कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘गाउँ–गाउँमा सिंहदरबार खोइ ?’

लमजुङ — चुनावताका ‘गाउँमा सिंहदरबार’ को अधिकार ल्याइदिने भनी आश्वासन दिए पनि नागरिकले गाउँमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । 

वडामा विनियोजित बजेटको कार्यक्रम सम्झौता, प्राविधिक मूल्यांकन, फर्स्योट सबै काम गाउँपालिकाबाटै हुँदा समय, खर्च र अन्य व्यवस्थापनमा असहज भएको उनीहरूको भनाइ छ । मर्स्याङ्दी गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा सिम्पानीका रामबहादुर थापाले भने, ‘योजनाका सबै काम वडामा भएमात्र सिंहदरबारको अधिकार गाउँमा आएको महसुस हुन्छ ।’


गाउँपालिकासम्म आउँदाजाँदा कतिपय उपभोक्तालाई टाढा हुने र खर्च व्यवस्थापनमा असहज हुने उनले बताए ।महेन्द्रदेव माविका प्रधानाध्यापक सोमबहादुर भण्डारीले गाउँपालिकाले गर्ने क्रियाकलाप पारदर्शी र प्रभावकारी हुनुपर्ने बताए । उनले भने, ‘हिजो चुनावमा गरिएका वाचा पूरा भएका छैनन्, यसमा जनप्रतिनिधि लाग्नुपर्छ ।’


उनले सामाजिक सुरक्षा भत्ता बैंकमा वितरण गरिँदा वृद्धवृद्धाले दुःख पाएको बताए । मर्स्याङ्दी ३ का देवेन्द्र भण्डारीले गाउँपालिकाभित्र जलविद्युत् आयोजना निर्माण र उत्पादन भए पनि पटकपटक विद्युतको अनियमित समस्या झेल्नुपरेको बताए । सार्वजनिक सुनुवाइमा स्थानीयले गाउँपालिकाले सञ्चालन गरेको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, युवा, महिला, दलितलक्षित कार्यक्रमबारे जिज्ञासा राखेका थिए ।


गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकामा कर्मचारी अभावका कारण कतिपय कार्य सम्पादनमा समस्या भएको बताए । ‘हामीले नागरिकलाई सेवा दिन हरदम प्रयास गरिरहेका छौं’ उनले भने । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले नागरिकका माग र गुनासाअनुसार काम गर्दै जाने बताए । प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकाले गर्दै आएको काम, प्रगति, उपलब्धि, खर्चलगायतबारे जानकारी गराए ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?