मिनी मार्केटमा भीषण आगलागी, ३२ सटर जले, करोडौंको क्षति [तस्बिरहरु]
(पोखरा) — अपराह्न ४ बजेको हुँदो हो । दीपेन्द्र क्षेत्री खाजा खाँदै थिए । अकस्मात् सँगैको फोम हाउसबाट आगोको मुस्लो निस्कियो । उनीसहित तीन जनाले कार्पेट ताने । दुई थान कार्पेट के तानेका थिए, आगोको लप्का ह्वारह्वार्ती उनीहरूतर्फ आयो ।
‘सानै होला, नियन्त्रणमा लिन सकिएला भन्ठानेर कार्पेट तानेका थियौं,’ क्षेत्रीले भने, ‘तर आगलागीले भित्रभित्रै ठूलै क्षति पुर्याइसकेको रहेछ । हारगुहार गर्दै बाहिर निस्कियौं ।’
न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा ३२ सटर नष्ट भएका छन् । तिनमा ७ जनाले पसल सञ्चालन गर्दै आएका थिए । मिनी मार्केट सञ्चालकमध्येका यदु पोखरेलले ६/७ करोड जतिको क्षति भएको बताए ।
जनताको राय
मार्केटभित्र होम डेकोरेसन, रेस्टुरेन्ट, कुर्ता तथा सारी, चस्मा, फलफूल र इलेक्ट्रिकल पसल थिए । ‘शुभ युनिक होम डेकोरेसनका ९ सटर थिए,’ पोखरेलले भने, ‘कुनै पनि चिज निकाल्न नपाई ३२ वटै सटर नष्ट भए ।’ उनका अनुसार मार्केट बनाउन मात्र १ करोड खर्च भएको थियो ।
घटनामा मानवीय क्षति भने हुन पाएन । सँगैको सिटिजन्स बैंकका सेक्युरिटी गार्ड मानसिंह गुरुङले आगो लागेको देख्नासाथ दमकल बोलाएको बताए । दमकल २० मिनेट ढिलो पुगेको थियो । ‘शुभ युनिकको तन्ना र खोल सिलाउने ठाउँबाट आगो निस्केजस्तो लाग्छ,’ गुरुङले भने, ‘समयमै दमकल आएको भए आधा सामान जोगाउन सकिन्थ्यो कि !’ उनकी श्रीमती मायाले पनि रेस्टुरेन्टमा खाजा खाँदै गर्दा आगो लागेको थाहा भएको बताइन् । तत्कालै बाहिर ननिस्केको भए आफूहरू पनि आगोमा पर्ने उनको भनाइ छ । ‘हेर्दाहेर्दै सबै सटर खरानी भए, हामीसँग हेर्नुबाहेक विकल्प रहेन,’ उनले भनिन् ।
मार्केटसँगै शिवशक्ति स्टिल फर्निचर उद्योगको शोरुम र गोदामसमेत थियो । फर्निचरका सबै सामान सडकमा निकालिएको थियो । उक्त सटरमा भने आगो आइपुगेन । आगो नियन्त्रणमा लिन करिब २ घण्टा लागेको थियो । आगो निभाउन ४ दमकल, दर्जनभन्दा बढी पानी बोक्ने ट्यांकर प्रयोग गरिएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण आगो नियन्त्रणमा खटिएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी निरीक्षक गणेश सुवेदीले क्षतिको एकिन विवरण नआएको बताए । उनका अनुसार विद्युत् शट भई आगो लागेको आशंका गरिए पनि कारण खुलेको छैन
प्रकाशित : श्रावण २८, २०७६ १७:१२
प्रतिक्रिया