लुटपाट गर्नेको खोजीमा बेवास्ता

कान्तिपुर संवाददाता

बागलुङ — प्रतिवन्धित लागूपदार्थ सुघाएर युवकलाई बेहोस बनाई लुटपाट गर्नेको खोजीमा प्रहरीले बेवास्ता गरेको परिवारका सदस्यले गुनासो गरेका छन् ।गत बिहबिार बागलुङ नगरपालिका–१२ का युवक किरण आचार्य रात्रिबसमा लुटिएका थिए । प्रतिबन्धित ‘कोलोफम’ नामक लागूपदार्थ सुँघाइएकाले उनी बेहोस भएका थिए । आचार्यको ३६ घण्टा आईसीयूमा उपचार गरेपछि होस खुलेको थियो ।

बिरामी आचार्यले अझै आँखा देख्न सक्दैनन् । खुट्टा लुलो भएकाले हिँड्न नसक्ने अवस्थामा थप उपचार भइरहेको बाबु मुक्तिरामले बताए । परिवारका सदस्यले शुक्रबारै जिल्ला प्रहरीमा दिएको उजुरीको छानबिन सुरु नभएको गुनासो छ ।

जिल्ला प्रहरीका नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले अनुसन्धानको प्रक्रिया सुरु भएको बताए । घटनापछि पीडितले काठमाडौंको गंगबुस्थित प्रहरी चौकीमा उजुरी गरेका थिए । धौलागिरी यातायात बस व्यवसायी समितिको दबाबपछि जिल्ला प्रहरीले उक्त उजुरी फिर्ता गरेर बागलुङ मगाएको थियो ।

काठमाडौंमा पक्राउ परेका चालक र सहचालक बागलुङ झिकाएपछि एक दिन राखेर चालकलाई छाडिएको छ । उक्त बस र चालक नियमित काममा फर्केका छन् । परिवारका सदस्य र आफन्त भने कानुनी उपचार खोज्दै दैनिक जिल्ला प्रहरी धाइरहेका छन् । तर प्रहरीले वास्ता नगरेको उनीहरूले गुनासो गरे ।

‘यो सामान्य घटना हो भन्नै दिनदिनै आएर झमेला नगर्न भनेका छन,’ पीडितका आफन्त भविदत्त शर्माले भने, ‘प्रक्रियामा गएर अनुसन्धान गरिएकाले काम भएपछि जानकारी दिन्छौं भनेका छन् ।’ तर प्रतिबन्धित लागूपदार्थबाट बिरामी परेकाले दोषीलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने उनीहरूको माग छ ।


पटक पटक डाकिएका बैठकमा समितिका पदाधिकारी नआई प्रहरीका प्रमुखलाई फोन गर्ने पीडितको गुनासो छ । ‘समितिले वास्ता गर्दैन, प्रहरीले हुँदैछ भनेर तर्काउँछ,’ शर्माले भने, ‘हामी न्याय खोज्न कता जाने ।’ काठमाडौंस्थित मनमोहन अस्पतालमा आईसीयूमा उपचार गरेपछि पीडित आचार्यलाई फेरि आँखा उपचार थालिएको छ ।

धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिको ध१ख ६१३ नम्बरको बसमा उनी बिहीबार काठमाडौं गएका थिए ।रात्रिबसमा काठमाडौं हिँडेका उनलाई थानकोट पुग्ने बेलामा उक्त औषधि सुँघाएको अनुमान प्रहरीले गरेको छ । बेहोस भएपछि उनको साथमा भएको सिक्री, औंठी र नगद १५ हजार लुटिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?