सफ्वेयर नचल्दा सेवाग्राही मर्कामा

बिना थापा

कास्की — कोही निदाएका छन् । कोही मोबाइल चलाउँदै त कोही एकआपसमा कुरा गरिरहेका छन् । झट्ट हेर्दा उखरमाउलो गर्मीका कारण शीतल बसेजस्तो देखिन्थ्यो ।

सफ्वेयर नचल्दा सेवाग्राही मर्कामा

तर त्यस्तो भने होइन, पोखरा महानगरपालिका कार्यालयको राजस्व कर महाशाखामा कामका लागि आएका सेवाग्राही कार्यालयमा काम नभएर हैरानी खेप्दाको दृश्य थियो त्यो ।


महानगरले तयार पारेको सफ्टवेयरले बेलाबेलामा ‘धोका’ दिंदा केही दिनयता सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर तिर्न पनि नगरवासीले चार दिनसम्म लगाउनुपर्ने अवस्था छ । ‘बुधबारदेखि शुक्रबारसम्म दिनभर बस्दा पनि काम भएन,’ घर कर तिर्न आएकी पोखरा १४ चाउथेकी कमला खत्रीले आइतबार भनिन्, ‘आइतबार पनि काम नभएर फर्किनुपर्‍यो । यस्तो अवस्था कहिलेसम्म होला ।’ कर तिर्न पनि यस्तो अवस्थाको अन्त्य कहिले हुन्छ भन्दै उनले प्रश्न गरिन् । कर्मचारीले ‘सिस्टम’ चलेको छैन भन्दै

फर्काउने गरेको सेवाग्राहीको भनाइ छ ।


पोखराको रामबजारदेखि आएका इन्द्र रानामगरले पनि खत्रीलेजस्तै सास्ती व्यहोर्नु पर्‍यो । उनी पनि घर सम्पन्नको प्रमाणपत्र लिनका लागि ३ दिनदेखि धाइरहेका छन् । ‘साह्रै लापारबाही भयो यो त’ उनले भने, ‘सेवाग्राहीको समयको वास्ता गरिएन ।

हेलचेक्र्याइँ गरियो ।’ सफ्टवेयर नचल्ने समस्या महानगर कार्यालयमा मात्र होइन ।


विभिन्न वडामा पनि नचल्दा सेवाग्राहीलाई ठूलो आहात भएको छ । ‘वडामा काम नभएपछि महानगर कार्यालयमा आएर कर तिरौं भनेको,’ पोखरा–८ जनप्रिय टोलदेखि आएका कुमार क्षेत्रीले भने, ‘स्मार्ट सिटी र सूचना प्रविधिमैत्री बनाउने भन्छन् । तर केही व्यवस्थापन नगर्दा हामीलाई सास्ती भयो ।’


उनले जनप्रतिनिधि र महानगरको सम्बन्धित शाखाले व्यवस्थापन गर्नुपर्ने बताए । पटकपटक यस्तो समस्या दोहोरिइरहेको छ । तर महानगरले भने देखेको नदेख्यै र सुनेको नसुन्यै गरेर यस विषयमा बेवास्ता गरेको अर्की सेवाग्राही गौमाया गुरुङले बताइन् । उनी चाउथेबाट पसल बन्द गरेर आएकी थिइन् । सिस्टम चलेन भनेर कर्मचारी ढुक्कसँग बसेपछि कसरी समाधान हुन्छ ? भन्दै उनले यस्तो समस्यालाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिइन् ।


कर राजस्व महाशाखाका प्रमुख शिवहरि शर्माले पहिले अघिल्लो सातामा ३ दिन सिस्टम बन्द भएको र आइतबार पनि २ घण्टाजति नचलेको बताए । ‘सिस्टममा बेलाबेलामा समस्या आइराख्छ, त्यसमा कुनै भर हुँदैन,’ उनले भने, ‘यसको विकल्प केही छैन ।’ यस विषयमा महानगर प्रमुख मानबहादुर जीसीसँग सम्पर्क गर्दा उनले यसबारे बुझ्ने भनेर मोबाइल राखिदिए ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?