हिलाम्मे सडक, जोखिमको यात्रा

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडको बेनी–घाँसा ४० किमि खण्डमा जोखिम मोलेर सवारी सञ्चालन हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ । सडकको दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधन घन्टौं फस्छन् ।

सवारी यात्राभन्दा पैदल यात्रा छिटो र सहज हुन्छ । मनसुनले गर्दा सडक झन् जोखिमपूर्ण भएको छ । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ ।

हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ । ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी परेको ७६ किमि सडक छिचोल्न ठूला बसलाई ७ घण्टासम्म लाग्छ । फोर ह्वील साना गाडीलाई पनि ४ घण्टासम्म लाग्छ ।

सडक खण्डको बेगखोलामा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ । बेगखोलामाथि भएको बेलीब्रिज तीन वर्षअघि बाढीले बगाएपछि जोखिम मोलेर सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । बलपूर्वक खोलामा हाल्दा मोटरसाइकल र ट्याक्सी बग्ने गरेका छन् ।

बेनी–जोमसोम सडक स्तरोन्नति गर्ने काम भइरहे पनि सडक विभागले बेगखोलामा कस्तो प्रकारको पुल बनाउने भन्ने डिजाइनै बनाउन सकेको छैन । ‘सडक निर्माणक्रममै भएकोले केही समस्या आएको हो । नाली खन्ने र भित्तामा सपोटिङ वाल उठाउन बाँकी भएकाले सडक हिलाम्मे हुनु स्वाभाविक हो,’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले भने, ‘पहिरोग्रस्त क्षेत्रमा छुट्टै डोजर परिचालन गरेका छौं । यो वर्ष पानी कम परेकाले पूरै बर्खा यातायात अवरुद्ध भएन, हिलाम्मे भए पनि सडकमा सवारी चलेका छन् ।’

बेनी–घाँसा खण्डको चमेरे, बैंसरी, तिप्ल्याङ, महभीर, गुईठे, काप्रे र बाँदरजुँगभीरमा सडक बढी हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्तो डोजरले खनेर छोडेकोले माथिबाट जंगलसहित खसेको सडक हिलाम्मे भएको हो । केही स्थानमा भित्ता काटेर निक्लेको माटो अव्यवस्थित तरिकाले डिलमुनि फालेकोले पहिरो बनेर बग्दा समस्या बनेको हो ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

तानसेनमा चुइँकी फिराइ

माधव अर्याल

पाल्पा — शुक्रबार मनाइने गाईजात्राको निम्तो बिहीबार ‘चुइँकी फिराइ’ निकालेर दिइएको छ । गाईजात्राका लागि मात्रै होइन, सांस्कृतिक सहर तानसेनमा मनाइने नौदिने जात्राको सुरुआत भएको संकेत चुइँकीले दिन्छ ।

पाल्पाको तानसेन बजारमा बिहीबार सुरु चुइँकी फिराइ प्रदर्शन गरिँदै । तस्बिर : माधव/कान्तिपुर 

बिहीबारबाट सुरु जात्रा सदरमुकामका चोकचोकमा नौ दिनसम्म मनाउने गरिएको छ । सहरमा ढ्याङढुङ र झ्याली पिट्न सुरु भइसकेको छ । रोपाइँ सकिएपछि फुर्सदिला बनेका किसान जात्रा हेर्न आउँछन् ।

जसका घरमा परिवारका सदस्य दिवंगत भएका छन्, ती घरबाट गाईजात्राको अवसरमा बास्सा, ताहामचा, गाई निकाल्ने चलन छ । जानकारका अनुसार चुइँकी भनेको मगर भाषामा उर्दी वा सूचना भन्ने बुझिन्छ । अगुवा कलाकार किरण चित्रकार, नारायण कुँवर, खुमबहादुर रञ्जन, राजकुमार रञ्जनलगायतको संयोजनमा तानसेनमा चुइँकी फिराइ निकालिएको हो ।

यसको प्रयोगले मगर भाषा कसरी हाम्रो संस्कृतिको अन्तरकुन्तरमा समेटिएको छ भनेर बुझ्न गाह्रो पर्दैन । चुइँकीमा ह्वा हो ह्वा, ढ्याङ गर्दै टिन ठटाउँदै रमाइलो गर्दै नाच्दा मानिसको ठूलो घुइँचो लाग्छ । तानसेन बजारका बसपार्क, नारायणथान, शीतलपाटी, दरबार क्षेत्रमा चुइँकी देखाइयो ।

तानसेनवासीलाई पुरानो याद दिलाउँदै फरक शैलीमा प्रस्तुत भए । लोप हुन लागेको संस्कृतिलाई जोगाउनुपर्छ भनेर चुइँकी निकालेको अगुवा कलाकार चित्रकारले बताए । जात्रा सुरु भएसँगै तानसेनको व्यापार, व्यवसाय पनि अब फस्टाउँछ । तानसेनका चोकचोकमा मानिसको भीड सुरु हुन्छ ।

संस्कृतिका जानकार मदन देउराली (श्रेष्ठ) का अनुसार वर्षा सकिएपछि फुर्सदमा जात्रा निकाल्ने गरिन्थ्यो । उहिले मल्ल, सेन र राणाका पालामा काठमाडौंबाट यहाँ जात्रा भित्रिएको हो । ‘उहिले काठमाडौं, भक्तपुर र ललितपुरबाट संस्कृति भित्रिएको हो भन्ने इतिहास पढ्न पाइन्छ,’ उनले भने, ‘त्यसैले हरेकजसो चाडपर्व उतैको जस्तो छ ।’ भक्तपुरमा देखाइने अधिकांश जात्रा तानसेनमा पनि निकालिन्छ ।

तर बिस्तारै संस्कृति लोप हुने क्रममा रहेको श्रेष्ठले बताए । ‘स्थानीय तह र उद्योगी, व्यापारीले यसमा ध्यान दिनुपर्नेछ,’ उनले भने, ‘सांस्कृतिक सहरका रूपमा चिनिएको तानसेनमा बिस्तारै जात्रा लोप हुने हो कि भन्ने चिन्ता छ ।’ देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले यसलाई जोगाउनुपर्छ भनेर स्थानीय तह, उद्योग वाणिज्य संघलगायतमा लबिइङ गर्दै आएको उनले बताए । नेवार समुदायमा प्रचलित गठेमंगलसँगै तानसेनमा पर्व सुरु भएको संकेत हुन्छ ।

जनैपूर्णिमाका दिनमा निकालिने चुइँकीसँगै नौ दिन लगातार जात्रा देख्न पाइन्छ । ‘खासमा गठेमंगलबाट नै जात्रा सुरु भएको हो,’ स्थानीय कलाकार किरण चित्रकारले भने, ‘तर चुइँकीबाट अलि रमाइलोपन सुरु हुन्छ । बजारमा पनि चहलपहल बढ्छ ।’

दिनहुँ पारम्परिक बाजाको गुन्जन बजारमा सुनिन्छ । तानसेनमा ग्रामीण भेगबाट महिला, बालबालिका, अधबैंसे जात्रा हेर्न आउँछन् । ‘पहिले जेरी खान आउने गर्थे,’ उनले भने, ‘जात्रामा सबैभन्दा ठूलो व्यापार जेरीको हुन्थ्यो । अहिले यो प्रचलन बिस्तारै हराउन थालेको छ ।’

प्रकाशित : श्रावण ३१, २०७६ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्