सभाहलको ४० प्रतिशत काम सकियो

कान्तिपुर संवाददाता

गोरखा — गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन बहुउद्देश्यीय सभाहलको ४० प्रतिशत काम सकिएको छ । सभाहल नहुँदा गोरखामा सभा–समारोहका लागि समस्या हुँदै आएको छ । सामान्य गोष्ठी पनि होटल वा जिल्ला समन्वय समितिको हलमा हुने गर्छ ।

सभाहलको ४० प्रतिशत काम सकियो

समन्वय समितिको सभाहल एक सयदेखि एक सय २० जना अट्ने क्षमताको छ । खुल्ला ठाउँमा कुनै कार्यक्रम गर्नुपरे सदरमुकाम क्षेत्रको खेलकुद मैदान र रानीपोखरीमा हुँदै आएको छ ।


करिब ७ सय ५० अट्ने सभाहल निर्माण सुरु भएको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका सबइन्जिनियर लक्ष्मण श्रेष्ठले बताए । साविकको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाबाट ठेक्का सम्झौता भएको उक्त सभाहल संघीयता कार्यान्वयन सँगै जिम्मेवारी सर्दा इकाईअन्तर्गत परेको हो ।


२०७४ माघ ३ गते ठेक्का सम्झौता गरी सभाहल निर्माणको जिम्मा रविना डाँफे जेभीले पाएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले काम गरे २०७७ को माघ २ मा निर्माण सम्पन्न हुनेछ । तर समयमै काम सक्न गति भने बढाउनुपर्ने देखिएको प्राविधिक बताउँछन् । ‘अहिले पार्किङ फ्लोरको काम भइरहेको छ,’ सबइन्जिनियर श्रेष्ठले भने, ‘माथिल्लो तलामा स्टेज बन्ने हो, हलको प्रमुख भाग भनेकै स्टेज हो, कन्ट्रोल रुमको काम पनि बाँकी छ ।’


६ तले उक्त भवन निर्माणका लागि ३४ करोड ९० लाख ४६ हजारमा ठेक्का सम्झौता भएको उनले बताए । दुई फ्लोरमा पार्किङ, सभाहल, मल्टीप्रपोज हल लगायतका संरचना बन्ने उनले बताए । ‘दोस्रो तलाको काम भइरहेको छ, बाँकी काम पनि गर्दैछौं, सभाहलको स्टेज र कन्ट्रोल रुम बनाउने काम अझै बाँकी छ,’ उनले भने, ‘सम्झौता अवधिभित्रै सक्ने लक्ष्य छ, सुविधा सम्पन्न हल बनाउन लागेका हौं ।’


उक्त हल निर्माण भएसँगै ठूला सभा सम्मेलनका लागि सहज हुने अपेक्षा गरिएको छ । निर्माण सम्पन्न भएसँगै उक्त हल स्थानीय तहलाई हस्तान्तरण हुनेछ । स्थानीय तहले आफूअनुकूल हल प्रयोगमा ल्याउने इकाईले जनाएको छ । हाल बसपार्क रहेको क्षेत्रमा सभाहल बनेको हो । यहाँ साविकको जिल्ला विकास र नगरपालिका हुँदा १० वर्षसम्म सभाहलका लागि बजेट विनियोजन हुँदै आए पनि जग्गा अभावका कारण रकम फिर्ता हुँदै आएको थियो ।


गोरखा नगरपालिकाको १२ रोपनी क्षेत्रफल जग्गा स्वामित्वमा लिएर सभाहल निर्माणको काम थालिएको हो । सभाहल बसपार्कमा र हालको बसपार्कलाई उक्त वडाको साविकको ५ नम्बर वडाअन्तर्गत डण्डीडाँडामा स्थानान्तरणको काम सुरु भएको छ । सभाहल निर्माण सम्पन्न भएसँगै स्थानीयको आयआर्जन बढाउन पनि सघाउ पुग्ने गोरखा नगरपालिका–७ का अध्यक्ष विष्णु श्रेष्ठले बताए ।


‘बसपार्कको पनि कटिङको काम सकेर वालको काम भइरहेको छ,’ उनले भने, ‘सभाहलको पनि पहिलो ढलानको काम सकिसकेको छ । दुवै संरचना हाम्रै वडामा छन्, यसले स्थानीयलाई फाइदा पुग्ने नै भयो । यति धेरै मान्छे अट्ने सभाहल बन्न लागेको छ, यो सम्पन्न भएपछि सबै कार्यक्रम यहाँ गर्न पनि मिल्यो ।’


जिल्लाभरको मात्र नभई अन्यत्रबाट पनि यहाँ आएर सभा–समारोह गर्न मिल्ने खालको भवन बन्न लागेको भन्दै स्थानीयले काम छिटो सक्न माग गरे । ‘सानो कार्यक्रम गर्न परेपनि महँगो शुल्क तिरेर होटलमा गर्नुपर्छ,’ स्थानीय सुमिना श्रेष्ठले भनिन्, ‘सभाहल नै भएपछि होटलमा भौतारिनु पनि परेन, गोरखामा सभाहल छ भनेपछि अन्यत्रबाट पनि मान्छे आउने भए, यसले पर्यटन प्रवर्द्घनमा पनि सघाउँछ ।’ भवन निर्माण सम्पन्न भएपछि यसलाई व्यवस्थित तवरले सञ्चालनका लागि योजना बनाएर अघि बढ्नुपर्ने उनले बताइन् ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?