१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गण्डकी विश्वविद्यालयबारे बहस

गण्डकी — गण्डकी प्रदेश सरकारले आफ्नै विश्वविद्यालय सञ्चालन गर्दै छ । यससम्बन्धी विधेयक प्रदेशसभामा विचाराधीन छ । तर क्षमताभन्दा माथि उठेर विश्वविद्यालय खोल्न लागेको भन्दै कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले दौराबिनाको खल्तीको संज्ञा दिएका छन् ।

प्रदेशसभाअन्तर्गत विधायन समितिको मंगलबारको बैठकमा उनले ठूलो खर्च हुने भएकाले विश्वविद्यालय आवश्यक नरहेको बताएका हुन् । शर्मा भन्छन्, ‘उहिल्यै नयाँ कपडा सिलाउने क्षमता नहुने भएकाले छोटो गरी सिलाउनुपर्थ्यो । तर, खल्ती भने ठूलो राख्ने चलन थियो । यसैले दौराबिनाको खल्ती भनिएको हो ।’ संघीयता कार्यान्वयन चरणमा सरकारले ठूलो भार बोक्न लागेको उनले बताए । कुनै पनि अभ्यास नगरी एकैपटक विधेयक ल्याइनुमा असन्तुष्टि जनाए । ‘हाम्रै प्रदेशमा धेरै विज्ञ छन् फेरि विदेशी नागरिक आवश्यक किन पर्‍यो ?’ उनले भने, ‘विश्वविद्यालयको अहिल्यै आवश्यक छैन । त्यसैले विधेयक अगाडि नबढाऔं ।’ भइरहेका विश्वविद्यालयको स्तरोन्नतिमा लाग्नुपर्ने उनको भनाइ थियो । समितिका सदस्य आशा कोइरालाले भने बोझ हुन्छ भनेर पछि हट्न नहुने बताइन् । ‘महत्त्वाकांक्षी हुनुपर्छ,’ उनले भनिन्, ‘तब पो उत्कृष्ट भइन्छ । अपुग भएको कुरालाई पूरा गर्दै आवश्यकताअनुसार थप गर्दै अघि बढ्ने हो । आवश्यक छैन भन्न मिल्दैन ।’


अर्का सदस्य पुष्पा केसी भण्डारीले मुलुकमा संघीयता कार्यान्वयन भइसक्दा संघीयता चाहिँदैन भन्न नमिल्ने भन्दै संघीयता कार्यान्वयनमा आएका चुनौती जस्तै विश्वविद्यालयका समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताइन् । ‘संघीयता कार्यान्वयनमा पनि ठूलो बोझ छ नि,’ उनले भनिन्, ‘के अब चाहिँदैन भनेर हटाउने ? विश्वविद्यालयको पनि कुरा एउटै हो । खर्च, बोझ भए पनि अघि बढ्नुपर्छ ।’ अर्का सदस्य धनञ्जय दवाडीले विधेयकको विषयमा उठान भएका कुरा विधायन समितिले रेकर्ड गर्नुपर्ने सुझाव दिए ।


प्रकाशित : भाद्र ४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?