कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्षति १०४, पुनर्निर्माण बल्ल एउटाको

 भूकम्पपछिको गुम्बा पुनर्निर्माण   १३ मर्मत र ९१ पुनर्निर्माण गर्न सुझाव   ५० वटाका लागि १५ करोड २६ लाख बजेट 
हरिराम उप्रेती

गोरखा — भूकम्पले भत्काएका यहाँका गुम्बाहरूको पुनर्निर्माणमा ढिलाइ भएको छ । भूकम्पको ४ वर्ष बित्दा बल्ल एउटाको पुनर्निर्माण र एकको मर्मत सुरु भएको छ । ०७२ वैशाख १२ को भूकम्पले गोरखा जिल्लामा १ सय ४ वटा गुम्बा भत्किएका थिए । 

क्षति १०४, पुनर्निर्माण बल्ल एउटाको

तीमध्ये १३ को मर्मत र ९१ को पुनर्निर्माण गर्नुपर्ने सुझाव प्राविधिकको स्थलगत निरीक्षणपछिको प्रतिवेदनमा छ । जनप्रतिनिधिको बेवास्ताले गुम्बा पुनर्निर्माणको प्रक्रिया लथालिंग छ । चुमनुव्री गाउँपालिकाभित्र मात्रै ९१ गुम्बा भत्किएका छन् ।


चालु वर्ष गुम्बा पुनर्निर्माण तथा मर्मतका लागि १५ करोड २६ लाख ५६ हजार बजेट आएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयले जनाएको छ । प्रमुख रामशरण आचार्यका अनुसार निजी आवास निर्माण प्रक्रियामा ध्यान केन्द्रित रहेकाले अघिल्ला आर्थिक वर्ष बजेट आए पनि गुम्बाबारे कार्यक्रम कार्यान्वयन हुन सकेन ।


‘२०७४/७५ मा कार्यक्रम आए पनि बजेट आएन,’ उनले भने, ‘गत आवमा २ करोड ८६ लाख विनियोजन भएर आयो तर खर्च १० लाख मात्रै भएको छ ।’ चुमनुव्री गाउँपालिका–२ ल्हो टासी छिरिङ गुम्बा मर्मतका लागि २ लाख ९० हजार र बारपाकको खुम्चे गुम्बा पुनर्निर्माणका लागि ७ लाख २५ हजार मात्र विनियोजन भएको उनले बताए ।


‘असारको पहिलो हप्ता कार्यक्रम र बजेट आयो,’ उनले भने, ‘चुमनुव्रीमा धेरै गुम्बा छन्, त्यहाँ पुगेर फर्कनै ८–१० दिन लाग्छ । समय नहुँदा कार्यक्रम कार्यान्वयन हुन सकेन ।’ चालु वर्ष बारपाकको गुम्बाका लागि ९५ लाख विनियोजनको तयारीमा रहेको उनले बताए । ‘बारपाकको डिजाइन फाइनल भएकाले पनि बजेट पार्न सजिलो भयो,’ उनले भने ।


गत वर्ष १४ जिल्लामा चारवटा गुम्बाको मर्मत र पुनर्निर्माण सुरु भएकामा दुई गोरखाकै छन् । ‘बनाउनुपर्ने १ सय ४ हो, यो वर्ष ५० गुम्बालाई बजेट आएको छ,’ उनले भने । ५० गुम्बा मर्मत र पुनर्निर्माणका लागि भने ६० करोड लाग्ने अनुमान छ । मर्मतका लागि गुम्बाको आकार र क्षेत्रफलअनुसार कम्तीमा ५ देखि २० लाखसम्म लाग्ने प्राविधिक प्रतिवेदनमा छ ।


नेपाल सरकारको १७ र भारतको एक्जिम बैंकको ८३ प्रतिशत सहुलियत ऋण सहयोगमा गुम्बा पुनर्निर्माण हुन लागेको हो । चालु वर्ष रकम आए पनि डिजाइन नआउँदा कार्यक्रम सुरु गर्न नसकेको उनले बताए । ‘पुरातत्त्वको पनि सहमति चाहिन्छ, डिजाइन फाइनल स्टेजमा छ,’ उनले भने, ‘डिजाइन फाइनल भएर आएपछि सम्झौता तथा निर्माण प्रक्रिया सुरु गर्न सक्छौँ ।’


यहाँ सय वर्ष पुराना आठ गुम्बा छन् । पुराना गुम्बा पुनर्निर्माणका लागि झन्डै ३ करोड लाग्ने प्राविधिक बताउँछन् । ‘दुई हजार स्क्वायर फिटभन्दा बढी भुइँको क्षेत्रफल हुन्छ, यसको ठेक्का पनि केन्द्रले नै लगाउने तयारीमा छ । कार्यान्वयन मात्र हामी गर्ने हौं,’ प्रमुख आचार्यले भने । पुनर्निर्माणका लागि ८ प्रकारका नक्सा फाइनल भइसकेको उनले बताए ।


गुम्बा पुनर्निर्माणमा भएको ढिलाइप्रति गोरखा बौद्घ गुम्बा सतीपीपल मैदानका अध्यक्ष विष्णु थापाले असन्तुष्टि जनाए । ‘यो वर्ष पनि ५० वटालाई मात्र पैसा आएछ,’ उनले भने, ‘चार वर्ष भइसक्यो । आर्थिक अभावमै धेरै गुम्बा बन्न सकेका छैनन् । धेरै खर्च लाग्ने भएकाले सहयोग जुटाएर बनाउन सक्ने अवस्था रहेन ।’ सतीपीपलको गुम्बा बनाउन मात्र २ करोड खर्च लाग्ने अनुमान छ ।

अहिले भत्किएकै गुम्बा आसपास अस्थायी संरचना बनाएर पूजाको काम भइरहेको छ । ‘ध्वस्तै भएकालाई पूजा सञ्चालनमा समस्या छ,’ उनले भने, ‘६–८ महिना पहिले संघर्ष समिति बनाएर छिटो बनाउन दबाब पनि दियौं । यही अवस्था रहे अझै धेरै वर्ष लाग्छ ।’ चुमनुव्रीका केही गाउँले निर्माण सामग्री संकलन गरेर पुनर्निर्माणले उपलब्ध गराउने रकम कुरेर बसेका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?