कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मुस्ताङमा 'यार्तुङ’ याम

गाउँपालिका र रानीपौवाको जनप्रिय युवा क्लबले पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रुपमा मनाउँदै छन् 
दीपक परियार

मुस्ताङ — बर्खा सकिँदै छ । बर्खाले कम छुने हिमाली भेगमा यसैलाई बिदाइ गर्न चाड नै मनाइन्छ । बर्खालाई बिदाइ गर्न मुस्ताङमा ‘यार्तुङ’ मनाइँदै छ । जनैपूर्णिमाको दिन यार्तुङ मनाउन बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्र झकिझकाउँ छ ।

मुस्ताङमा 'यार्तुङ’ याम

गाउँपालिका र रानीपौवाको जनप्रिय युवा क्लबले पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रूपमा मनाउँदै छन् । पहिले एक दिन मात्रै यार्तुङ मनाइने भए पनि क्लबले केही वर्षयता भने महोत्सवकै रूपमा मनाउँछ ।


यहाँ बर्सेनि विशेष रूपले मनाइन्छ । हिमाली भेगहरू मनाङ, गोरखाको चुमनुब्री, डोल्पामा समेत यार्तुङ मनाइन्छ । मुक्तिनाथ रानीपौवाका मुखिया सुरज गुरुङका अनुसार पहिला तिब्बती क्यालेन्डरअनुसार यार्तुङ मनाइन्थ्यो । अहिले भने नेपाली पात्रोअनुसार हुन्छ । स्थानीयले सल्लाह गरी केही वर्षयता हरेक वर्ष जनैपूर्णिकाको दिन यार्तुङ मनाउन थालेका हुन् ।


तिब्बती भाषामा ‘यार’ को अर्थ ‘बर्खा’ र ‘तुङ’ को अर्थ ‘मेला’ हुन्छ । बर्खालाई बिदाइ गर्ने पर्वको रूपमा हिमाली भेगका स्थानीयले यार्तुङ मनाउने गर्छन् । यार्तुङमा हुने गतिविधि घोडचढीसँग जोडिन्छन् । मुस्ताङका स्थानीय युवाले घोडचढी कौशल देखाउने अवसरको रूपमा यार्तुङलाई लिन्छन् ।


यार्तुङको समयमा स्थानीयवासीले विशेषगरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । गाउँपालिका अध्यक्ष फेञ्चोकछेप्तेन गुरुङका अनुसार यार्तुङ मनाउने दिन स्थानीय आआफ्नो घोडा सजाएर गुम्बामा भेला हुन्छन् । मुक्तिनाथ मन्दिर पुग्छन् । त्यहाँ रहेको नरसिंह गुम्बामा पूजाआजा गरी साँझतिर टोलमा फर्कन्छन् । घोडचढीका लागि तयार गरिएको स्थानमा स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गर्छन् ।


परम्परागत रूपमा मनाइँदै आएको यार्तुङलाई संरक्षण गर्न यसलाई महोत्सवको रूप दिइएको उनी बताउँछन् । ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको यार्तुङ महोत्सवलाई यस पटक बृहत् रूपमा सञ्चालन गर्दै छौं,’ उनी भन्छन्, ‘गाउँपालिकाभित्रको सांस्कृतिक विविधता प्रदर्शन, गाउँगाउँ बीचका युवाको सम्बन्ध प्रगाढ बनाउन महोत्सव लाभदायी हुनेछ ।’


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार महोत्सव सुरु हन थालेदेखि घोडचढीलाई प्रतियोगिताको रूपमा मनाउन थालिएको छ । ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुूरीको घोडादौड प्रतियोगिता महोत्सवमा हुनेछन् ।


घोडादौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन । प्रस्तावित हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणस्थलमा सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुँदै छ ।

हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिनेछ ।


गाउँपालिकाभित्रका १९ गाउँका परम्परागत वेशभूषा प्रदर्शन महोत्सवमा हुनेछ । ऐतिहासिक मास्क डान्स महोत्सवको आकर्षण हो । मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेका मुस्ताङवासीसमेत फर्केर आउँछन् । महोत्सवमा २ करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । १० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ । फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्बुलगायत स्थानीय उत्पादनको बिक्री वितरण महोत्सवमा हुने छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?