तीन दशकसम्म बनेन बसपार्क

स्थानीयले व्यवस्थापन गरी छुट्याएको जमिनको समेत व्यवस्थापन हुन नसक्दा बसपार्क सपना पूरा हुन नसकेको हो
अगन्धर तिवारी

(पर्वत) — तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए ।

तर, ३ दशकसम्म सदरमुकाम कुश्मामा व्यवस्थित बसपार्क धेरै परको कुरा भइसकेको छ । स्थानीयले व्यवस्थापन गरी छुट्याएको जमिनको समेत व्यवस्थापन हुन नसक्दा बसपार्क सपना पूरा हुन नसकेको हो ।

पछिल्लो समय जिल्ला हुँदै गुड्ने सवारीको चाप दिन प्रतिदिन बढदो क्रममा छ । पर्वत हुँदै बागलुङ, म्याग्दी र मुस्ताङसम्म दैनिक दुई हजार बढी सानाठूला सवारी चल्ने ट्राफिक कार्यालयले जनाएको छ । कुश्माकै व्यवसायीका २ सय बढी सवारी छन् । बसपार्क अभावमा सवारीधनीले घर र राजमार्ग छेउमा पार्किङ गरिरहेका छन् । सवारीको अधिक चाप हुने राजमार्गका आसपासमा लहरै लगाएर सवारी पार्किङ गर्दा दुर्घटनाको खतरा बढिरहेको छ । व्यवस्थित बसपार्क नहुँदा कुश्मावासीले वर्षौंदेखि सवारी जामको सामना गर्नुपरेको छ ।

व्यवस्थित बसपार्कको परिकल्पना बमोजिम सर्वदलीय सहमति जुटाएर १६ वर्षअघि शिवालय गुठीको जग्गा छुट्याएको थियो । शिवालय धार्मिक विकास समितिकी तत्कालीन अध्यक्ष मानकुमारी गिरीका अनुसार गुठीको १७ रोपनीमध्ये १२ रोपनी जग्गा बसपार्कका लागि छुट्याइएको थियो । ‘व्यवस्थित बसपार्कको खाँचो भएपछि सर्वपक्षीय छलफलले जग्गा जिविसलाई उपलब्ध गराएका थियौं,’ गिरीले भनिन्, ‘उतिबेला जिविसले बनाइहाल्ने कुरा गर्‍यो । पछि त्यत्तिकै भयो ।’

जिविसले २०६६ सालतिर जग्गा व्यवस्थित गरी बसपार्क बनाउन एक करोड ५९ लाखको लागत स्टमेट तयार गरेको थियो । ‘हामीले ०६५ सालमै डेढ करोडको अनुमान गरेर जिविसलाई बजेट मागेका थियौं,’ तत्कालीन बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भने, ‘प्रविधिले एक करोड ५९ लाखको स्टमेट बनाए । जिविसले दुई–चार लाख मात्रै दिएर टार्‍यो ।’ उतिबेला चार वर्षसम्म जिविसले दिएको १३ लाखबाट बसपार्कसम्म जाने कच्ची सडक, भलबाढी रोकथामका लागि ग्याबिन लगाउने र जग्गा सम्याउने काममा सकिएको गिरीले बताए ।

संघीयताले जिविस खारेज भयो । बसपार्कको जिम्मा नगरपालिकामा आयो । नगरपालिका स्थापनापछि तीन तहका निर्वाचन भए । तीनै तहको निर्वाचनमा उम्मेदवारका लागि कुश्माको बसपार्क कुश्मावासीहरूसँग मत माग्ने आधार पनि बन्यो । तर, बन्न सकेन । ‘चुनावको बेला धेरैले बसपार्कलाई नारा बनाएकै हुन्,’ कुश्माका राजेश शर्माले भने, ‘चुनाव सकियो । आश्वासन पनि सेलायो । अब अर्को चुनाव आउने बेलासम्म यसको चर्चा कतै हुँदैन ।’ बसपार्कका लागि सम्याएको जमिन हिलाम्य छ । सडकसमेत पानी परेको बेला सवारी लैजान समस्या छ । यही समस्याले वर्षातमा बसपार्कका लागि छुट्याइएको जमिनमा गाडी पार्किङ हुन नसकेको व्यवसायीको गुनासो छ । ‘हिलोमा गाडी फसेपछि बसपार्कबाट निकाल्नै सकिँदैन,’ व्यवसायी दुर्गा खाँणले भने, ‘जग्गा भएर मात्रै भएन । पार्किङमा सहज पनि हुनुपर्‍यो ।’ बसपार्कको अस्तव्यस्तताले राजमार्गमा अव्यवस्थित पार्किङ गरिएका सवारीले दुर्घटनाको खतरा बढाएको र सवारी व्यवस्थापनमा समस्या रहेको ट्राफिक प्रहरीले जनाएको छ । ‘बसपार्क भएको ठाउँमै सवारी हिलोमा फसिन्छन् । त्यहाँसम्म जाने बाटो उस्तै छ,’ ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रामबहादुर भट्टले भने, ‘निर्माणाधीन मध्यपहाडी सडकमा सवारी व्यवस्थित गर्न सकिएको छैन । गाडी पार्किङ अव्यवस्थित हुँदा व्यवस्थापनमा समस्या छ ।’

कुश्मा नगरपालिकाले बसपार्कको लागि व्यवस्थित परियोजना बनाउन लागेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीका अनुसार लामो समय रोकिएको बसपार्क व्यवस्थित गर्न यो वर्ष करिब दुई करोडको डीपीआर तयार भएको छ । ‘आन्तरिक स्रोत र नगरविकास समितिबाट ऋण लिएर व्यवस्थित बसपार्क बनाउने तयारी छ,’ पंगेनीले भने, ‘बसपार्क मुख्य प्राथमिकतामा राखेका छौं ।’ बसपार्क बहुतले हुने र केन्द्र सरकारसँग बजेट मागिएको नगरपालिकाले जनाएको छ । त्यसका लागि जमिनको माटो परीक्षणसमेत गरेर काम अघि बढाइएको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

प्रकाशित : भाद्र ४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

अपांगता परिचयपत्र वितरण

कान्तिपुर संवाददाता

तनहुँ — शुक्लागण्डकी नगरपालिकामा वडास्तरबाटै अपांगता परिचयपत्र वितरण गरिएको छ । साउन १२ देखि भदौ पहिलो दिनसम्म ५३१ अपांगता भएका व्यक्तिलाई परिचयपत्र प्रदान गरिएको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले बताइन् ।

सरकारको घोषणाअनुसार उनीहरूको अवस्था हेरी नगर क्षेत्रभित्रका अपांगता भएका व्यक्तिलाई क, ख, ग र घ समूहमा विभाजन गरी परिचयपत्र वितरण गरिएको हो । पूर्ण अशक्त अपांगता भएका व्यक्तिले ‘क’ वर्गको रातो, अति अशक्तलाई ‘ख’ वर्गको नीलो, मध्यमलाई ‘ग’ वर्गको पहेंलो र सामान्य अपांगता भएका व्यक्तिलाई ‘घ’ वर्गको सेतो रंगको परिचयपत्र प्रदान गरिएको हो । पोख्रेलले भनिन्, ‘नगरका सबै १२ वटै वडाबाट अपांगता परिचयपत्र वितरण गर्दा उनीहरूलाई नगरपालिकासम्म आउनुपर्ने झन्झट उठाउनु परेन ।’

१३० जनालाई रातो, २०५ जनालाई नीलो, १२४ जनालाई पहेंलो र ७२ जनालाई सेतो परिचयपत्र वितरण गरिएको छ । सबैभन्दा धेरै वडा १० मा ६३ जना र सबैभन्दा कम वडा ४ मा २४ जनालाई परिचयपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । ‘परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते निवेदन संकलन गर्नुका साथै शारीरिक अवस्था जाँच गरिएको थियो’, उनले भनिन्, ‘उक्त मितिमा छुटेकाको वडामै डाक्टरसहितको टोली पुगेर शारीरक जाँच गरी
परिचयपत्र प्रदान गरिएको छ ।’

प्रकाशित : भाद्र ४, २०७६ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्