पोखरामा डेंगुका बिरामी बढे

विना थापा

कास्की — पोखरामा डेंगुका बिरामी ३३ पुगेका छन् । पोखरा महानगरपालिका–८ मा १४, ९ मा ९, ५ मा एक, १७ मा दुई, ४ मा एक, १० मा एक र २५ नम्बर वडामा एक बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा डेंगुका बिरामी बढे

उपचारका लागि आएका धरानका २, स्याङ्जा र तनहुँका १/१ जनामा पनि डेंगु भेटिएको छ ।


दैनिक ३ देखि ४ जना डेंगुका बिरामी भेटिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यमनाथ बरालले बताए । पोखराका फेवासिटी, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पश्चिमाञ्चल सामुदायिक अस्पताल र सिद्धार्थ पोलिक्लिनिकमा बिरामीको उपचार भइरहेको छ । ‘पोखरामा ९९ प्रतिशत लार्भा नष्ट नगरे अर्को ठूलो समस्या आउने सम्भावना भएकाले नष्ट अभियान थालिएको छ,’ उनले भने, ‘यसमा सबैको साथ चाहिन्छ ।’


८ नम्बर वडामा साउन १३ मा डेंगु देखिएदेखि जनस्वास्थ्य, जनप्रतिनिधि, टोलवासीलगायत घरघरमा गएर टायर र पुरानो ड्रममा भएका पानीका लार्भा नष्ट गर्ने अभियान चलाइएको वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।


पोखरा–८ कुँवर टोल विकास संस्था, भवानी आमा समूहले घरघर टायर निकाल्ने क्रममा ४ ठाउँमा लार्भा भेटिएको आमा समूहकी अध्यक्ष पार्वता पौडेलले बताइन् । उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाड बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने डेंगुका लक्षण रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काको भनाइ छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?