१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

म्याद सकियो, पुल बनेन

प्रताप रानामगर

दमौली — तनहुँको भीमाद मिर्मीभीम मार्गमा रहेको जिदी खोला मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदारले लापरबाहीले पुल अलपत्र परेको हो । 

पुल निर्माणको म्याद सकिइसकेको छ । तर, पुल भने बन्न सकेको छैन । पुलको जग राख्ने र सबस्ट्रक्चर राख्ने कामबाहेक केही पनि नभएको डिभिजन सडक तनहुँका सूचना अधिकारी सचिन श्रेष्ठले बताए । ‘पुल निर्माणमा प्रगति नभएपछि ठेकेदार कम्पनी शान्ति निर्माण सेवालाई ताकेता गरिरहेका छौं,’ उनले भने ।


दुई स्पानको पुलको लम्बाइ ७० मिटर छ । चार करोड ९० लाख ८२ हजार रुपैयाँको लागतमा पुल निर्माणका लागि २०७३ असार २९ मा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने म्याद थियो । सम्झौताअनुसार ०७५ असार २८ मा निर्माण सम्पन्न गर्नुपर्ने हो ।


ठेकेदार कम्पनीले म्याद थपका लागि निवेदन दिएको श्रेष्ठले बताए । ‘निवेदन दियो भन्दैमा म्याद थप्ने होइन । ठेकेदारसँग पुल निर्माणमा ढिलाइको कारणसहित उत्तर मागेका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म चित्तबुझ्दो उत्तर आएको छैन ।’ चित्त बुझदो उत्तर नआए हर्जना लगाउने गरी म्याद थप्न सकिने उनले उल्लेख गरे । म्याद थपका लागि निवेदन दिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाइएको छैन ।


निर्माण सामग्री नपाउँदा निर्माणमा ढिलाइ भएको ठेकेदार विनोद महर्जनले बताए । ‘फाउन्डेसनका काम भइसकेको छ,’ उनले भने, ‘अन्य निर्माण सामग्री नआउँदा ढिलाइ भएको हो ।’ निर्माण सामग्री नेपालमा नपाइने र भारतबाट ल्याउनुपर्ने भएकोले माग गरिसकेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माण सामग्री आएको ६ महिनाभित्र पुल निर्माण सकिने उनले बताए ।


पुल निर्माण नहुँदा बर्खायाममा समस्या हुने स्थानीय निर्मल थापाले बताए । ‘खोलामा बाढी आउँछ,’ उनले भने, ‘गाडी तर्न सकिँदैन । सवारी साधन तर्न नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।’ ज्यान जोखिममा राखेर तर्न बाध्य भएको उनले बताए । उक्त सडक खण्डमा कालोपत्रे र ग्राभेल भइसकेको छ । जिदी खोलामा मोटरेबल पुल निर्माण सुरु भएपछि मिर्मी–भिमाद सडक खण्डअन्तर्गत जिदीखोलादेखि रातेपहरासम्म कालोपत्रे गरिएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?