ढुंगामै टेकेर वारपार

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामाथिको बेलिब्रिज बगाएपछि मनाङवासी जोखिम मोलेर हिँड्न बाध्य
आश गुरुङ

म्यार्दी, मनाङ — बाढीले क्षति पुर्‍याएको पुलको पिल्लर खण्डहर बनेको छ । नअडिने ढुंगामाथि पाइला अड्याएर बटुवा वारपार गरिरहेका छन् ।बेंसीसहरबाट मनाङतर्फ हिँडेको जिप बाटोमा पहिरो पन्छाउँदै म्यार्दी खोलाछेउ पुग्यो । हतार–हतार झरेर गन्तव्यमा लाग्दै गरेका यात्रु खोलामाथिको फडेमा तँछाडमछाड थिए । काठमाडौंबाट आफ्नो गाउँ मनाङ आएकी छ्युङदा गुरुङले आफैं तर्न नसक्दा बटुवाले तारिदिए ।

‘यस्तो विजोगले आउनु पर्‍यो । न खुट्टा टेक्ने ठाउँ नै छ, न समाउने कुनै हाँगो नै । झन्डै लडेर मरिएन’ उनले भनिन्, ‘आउन त आइयो, अब फर्कने कसरी ?’ बाढीले असार ८ गते लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामाथिको बेलिब्रिज बगाएपछि मनाङवासी जोखिम मोलेर हिँड्न बाध्य छन् ।

असार १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली निरीक्षणका लागि म्यार्दीखोला आएको बेला उनले पुल छिटो निर्माण गर्न निर्देशन दिँदै गर्दा भौतिक योजना विकास मन्त्री रामशरण बस्नेले २० दिनमा बेलिब्रिज हालेर सकिने दावी गरेका थिए । ‘२० दिन त के, ४० दिन भइसक्यो । जोखिम मोलेर कतिदिन हिँड्ने हो’ मनाङको नासों गाउँपालिका १, तालका मीनराशी गुरुङले भने, ‘खोला तर्न नसकेर कोही डुबेको छ, फडेबाट चिप्लिएर लडेका छन् । कसरी जोगाउने ?’ पुलका लागि कुनै पनि प्राविधिक काम सुरु नभएको नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले बताए ।

‘बेलिब्रिज २० दिनमा बनेन भने मलाई भन्नु होला भनेर मन्त्रीज्यूले भन्नुभएको थियो । खोइ त अहिलेसम्म बनेको ?’ उनले भने, ‘पुल बनाउने सुरसारै छैन ।’ मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङले पुल पुनर्निर्माणमा डिभिजन सडक कार्यालय र ठेकेदार कम्पनीले ढिलाइ गरेको बताए । ‘मान्छेले दुःख पाएको ठेकेदार र सडक कार्यालयले बुझेकै छैन । दैनिक के भयो, कसो भयो भनेर सोध्छु । हुन्छ, भइहाल्छ मात्रै भन्छ । अहिले आएर हेर्दा त जनताको विजोग,’ उनले भने । छिटो काम गर्न आग्रहपछि बल्ल सामान ल्याउन थालेको उनले बताए ।

डिभिजन सडक कार्यालय दमौलीका अनुसार बेलिब्रिज जडान कार्य यसअघि पुल निर्माण गरेको ग्याल्बा–द क्याराभान जेभीले गर्नेछ । पुरानै ठेक्का नसकिएकाले उनले नै उक्त पुल बनाउने र इन्सुरेन्स क्लेम गर्ने सडक कार्यालयले जनाएको छ । सडक कार्यालयका सब–इन्जिनियर हरिकुमार श्रेष्ठले बेलिब्रिज आउने क्रममा रहेको बताए । केही सामान म्यार्दी पुगेको र केही सामान रामबजार साथै बेंसीसहरमा रहेको उनले बताए । ‘पानी परेपछि सडकमा पहिरो जाने गर्नाले बेलिब्रिज पुर्‍याउन गाह्रो भएको छ । पहिले क्लोजिङको समय यतिकै भयो । बाटो खुलेको छ । अब बाटो खुल्दैछ, केही दिनमै सबै सामान पुग्छ ।’

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले समयमै पुल नबन्दा बर्खायामको समय हिमाली जिल्ला मनाङका बासिन्दाले सास्ती खेप्नु परेको बताए । ‘पुल नबन्दा आवतजावत जोखिमपूर्ण छ । सवारी साधन हिँड्न सकेका छैनन् । ढुवानीमा समस्या छ ।’ डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले पुल पुनर्निर्माण हुन धेरै समय नलाग्ने बताए ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपहाडीको काम ठप्प

अगन्धर तिवारी

पर्वत — निर्माणाधीन मध्यपहाडी (पुष्पलाल मार्ग) लोकमार्गको काम विगत करिब दुई महिनादेखि ठप्प छ । सडक फराकिलो पार्ने निहुँमा ठेकेदार कम्पनीले सबैतिर एक्साभेटर लगाउँदा पर्वत खण्डको दर्जनबढी स्थानमा पहिरो खसेको छ । मनसुनको कारण देखाउँदै असारयता काम रोकिंदा सडकमा परेका खाल्डाखुल्डी र पहिरोले यात्रा सकसपूर्ण बनेको छ ।

नयाँपुलदेखि मालढुङ्गासम्म करिब दुई दर्जन पहिराले सडक साँघुरो बनाएको छ । एकतर्फी सवारी चलाउन समेत मुस्किल छ । सडकमा परेका ठूल्ठूला खाल्डामा जमेको पानीमा साना सवारी चुर्लुम्मै डुब्छन् । खाल्डाखुल्डी र पहिरोमा जोगिएर यात्रा गर्न निकै जोखिमपूर्ण भएको सवारीचालक बताउँछन् । ‘जोखिम मोलेर पोखरा पुग्न निकै सास्ती छ,’ व्यवसायी कमल सुवेदीले भने, ‘यो पीडा कसले बुझिदिने ।’ कुनै बेला सडकमा हिंडदाहिंडदै खसेको पहिरोले घन्टौं रोकिनुपरेको उनले उनले बताए ।

पहिरो र खाल्टाखुल्टी पुर्न ठेकेदार कम्पनीले कुनै चासो देखाएको छैन । पर्वतखण्डको सडक दुई लेनको बनाउने गरी लामा कन्स्ट्रक्सनले ०७४ वैशाखमा ३ वर्षको समय लिएर आयोजनासँगसम्झौता गरेको थियो ।

सम्झौताअनुसार हालसम्म ७० प्रतिशत काम सकिनुपर्ने हो । तर, ठेकेदारको ढिलासुस्तीका कारण ५० प्रतिशत पनि काम नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको पर्वतस्थित कार्यालयका प्रमुख आशिष थापामगरका अनुसार वर्षाको कारण देखाएर निर्माण व्यवसायीले लापरबाही गरिरहेको छ । ‘न्यूनतम ट्राफिकिङ व्यवस्थापन सहज गराउन पटकपटक निर्देशन दिएका छौं,’ थापामगरले भने, ‘हाम्रो निर्देशन मानिएको अवस्था छैन ।’ पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन र उसका प्रतिनिधि केही समय सम्पर्कविहीन भएको उनले बताए ।

गत जेठदेखि काम रोकेर करिब एक महिनासम्म सम्पर्कविहीन भएको निर्माण कम्पनीका प्रतिनिधिलाई सम्पर्कमा ल्याएर काम सुरु गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार निर्माण व्यवसायीसँग सम्झौता गर्ने, कामको मूल्यांकन गर्ने, निगरानी गर्ने लगायतका निकाय अलग–अलग हुँदा कारबाही गर्न समस्या छ ।

‘सम्झौता गर्ने, आयोजना अगाडि बढाउने, बजेट निकासा गर्ने, फरक–फरक निकाय हुँदा हामीलाई कारबाही गर्न समस्या छ,’ नेपालले भनिन्, ‘पटकपटक भनेका छौं । धेरै ठाउँमा समस्या छ । व्यवसायीले टेर्दैनन् ।’ पर्वत खण्डको अम्बोट, चुवा र प्रहरी कार्यालयमा एक–एकवटा एक्साभेटर राख्न गरिएको आग्रह व्यवसायीले नटेरेको उनले बताइन् ।

सडकमा निर्माण व्यवसायीको ज्यादती भएकोबारे चौतर्फी गुनासो बढेपछि संघीय सांसद पदम गिरीले मंगलबारको संसद् बैठकमा यस विषयमा ध्यानाकर्षण गराएका छन् । सांसद गिरीले ठेकेदार कम्पनीको लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै त्यसको जिम्मेवार स्वयंकम्पनी हुनुपर्ने बताए ।

उनले लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न संसद् र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको बताए ।

निर्माण व्यवसायीले भने लगातारको झरीका कारण काम तीव्र गतिमा गर्न नसकिएको जनाएको छ । ‘मनसुनका बेला स्पीडमा काम गर्न नसकेकै हो,’ लामा कन्स्ट्रक्सनका पर्वत प्रतिनिधि गोविन्द भुसालले भने, ‘पहिरो र जोखिमको सडक व्यवस्थापन गरिराखेकै छौं ।’ उनले तत्कालको समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय, अम्बोट, लगायतका ठाउँमा मेसिन राखेर मर्मत गरिरहेको दाबी गरे ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्