२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अप्रेसन र डायलासिस जिल्लामै

पर्वत अस्पतालमा सेवा थपिँदै तर जनशक्ति अभावले भइरहेका सेवा भने प्रभावित
दिप्ती सिलवाल

पर्वत — सामान्य रुघाखोकीको समस्या लिएर जिल्ला अस्पताल आउनेलाई पोखरा जानुस् भनेर रिफर गर्नु पहिल्यैदेखिको चलन हो । बिरामी पुर्जामा रिफर लेखिने ५० प्रतिशत भन्दा धेरै हुन्छन् ।

सरकारी अस्पतालको विश्वास नलागेरै धेरैजसो बिरामी सामान्य औषधि पसलले स्थानीय एफएम र पत्रपत्रिकामा गरेका विज्ञापनको भरमा हरेक शनिबार मेडिकल हलमा लामो लाइन लाग्छन् ।


अब भने बिरामी पुर्जामा ‘रिफर’ लेख्ने र अनधिकृत विज्ञापनको पछि लागेर मेडिकल सञ्चालककोमा लामो लाइन लाग्नुपर्ने धेरै समय नरहेको जिल्ला अस्पतालले जनाएको छ । पछिल्लो समय पर्वत अस्पतालमा सामान्य अपरेसन सेवादेखि मृगौलाको डायलासिस समेत गर्ने गरी अस्पताल प्रशासन र विकास समिति लागिपरेको छ ।


गत वर्षदेखि निर्माणाधीन अस्पतालको आधुनिक भवन ५० शैयाको बन्दैछ । अस्पताल विकास समितिका अनुसार एक महिनाभित्रै डिजिटल एक्सरे सेवा सञ्चालन हुँदैछ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र मुटुको इको सेवा सञ्चालन पनि हुनेछ । मृगौलाको डायलासिस थपिंदैछ । एनआईसीयू (बच्चाहरूको सघन उपचार) सेवाको पनि तयारी हुँदैछ । ल्याबमा सोडियम पोटासियमको परीक्षण गर्ने सेवा थपिन्छ । ‘हामीले यो वर्ष सेवामा फडको मार्दैछौं,’ समितिका अध्यक्ष गोविन्द पहाडीले भने, ‘यी सेवा थप्न सबैतिरको सकारात्मक सहयोग छ ।’


अस्पतालमा सञ्चालित ल्याबमा रगतसँग सम्बन्धित ८० वटासम्म परीक्षण गर्न मिल्ने मेसिन खरिदको तयारी भइरहेको उनले बताए । त्यस्तै विद्युत् नहुँदा एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गर्न ‘ब्याकअप सिस्टम’ को पनि व्यवस्था चालु वर्षभित्रै गरिने उनले बताए ।


हाल १५ शैयाको अस्पतालको क्षमता बढाएर ५० पुर्‍याउने प्रक्रिया सुरु भई भवन निर्माणको काम भइरहेको छ । आवश्यक जनशक्ति व्यवस्थापनबारे सरकारले चासो नदिएको अस्पताल व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका पदाधिकारीहरूले धेरैपटक प्रदेश र केन्द्रका निकायमा गरेको आग्रहबारे सुनुवाइ भएको छैन ।


५० बेडको अस्पताल अनुसार दरबन्दी स्वीकृति हुँदा स्त्री, नाक, कान, घाँटी, बालरोग लगायत आवश्यकताअनुसार विशेषज्ञ डाक्टरको दरबन्दी हुने अस्पताल प्रमुख सन्तोषी थपलियाले बताइन् । उनका अनुसार अहिले अस्पतालमा स्थायी दरबन्दीका २ मात्रै डाक्टर छन् । ‘सेवा भएर पनि सबै निरन्तर सञ्चालन गर्न समस्या छ,’ थपलियाले भनिन्, ‘दरबन्दीअनुसारको जनशक्ति हुँदा भइरहेका सेवा रोक्नुपर्दैन । जनशक्तिकै समस्या हो ।’


त्यसबाहेक ल्याब, फार्मेसी लगायतमा २–२ जनाको दरबन्दीको व्यवस्था छ । हाल अस्पतालमा सबै गरी २२ जनाको दरबन्दी छ । ५० बेडको क्षमताअनुसारका जनशक्ति हुँदा डाक्टर सहित ५९ स्वास्थ्यकर्मी हुने अस्पतालले जनाएको छ ।


अस्पतालमा जटिल सुत्केरी, एपेन्डिक्स, हाइड्रोशील लगायतका सामान्य अप्रेसन सेवा सुरु भएको ३ वर्ष पुग्यो । त्यसबाहेक उच्च प्रविधिको डिजिटल एक्सरे सेवा, थाइराइड परीक्षण, रगतको जाँच चौबिसै घण्टा सेवा बिस्तार गरेको छ । तर, दरबन्दीअनुसारको जनशक्ति नभएकै कारण प्रभावकारी हुन सकेका छैनन् ।


२०४६ सालमा १५ बेड क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ बेडसम्मको सुविधा छ । थप सेवा बिस्तारपछि भने माथिल्लो निकायबाट केही सहयोगको अपेक्षा गरिएको उनले बताए । मृगौलाको डायलासिस थप्न गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमा केही थप गरेर ५ वटा डायलासिस मेसिन ल्याउने तयारी अस्पतालले गरेको छ ।


चौबिसै घण्टा इमर्जेन्सी सेवा दिनुपर्ने अस्पतालले दरबन्दी अभावकै कारण सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा सेवा चलाएको छ । ‘रगत निकाल्न नजान्ने सिकारुलाई बिरामीको जिम्मा छोडिन्छ,’ फलेवास–५ का निर्मल शर्माले भने, ‘सुई लगाउन नजान्नेबाट कसरी रोग निको हुने आस गर्नु ?’

प्रकाशित : भाद्र २, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?