो । ‘हाम्रोमा पाइने जंगली च्याउ निकै प्रख्यात छ । अब दसैंतिहारदेखि हिउँदभरि आउने पर्यटकले च्याउन र सिस्नो लाने गर्छन्,’ उनले भने ।

लमजुङमा नरुवल मगरगाउँ, भुस्मे, पसगाउँ, घनपोखरा, मिप्रा, खासुर, हिलेटक्सार, पुमा, तुर्लुङकोट, डडुवा, ताँजेलगायत गाउँमा होमस्टे सञ्चालनमा छ । पछिल्ला समय होमस्टे प्रवद्र्धनकालागि गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको छ । तर आन्तरिक पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उनीहरूले बताएका छन् ।

क्व्होलासोथर गाउँपालिकाका अध्यक्षसमेत रहेका पर्यटन अभियान्ता प्रेम घलेले बर्खायाममा पनि गाउँगाउँमा पर्यटक भित्र्याइनुपर्ने बताए । ‘अब पर्यटकलाई कृषिसँग जोड्न आवश्यक छ,’ उनले भने, ‘बर्खायाममा आउने पर्यटकलाई खेतबारीमा लगेर कृषि कर्म हेर्न र यसमा रमाउन सिकाउनुपर्छ ।’

प्रकाशित : भाद्र ५, २०७६ १०:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साउनबाटै विकास सुरु

प्रकाश बराल

बागलुङ — सामान्यतया असार मसान्त सकिएपछि दसैंसम्म सरकारी कार्यालयमा कामै हुँदैन । कर्मचारी नआउने, आए पनि गफ गरेर बस्ने चलन छ । कार्यक्रम र बजेटको अख्तियारी नभएको बहाना बनाइन्छ ।

जिल्लाको बडिगाड गाउँपालिकामा भने भदौको पहिलो दिनदेखि नै फरक रौनक देखिन थालेको छ । गाउँपालिकाले चालु वर्षका लागि स्वीकृत योजना साउनकै पहिलो सातादेखि सम्झौताको बाटो खुलाएको छ ।

भदौ मसान्तसम्म अनिवार्य उपभोक्ता समिति गठन गरिसक्ने र असोज मसान्तसम्म सबै योजनाको लागत स्टिमेट तयार गरेर ठेक्का लगाउने वा काम थाल्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

वैशाखमै वडास्तरीय भेलाले योजना छनोट गरिसकेकाले चालु वर्षको थालनीमै सम्झौताका लागि माग गरिएको उनले बताए । ‘अब काम गरेर देखाउने हो, असार लाग्दा योजना ल्याउने, मसान्तमा पैसाको खोलो बगाउने काम अब हामी गर्दैनौं,’ सुवेदीले भने, ‘साउनदेखि नै सूचना जारी गरेर योजनाको काम थालिसकेका छौं ।’ आर्थिक वर्षको अन्तिममा योजना सम्झौता गर्दा काम नहुने, बजेट दुरुपयोग हुने र भ्रष्टाचारको अखडा बन्ने भएकाले योजना व्यवस्थित बनाउन कडाइका साथ लागिएको उनको दाबी छ ।

गाउँपालिकाले २५ वर्षे दीर्घकालीन योजना निर्माणको कामसमेत थालेको छ । हरेक पाँच–पाँच वर्षमा मूल्यांकन गर्ने गरी आवधिक योजनाको खाकासमेत कोरिएको सुवेदीले बताए । दीर्घकालीन योजनाका लागि तत्कालीन आवश्यकता पूरा गर्ने, लगानी पनि निरन्तर गर्ने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाभित्रका योजनामा उपभोक्ता समितिमा बस्नसमेत विकृतिमा नलाग्ने शपथ खानुपर्छ । ‘जाँडरक्सी मात्र नभई हरेक प्रकारका विकृतिले समाज थलिएको थियो, त्यसबाट अगाडि बढाउन यो अभियान ल्याएका हौं,’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘विद्यालय तहका बालबालिका जोगाउन पनि अभिभावकलाई समेत कडाइ गरियो ।’ २५ वर्षे गुरुयोजना पूरा गर्न यातायात गुरुयोजना, पञ्चवर्षीय आवधिक योजना र मध्यकालीन खर्च संरचना निर्माणमा बजेट विनियोजन गरिएको छ ।

सडक मापदण्ड
गाउँपालिकाले निर्माण गर्ने हरेक सडक १२ देखि १६ प्रतिशत ग्रेड भएको मात्र बनाउने योजना छ । यसअघि ठाडो बाटोमा डोजर हिँडाएर सडकको नाम दिने चलन थियो । उक्त प्रवृत्ति अन्त्य गरेर कम्तीमा ४० प्रतिशत संरचनासहितको सडक बनाउने नीति लिएको हो ।

कुल लगानीको मापन गर्न पहिलो पटक गाउँपालिकास्तरीय योजना आयोगको गठन भएको छ । समयमा काम सम्पन्न भएका योजनालाई प्रमाणपत्र दिने, नभएकालाई तत्काल कारबाही गर्ने उनले बताए ।

डीपीआर बनाएर काम गर्ने
गाउँपालिकाले ५० लाख बढीका योजनामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर मात्र काम गर्ने नीति लिएको छ । भवन र सडक निर्माण मापदण्ड लागू गरिएको अध्यक्ष मेहरसिंह पाइजाले बताए । दैवी प्रकोपमा उद्धार र नियमित सडक गस्तीका लागि १५ नगर प्रहरीको व्यवस्थापन गरेको छ ।

घरजग्गाको मापदण्ड
गाउँपालिका भए पनि सडक र घरको मापदण्ड तोकेर नक्सापासको योजना पनि ल्याएको हो । मध्यपहाडी लोकमार्ग आसपासमा बन्ने घरको नियमित अनुगमन गरेर तोकिएको मापदण्डमा मात्र घर बनाउन दिने सुवेदीले बताए ।

‘सुन्दर बडिगाडका लागि व्यवस्थित बसोबास भन्ने नारा तय गरेर अभियानकै रूपमा ल्याएका छौं,’ उनले भने, ‘बजार र राजमार्ग क्षेत्रमा बन्ने सडक र गाउँका सडकको मापदण्डसमेत बनाएर लागू भइसक्यो ।’ विद्यालयमा प्लास्टिकमुक्त बनाउन टपरी बुन्ने तालिम चलाउने योजनामा बजेट लगाइएको छ । विवाह, व्रतबन्ध र गाउँपालिकाका अधिकांश कार्यक्रममा दुना टपरीको प्रयोग अनिवार्य गरिएको हो ।

प्रकाशित : भाद्र ५, २०७६ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT