कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एक सचिवका भरमा तीन वडा

कान्तिपुर संवाददाता

गोरखा — धार्चे गाउँपालिकामा गत आर्थिक वर्षमा महिला तथा बालबालिकाको क्षेत्रमा आएको बजेट कार्यान्वयन हुन सकेन । २६ लाख बजेट फ्रिज भयो । कारण थियो, महिला विकास शाखामा एक जना पनि कर्मचारी नहुनु । 

अहिले पनि गाउँपालिकाका ४ शाखामा कर्मचारी छैनन् । योजना अनुगमन शाखामा छैटौं तहका अधिकृत, इन्जिनियर र खरदार तहका कर्मचारीको दरबन्दी छ । सामाजिक सुरक्षा शाखामा पनि अधिकृतसहित ३ को दरबन्दी छ तर दुवै शाखामा एउटै कर्मचारी छैनन् ।


कृषि, पशुसेवा र शिक्षा शाखा पनि कर्मचारीविहीन रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । स्वास्थ्य शाखामा छैटौं तहका अधिकृतको दरबन्दी रहे पनि त्यसअनुसार कर्मचारी नहुँदा काशीगाउँका अहेवलाई शाखाको जिम्मेवारी दिइएको छ ।


२० जनाको दरबन्दी रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र सबइन्जिनियरको भरमा चलेको छ । ७ वडामा ३ मात्रै सचिव छन् । एउटा सचिवले तीनवटा वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता छ । दुईजनाले दोहोरो जिम्मेवारी पाएका छन् । उनीहरू पनि संघमा समायोजन भएकाले छिट्टै जाने तरखरमा रहेको पाण्डेले बताए । दुर्गमको गाउँपालिकामा कर्मचारी आउनै मान्दैनन् । आए टिकाउनै गाह्रो छ ।


‘स्थानीय तह घोषणालगत्तै रहेका दुई कर्मचारी पनि सरुवा मागेर जानुभयो, अरू आएकै छैनन्,’ उनले भने, ‘कर्मचारीको समस्या पहिलेदेखिकै हो ।’ पशु शाखामा ८ जनाको दरबन्दी रहे पनि कर्मचारी नहुँदा कार्यसम्पादन गर्न नसकिएको उनको भनाइ छ । गत वर्ष कृषि र पशु सेवा शाखाको जिम्मेवारी एउटै कर्मचारीलाई दिइएको थियो । कर्मचारी समायोजनमा उनको पनि सरुवा भएपछि दुवै शाखा रित्तो भएका हुन् । ‘दुई शाखामा एक जना मात्र कर्मचारी हुँदा पनि गत आवमा कृषि र पशुसम्बन्धी ७० प्रतिशत योजना कार्यान्वयन भए,’ उनले भने ।


कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । ‘दुगर्मको गाउँपालिकामा सेवाग्राही टाढाटाढाबाट आउँछन्,’ उनले भने, ‘कर्मचारी नभेटिएपछि सेवाग्राही पनि खिन्न भएर फर्कने गरेका छन् ।’ विशेषगरी विकास निर्माणका योजना कार्यान्वयन र अनुगमनमा समस्या रहेको उनले बताए । ‘कम्तीमा ६ प्राविधिक हुनुपर्थ्यो, एउटा वडा पुगेर योजना अनुगमन गरी फर्कन चारपाँच दिन लाग्छ,’ उनले भने, ‘एक जना प्राविधिक छन्, कताकता भ्याउनु ।’ समायोजनका क्रममा उक्त गाउँपालिका कसैले नरोज्दा पनि कर्मचारी अभाव झेल्नुपरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘अहिलेसम्म जेनतेन चलेकै छ, यही अवस्था रहे काम रोकिन पनि सक्छ,’ उनले भने, ‘मन्त्रालयमा कति पटक गएर भन्यौं, कर्मचारी आउन पनि मान्दैनन् ।’


आठवटा वडा रहेको भीमसेन थापा गाउँपालिकामा पनि ३ मात्रै सचिव छन् । ‘अन्य शाखामा पनि कर्मचारी अभाव छ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले भने, ‘वडासचिव पर्याप्त नहुँदा कार्यसम्पादनमा समस्या छ, एक वडा सचिव तीनतिर कुद्नुपर्छ । जनप्रतिनिधिलाई पनि बोझ छ ।’ पञ्जीकरणका लागि स्थायी कर्मचारी हुनैपर्ने भएकाले एकै कर्मचारीलाई दुईभन्दा बढी वडाको जिम्मेवारी दिनुपर्ने बाध्यता छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?