कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आलु प्रवर्द्धन कार्यक्रम

सम्झना रसाइली

तनहुँ — निर्वाहमुखीबाट व्यावसायिक खेती गरी गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसाथ म्याग्दे गाउँपालिकाले आलुखेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ ।

किसानलाई व्यावसायिक आलुखेतीतर्फ आकर्षित गराउन आलुको बीउमा ५० प्रतिशतसम्म अनुदान, बजारीकरण, भण्डारण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।


गाउँपालिकाले सामूहिक रूपमा आलुखेती गर्नेलाई अनुदान दिन थालेपछि आकर्षण बढदो छ । कृषकको समूह बनाई अनुदानमा बीउबिजन, प्रविधि, औषधि उपचार तथा उत्पादित कृषि उपजको बजारीकरणमा गाउँपालिकाले ध्यान दिएकाले उत्साहित भएको म्याग्दे–७ पयँरका कृषक गोवर्द्धन काफ्ले बताउँछन् ।


उनी भन्छन्, ‘बिगतमा निर्वाहमुखी ढंगमा आलुखेती गरिन्थ्यो । अहिले गाउँपालिकाले अनुदानमा उन्नत जातका बीउबिजन, प्राविधिक सहयोगका साथै औषधि उपचारको तालिम समेत उपलब्ध गराइदिंदा सामूहिक तथा एकल रूपमा व्यावसायिक ढंगले खेती गर्नतर्फ प्रेरित भएका छौं ।’


स्थानीय तहले कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ आयमूलक र व्यावसायिकतर्फ जोड दिंदा उत्साहित बनाएको अर्का किसान लक्ष्मी भण्डारी बताउँछिन् ।


‘सिंचाइ सुविधा भएका फाँटमा आलुखेती गर्न अनुदानमा बीउ तथा आवश्यक प्रविधिको ज्ञान दिंदा निर्वाहमुखी खेतीलाई छाडी व्यवसायिक रूपमा अगाडि बढ्न उत्साह जगाएको छ’ उनले भनिन्, ‘स्थानीय तह र अन्य सरोकारवाला निकायले कृषि कर्मलाई व्यावसायिक बनाउन आधुनिक प्रविधि, उन्नत जातका बीउबिजन तथा आवश्यक सीपका साथै उत्पादित उपजलाई बजारीकरणमा सहयोग गरिदए रोजगारीको खोजीमा भौंतारिएका युवा आफ्नै गाउँठाउँमा व्यवसाय गरी रम्ने थिए ।’


म्याग्दे गाउँपालिकामा एक सहकारी र १५ समूहले व्यावसायिक रूपमा आलुखेती गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले बताए । ‘गाउँपालिकामा आलुखेती गर्ने कृषकका संख्या १ सय ९० छ’, उनले भने, ‘केही समूहमा आबद्ध भई व्यावसायिक रूपमा खेती गर्दै आएका छन् भने कोही निजी रूपमा आलुखेती गर्छन् ।’


सिंचाई सुविधा भएको गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयँर, धयारे, छाङपाटन, पिपलडिही, बेलटार लगायतका फाँटहरूमा समूहमा आलुखेती भइरहेको छ । सामूहिक रूपमा आलु खेती कार्यक्रम थालनी गरेपछि किसानलाई आलुका लागि अन्य स्थानीय तह र बजारमा भर पर्न नपरेको रानाभाट बताउँछन् ।


उनले भने, ‘पहिले निजी रूपमा आलुखेती गर्दा आफैंलाई दुई महिना पनि खाना पुग्दैन थियो । तर अहिले उनीहरूलाई खाना पुग्नुका साथै केही बिक्रीवितरण गरी आर्थिक उपार्जनको माध्यम पनि बनेको छ ।’


आलुमा आत्मनिर्भर बनाउन सामूहिक खेतीमा प्रेरित गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे बताउँछन् । ‘दुई वर्षदेखि कृषकलाई बीउ खरिदमा अनुदान दिंदै आएकोमा चालु वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा अहिले कृषकहरू समूहमा आबद्ध भई आलुखेती गर्न थालेका छन् ।’


गाउँपालिकाले यस वर्ष अनुदानका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । आर्थिक वर्षमा २०७४/०७५ मा १० दशमलव ९२ हेक्टरबाट १८ दशमलव ३ मेट्रिक टन आलु उत्पादन भएको थियो भने २०७५/०७६ मा २५ हेक्टरबाट १६ दशमलव ५ मेट्रिक टन आलु उत्पादन भएको रानाभाटले बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?