१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नातिपनाति पाइयो, लालपुर्जा पाइएन

वडाका सयौंले जग्गा धनीपुर्जा पाएका छैनन् । शान्तिनगर, भोटेपानीमा करिब एक हजार घरपरिवारले लालपुर्जा नपाएको नागरिक मञ्चका पूर्वसंयोजक खडसिं थापाले बताए ।
प्रताप रानामगर

दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की हेमकुमारी क्षत्री ७५ वर्ष पुगिन् । घर बनाएर बसेको पनि ५ दशक बढी भयो । यही घरमा छोरा मात्र होइन, नातिपनातिसमेत पाइसकेकी छन् उनले ।

नातिपनाति पाइयो, लालपुर्जा पाइएन

‘नातिपनाति पाइसकियो,’ उनले भनिन्, ‘तर, घरको लालपुर्जा पाइएको छैन ।’ लालपुर्जाको आशामा जिन्दगी बितेको उनले गुनासो गरिन् । ‘मर्ने बेलामा घरको लालपुर्जा देखेर मर्न पाए हुन्थ्यो,’ उनले भनिन् । घर भएर पनि के गर्ने सुकुम्बासी भन्छन् । लालपुर्जा नहुँदा अरुले हेप्दा रहेछन् । लालपुर्जा भए त नातिपनातिलाई राम्रो हुने थियो ।’


उनीमात्र होइन वडाका सयौंले जग्गा धनीपुर्जा पाएका छैनन् । शान्तिनगर, भोटेपानीमा करिब एक हजार घरपरिवारले लालपुर्जा नपाएको नागरिक मञ्चका पूर्वसंयोजक खडसिं थापाले बताए । स्थानीय २०२५ सालदेखि बसोबास गर्दै आइरहेको छ । ‘यहाँ एक हजारको हाराहारीमा घर छन्,’ उनले भने, ‘तर, कसैले लालपुर्जा पाएका छैनन् ।’


लालपुर्जाका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनले बताए । ०३३ सालमै जग्गाको कित्ताकाट भएको थियो । सरकारले गठन गर्दै आएको सुकुम्बासी आयोगले पनि अहिलेसम्म लालपुर्जाको व्यवस्था गर्न सकेको छैन । ‘२०५८ सालको आयोग एउटै प्रकृतिका जग्गा तथा घरलाई लालपुर्जा दिएको छ,’ उनले भने, ‘तर हामीलाई दिएन । एउटै प्रकृतिका जग्गा बेलचौतारा र दुलेगौडाका घरपरिवारलाई लालपुर्जा दिएको थियो ।’


अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा मालपोत, नापी, वन र सम्बन्धित पालिकाको प्रमुख सदस्य रहने गरी आयोग गठन गरेको छ । यही आयोगले जग्गाको नापजाँच गरेको उनले बताए । आयोगले नापजाँच गरेको फिल्ड बुक दिनुपर्ने हो, तर दिएको छैन । कर्मचारी नभएको भन्दै आयोगले फिल्डबुक दिनबाट पन्छिएको उनले आरोप लगाए । फिल्डबुक पाए लालपुर्जा पाउने आधार हुने स्थानीय बताउँछन् ।


चुनावमा नेताले चुनावी नारा नै लालपुर्जा बनाउने गरेको स्थानीय रुपा डोटेलले बताइन् । ‘भोट माग्न आउँदा लालपुर्जा दिन्छौं भनेर आश्वासन दिन्छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि नाकमुख देखाउँदैनन् ।’ दसैंसम्ममा लालपुर्जा पाउँछ भन्ने हल्ला सुनेको तर त्यसमा विश्वास नलागेको उनले बताइन् । पुर्जा नहुँदा बैंकिङ कारोबार तथा किनबेच भए पनि मूल्य नपाएको स्थानीयको गुनासो छ ।


लालपुर्जा नभएको बस्ती यहाँ मात्र होइन । शान्तिनगर, भोटेपानीसहित वडा ८ को ढोरफिर्दी र २ को नर्सरीमा गरी करिब दुई हजार ९ घरजग्गाको लालपुर्जा नभएको शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताए । ‘नगरपालिकामा ठूलो संख्यामा लालपुर्जा पाएका छैनन्,’ उनले भने, ‘अब छिट्टै लालपुर्जाको व्यवस्था हुन्छ ।’ अवस्थित बासस्थानलाई व्यवस्थित बनाउन आयोगले लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाउने उनले बताए ।


जेठ ६ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद्ले लालपुर्जा वितरणका लागि राजपत्रमा प्रकाशित गरिसकेको छ । ‘जग्गा तथा घरको नापजाँचको आधारमा फिल्डबुक तयार भइसकेको छ,’ उनले भने, ‘कर्मचारी नहुँदा वितरण मात्र नगरेको हो ।’ लालपुर्जाको व्यवस्था गर्नका लागि एक मालपोत अधिकृतसहित २ नासु खटाउने हो ।


दुई नायब सुब्बालाई खटाएको पत्र आइसकेको छ । तर, मालपोत अधिकृतको भने पत्र आएको थाहा नपाएको उनले बताए । मालपोत अधिकृत आउनासाथ लालपुर्जा वितरणको काम द्रुत गतिमा अगाडि बढ्छ । लालपुर्जा व्यवस्थाका लागि खटिएका कर्मचारीको व्यवस्थापन गर्न नगरपालिकाले पनि बजेट छुट्याएको छ । नगरसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र नपुगे थपिने उनले बताए ।


खैरेनीटार, दुलेगौडा, ढोरफिर्दीमा रहेको अवस्थित जग्गा व्यवस्थापन आयोगको बैठक बसेर कर्मचारी माग, बजेटको व्यवस्था गर्न निर्णय गरेको छ । साथै सम्बन्धित वडाध्यक्षलाई आयोगको आमन्त्रित सदस्यको रूपमा राखेको छ । कर्मचारी माग गरिए पनि अहिलेसम्म नखटिएको आयोगका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रराज पण्डितले बताए ।


‘आयोगको कार्यदलको बैठक बसेर मालपोत अधिकृतसहित कर्मचारी माग र बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘तर, अहिलेसम्म कर्मचारी आएका छैनन् । जग्गाको नापजाँचको कागजात छानबिन गरिनेछ । जग्गाको छानबिन गरेर मात्र लालपुर्जा वितरण गरिने उनले बताए ।


साता दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले शुक्लागण्डकीको एक कार्यक्रममा दसैंमा लालपुर्जा पाउने बताएकी थिइन् । उनले निधारमा दसैंको टीका र हातमा लालपुर्जा पाउने आश्वासन दिएकी थिइन् ।

प्रकाशित : श्रावण २४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?