३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तीजको दरबारे प्रशासन–सरोकारवाला जुहारी

कान्तिपुर संवाददाता

पर्वत — हरितालिका तीजमा दर विकृति रोक्न प्रशासनले कडाइ गरेपछि महिला अधिकारकर्मीले विरोध जनाएका छन्  । गतसाता प्रशासनले विज्ञप्ति निकालेर तीजको दर खाने परम्परालाई फेसन र भडकिलो बनाउने प्रचलन रोक्न निर्देशन दिएको थियो  ।

तीजको दरबारे प्रशासन–सरोकारवाला जुहारी

भडकिलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको थियो । प्रशासनले मौलिक परम्परा बिग्रने गरी तीज पर्वलाई भडकिलो बनाउने, ध्वनि प्रदूषण हुने गरी होटलमा कार्यक्रम गरी शान्तिसुरक्षामा खलल पुर्‍याउने खालका गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएको थियो ।

प्रशासनले कडाइ गरेकोप्रति जिल्लाका विभिन्न सामाजिक संघसंस्थाले आपत्ति जनाएका छन् । ९ संघसंस्थाले संयुक्त रूपमा प्रसासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै तीजमा गरिएको अवरोध स्विकार्य नहुने प्रतिक्रिया दिएका हुन् । प्रशासनले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस, होटलमा तीज नमनाउन र गहन प्रदर्शन नगर्न भन्दै बिहीबार सार्वजनिक सूचना जारी गरेको थियो ।

पर्वतले महिला प्रमुख जिल्ला अधिकारी पाएपनि महिलाप्रति संवेदनशील नभएको भन्दै महिलामैत्री बन्न महिला अधिकारवादीले सचेत गराएका थिए । ‘सामाजिक विकृतिप्रति हामी आफैं सजग छौं,’ स्थानीय माया अधिकारीले भनिन्, ‘मौलिक संस्कृति रोक्न मिल्दैन ।’ खुल्ला अर्थतन्त्र र समाज खुल्ने क्रम बढिरहेका बेला होटलमा खानै नहुने र पार्टी प्यालेसमा कार्यक्रम गर्न नदिनु गलत भएको उनले बताइन् ।

रवाफिलो शैलीमा तीजको दर विकास हुँदै गएको प्रचलन रोक्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । ‘तडकभडक र रवाफिलो शैलीलाई कम गर्नमात्रै खोजेको हो,’ उनले भनिन्, ‘हाम्रो सस्कांरले दिएका पर्व मनाउन कुनै अवरोध छैन ।’

गृह मन्त्रालयको निर्देशन बमोजिम नै आफूले विज्ञप्ति निकालेको उनले बताइन् । प्रजिअ नेपालले मौलिक संस्कृति बिगार्न वा परम्परालाई रोक्न प्रशासनले कहिल्यै छेकबार नलगाउने स्पस्ट पारिन् । पछिल्ला समयमा तीजको महिना दिन अघिदेखि नै दर खाने बाहनामा महिला गरगहना र दम्भ प्रदर्शन गर्ने, होहल्ला गर्ने लगायतका गतिविधि झाँगिँदै गएको गुनासो बढेपछि गृह मन्त्रालयले नै यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । सामाजिक सन्जालमा समेत प्रशासनको विज्ञप्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?