कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपनिर्वाचनको तयारी : कास्की र बागलुङमा थपिए मतदाता

प्रदेश ब्युरो

पोखरा — आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की र बागलुङ निर्वाचन कार्यालयले आन्तरिक तयारी सुरु गरेका छन् । यसैक्रममा दुवै जिल्ला कार्यालयले मतदाता नामावली रुजु गरी निर्वाचन आयोगमा पठाएका छन् ।

उपनिर्वाचनको तयारी : कास्की र बागलुङमा थपिए मतदाता

दुवै जिल्लामा मतदान हुने निर्वाचन क्षेत्रमा मतदाता थपिएका छन् । कास्की निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा र बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (२) मा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ ।


पर्यटनमन्त्री भएकै बेला गत फागुनमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको मृत्यु भएपछि कास्की–२ खाली भएको थियो । यसैगरी कलेजोसम्बन्धी रोगका कारण गत मंसिरमा प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको मृत्यु भएपछि बागलुङ–२ को २ खाली भएको हो ।


निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीका अनुसार कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ७२ हजार २ सय मतदाता पुगेका छन । यसअघि २०७४ को निर्वाचनमा यो संख्या ७० हजार ६ सय ५१ थियो । ‘हामीले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएको संख्या अद्यावधिक गरी केन्द्रमा पठाएका छौं,’ सुवेदीले भने, ‘मतदानस्थल र केन्द्रको अद्यावधिक गर्न पर्न नपर्ने अध्ययनमा छौं ।’ यसअघि उक्त निर्वाचन क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र थिए । उनले उपनिर्वाचनका लागि आवश्यक तयारी थालिइसकेको बताए । निर्वाचन क्षेत्रमा पोखरा महानगरका ११ वटा वडाहरू पर्छन् ।


बागलुङका जिल्ला निर्वाचन अधिकारी विकासराज शर्माका अनुसार निर्वाचन क्षेत्र २ को (२) मा ३५ हजार ६ सय ३४ मतदाता पुगेका छन् । अघिल्लो निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता रहेकामा २ हजार ३ सय ९४ जना थपिएका हुन् । यहाँ ४२ मतदान केन्द्र थिए । बागलुङमा एक वडाध्यक्षको पनि निर्वाचन हुँदै छ ।


बडिगाड गाउँपालिका–२ का अध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि दुई वर्षदेखि पद खाली छ । उक्त वडामा १ हजार ७ सय ७५ मतदाता छन् । अघिल्लो निर्वाचनमा १ हजार ६ सय ७० रहेकोमा १ सय ५ जना थपिका हुन् । ‘तत्कालका लागि निर्वाचनको मिति मात्र घोषणा भएकाले हामीले पछिल्लो तथ्यांक प्रकाशित गरेका हौं, अरू काम निर्वाचन अधिकृतको घोषणापछि मात्र सुरु हुन्छ,’ शर्माले भने, ‘अन्तिम नामावली निर्वाचन मिति घोषणाकै समयलाई मानेर गर्छौं ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?