ट्राफिक व्यवस्थापनमा कडाइ

कान्तिपुर संवाददाता

पर्वत — ट्राफिक प्रहरीले जथाभावी सवारी चलाउने, ट्राफिक नियम मिच्ने चालकलाई कारबाही तीव्र पारेको छ । गत आर्थिक वर्ष ट्राफिक कारबाहीमा करिब ५३ लाख राजस्व संकलन गरेको जनाएको छ । 

ट्राफिकले गत आर्थिक वर्ष २०७५/०७६ मा करिब ९ हजार सवारीमाथि कारबाही गरि ५२ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गरेका बस, ट्रक, ट्रिपर, कार, जिप, ट्रयाक्टर र मोटरसाइकलमाथि गरिएको कारबाहीबाट उक्तराजश्व सङ्कलन भएको हो ।

बाह्र महिनाको तथ्यांकलाई हेर्दा जेठ महिनामा सबैभन्दा बढी ७ लाख एक हजार पाँच सय रुपैयाँ राजस्व संकलन भयो । कारबाही पर्नेमा सबैभन्दा धेरै कार तथा जिप छन् । ट्राफिक व्यवस्थापनसँगै सवारी दुर्घटना कम गर्न ट्राफिकले ३ वर्षदेखि दैनिकजसो विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

ट्राफिक व्यवस्थापनमा सामुदायिक सेवा केन्द्र लगायत विभिन्न सामाजिक संस्थाले पनि सहकार्य गरेका छन् । ‘हामीले सचेतनामूलक कार्यक्रममा सहयात्रा गरेका छौं,’ सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिव सुवेदीले भने, ‘ट्राफिक र प्रहरीसँग विद्यालयमा गरेका कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ ।’

प्रकाशित : श्रावण २३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

हरियो तरकारी स्वदेशी

वर्षा सुरू भएपछि तराईमा तरकारी उत्पादन घटेको छ । पानी जम्ने, धेरै गर्मीले बाफिने तथा धेरै खेत धान रोप्न लगाउने भएकाले सधैंजसो वर्षामा तराईमा तरकारी उत्पादन घट्छ ।
अमृता अनमोल

बुटवल — अर्घाखाँचीको पाणिनि गाउँपालिका सिस्नेका किसान नारायण पौडेल र शालिकराम पौडेलले यस वर्ष पहिलोपटक वर्षे गोलभेडा लगाए । उनीहरूले उत्पादन गरेको गोलभेडा बुटवलका तरकारी व्यापारी जीवलाल पाण्डेले खरिद गर्छन् । उक्त गोलभेंडा थोकमा ७० रुपैयाँ प्रतिकिलो बिकेको छ ।

बिक्रीका लागि किसानले गाडी भाडाबापत प्रतिकिलो ५ रुपैयाँ र कमिसन ५ रुपैयाँ दिएका छन् । ‘पाल्पा, अर्घाखाँची, गुल्मी, सल्यानका ५० किसानको तरकारी यसैगरी किनेको छु,’ व्यापारी जीवलालले भने, ‘स्वदेशी तरकारीको बजार माग बढेपछि यसो गरेको हुँ ।’

पाल्पाको झडेवाका किसान शिव शर्माले व्यावसायिक खुर्सानी उत्पादन गरेका छन् । यसअघि सुकेर जाने खुर्सानी यसपटक बुटवल बजारमा आउन थालेको छ । खुर्सानी खरिद गरेबापत व्यापारीहरूले प्रतिकिलो ४ रुपैयाँ गाडी भाडा लिन्छन् । कमिसन १० रुपैयाँ राख्छन् । प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बेचेर अरू रकम उनैलाई फर्काइदिन्छन् । ‘यसअघि महँगो भनेर नाक खुम्च्याउने व्यापारी पनि अहिले खेतमै किन्न आएका छन्,’ शर्माले भने, ‘यसले काम गर्ने जाँगर पलाएको छ ।’

वर्षा सुरु भएपछि तराईमा तरकारी उत्पादन घटेको छ । पानी जम्ने, धेरै गर्मीले बाफिने तथा धेरै खेत धान रोप्न लगाउने भएकाले सधैंजसो वर्षामा तराईमा तरकारी उत्पादन घटछ । यसअघिका वर्षमा यस सिजनमा सबैभन्दा धेरै तरकारी भारतीय बजारबाट आउने गर्थ्यो । यसपटक भने बुटवल बजारको कृषि उपज तथा थोक बजार केन्द्रमा स्वदेशी तरकारीको मात्रै कारोबार छ । विषादी परीक्षण गरेर मात्रै स्वदेश भित्र्याउन पाउने झन्झटका कारण व्यापारीहरू भारतीय तरकारी ल्याउन चाहन्नन् ।

सट्टामा पहाडका गाउँगाउँमा गएर तरकारी खरिद गर्न थालेका छन् । यसले गर्दा स्वदेशी उत्पादनले बजार माग धानेको हो । ‘बजारभरि स्वदेशी तरकारीको कारोबार भएको छ । वर्षामा खेर जाने तरकारीले पनि यस वर्ष बजार पाएको छ,’ कृषि उपज केन्द्रका तरकारी थोक व्यापारी गौतम अग्रहरिले भने, ‘यसअघि नआउने गाउँबाट पनि यस सिजनमा नियमित तरकारी पठाएका छन् ।’ कृषि थोक बजारमा नगन्य मात्रामा गोलभेंडाबाहेक अरू भारतीय तरकारी नरहेको उनले दाबी गरे ।

बुटवलको थोक बजार केन्द्रबाट दैनिक ३ करोडको तरकारी तथा फलफूल कारोबार हुन्छ । त्यसमध्ये करिब १ अर्बको हरियो तरकारीको कारोबार हुन्छ । नियमित रूपमा रूपन्देहीसहित कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, दाङ, स्याङ्जा, धादिङ, मकवानपुर, सल्यान र काभ्रे जिल्लाबाट आउँछ ।

सिजनअनुसार भने देशका ६० जिल्लाबाट हरियो तरकारी आयात हुन्छ । त्यसलाई विभिन्न ४५ जिल्लामा निर्यात गरिन्छ । कृषि उपज तथा थोक बजार केन्द्रका व्यवस्थापक रामबहादुर खत्रीका अनुसार अघिल्लो वर्षसम्म २० प्रतिशत हरियो तरकारी भारतबाट आउँथ्यो ।

स्वदेशी उत्पादनले बजार माग नधानेपछि बर्खायाममा ५० प्रतिशतसम्म तरकारी भारतबाटै ल्याउनुपर्ने बाध्यता थियो । ‘यसपटक बर्खामै भारतीय तरकारी आएन,’ उनले भने, ‘अब यो बजारमा भारतीय हरियो तरकारी निषेध नै गरे पनि बजार माग धानिने पुष्टि भएको छ ।’

लुम्बिनी फलफूल तथा तरकारी व्यापारी संघका अनुसार बुटवलमा करिब एक सय तरकारीका थोक व्यापारी छन् । उनीहरूले बर्खाको माग धान्न अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, रोल्पा, रुकुम, प्यूठान, सल्यान र मकवानपुरका गाउँ–गाउँबाट हरियो तरकारी ल्याएका छन् ।

संघका अध्यक्ष केशव कुँवरले त्यहाँका किसान तथा कृषि सहकारी संस्थासमेत उत्साहित भएर आफैं पनि तरकारी बिक्री गर्न आएको बताए । ‘खेतबारीमा खेर जाने तरकारी बेच्न पाउँदा किसान पनि खुसी छन्,’ उनले भने, ‘भारतीय बजारबाट आउनेभन्दा पहाडको उत्पादन ताजा र स्वादिलो हुने रहेछ । उपभोक्ताले रुचाएका छन् । हामीलाई पनि कारोबारमा सहज भएको छ ।’

पछिल्लो समयमा गाउँ–गाउँमा सहकारी संस्था खुलेका छन् । व्यावसायिक रूपमा तरकारी खेती गर्ने र सहकारीमार्फत बिक्री गर्ने प्रचलन बढेको छ । यसले पनि स्वदेशी तरकारी आयातमा सहज भएको छ । ‘सरकारले किसानलाई सिंचाइ र व्यापारीलाई सहज ढुवानीको व्यवस्था मिलाइदिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, ‘त्यसो भएमा हरियो तरकारी भारतबाट ल्याउनु पर्दैन ।’

प्रकाशित : श्रावण २३, २०७६ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्