होमस्टेले थारू बस्तीमा समृद्धि

नारायण शर्मा

नवलपरासी — कावासोतीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको अमलटारी थारू होमस्टेले थारू समुदायको .जीवनमा कायापलट भएको छ । उत्कृष्ट व्यवस्थापनवाट स्थानीयको जीवनयापन आर्थिक समृद्धितर्फ लम्कँदै छ । दैनिकी फेरिएको छ । २४ सै घण्टा बेफुर्सदिला छन् । आर्थिक रूपले ठूलै फड्को मारेका छन् घरमै बसेर । 

‘वनजंगल र वन्यजन्तुको संरक्षण गर्ने र करोडौं लगानी गर्नेले व्यवसाय गरेर नाफा कमाउने भन्ने सोच्थ्यौं,’ होमस्टे सञ्चालक नरबहादुर महतो भन्छन, ‘यहाँका ठूला होटलका हात्ती चराउने, कपडा धुने, सागसब्जी किन्न जाने, होटल सफाइमा काम गर्दैमा एउटा पुस्ता बित्यो । अनि हामीले पनि केही गर्नुपर्छ भन्ने लाग्यो र समुदायले २०७० सालमा होमस्टेको काम थाल्यौं ।’

अनुभव थिएन । बर्दियाको डल्लामा सञ्चालित होमस्टे व्यवस्थापन हेर्न गयौं । त्यहाँको अनुभव सिकेर यहाँ थालिएको उनले बताए । अहिले देशभरिबाट हाम्रो अनुभव सिक्न आउँछन् । हरेक साताजस्तो विभिन्न तालिम, सेमिनार, गोष्ठीका कार्यक्रम लिएर आउँछन् र यहाँको आनन्द लिएर फर्किने स्थानीयको भनाइ छ ।

पारिवारिक र समुदायका विभिन्न गतिविधिमा संलग्नको समूह बढी आउनेमा पर्छन् । पछिल्लो पटक सामुदायिक वन, आमा समूह, स्थानीय तह, स्कुल, कलेजका समूहबाट महिनौं अघि बुकिङ हुने गर्छ । यहाँ थारू समुदायका २१ र बोटे समुदायका ३ होमस्टे छन् । हरेक घरमा २/२ कोठा (४ बेड) को होमस्टे छ । लोकल परिकार माछा, हाँस, कुखुरा, स्थानीय तरकारी, घोगी, चिचर मकै प्रख्यात छ । यहाँ आउनेहरूले उच्च तहका होटलको बसाइ र खानपिनको अपेक्षा गर्दैनन् । खाना घरमै भुइँमा गुन्द्रीमाबसेर खाने चलन छ ।

कोठाको ६ सय, सादा खानाको एक सय ३० र मासुभात २ सय ५० लिइन्छ । थारू, बोटे, माझी र मुसहर समुदायको सांस्कृतिक कार्यक्रम देखाइन्छ ।

यहाँ आउनुको अर्को मुख्य आकर्षण छेवैमा रहेको मध्यवर्ती सामुदायिक वन जंगल र वन्यजन्तु हेर्न नै हो । होमस्टेसँगै दक्षिणतर्फ जोडिएको मध्यवर्तीमा देखिने प्राकृतिक मनोरम र वन्यजन्तु अवलोकनको आकर्षणले बर्सेनि विदेशी पर्यटकको चाप पनि बढ्दो छ । हात्ती चढेर जंगल घुम्ने, गाडामा जंगल हेर्न, पैदलमार्ग, जिप सफारी मुख्य आकर्षण रहेका छन् ।

यहाँको गुन्द्रही ढकाह मध्यवर्ती, नमुना मध्यवर्ती, कृष्णसार मध्यवर्ती सामुदायिक वन र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनले धेरैलाई लोभ्याउने गरेको छ । गैंडा, हरिण, चित्तल, चराचुरुंगी, बाघ, भालु देख्न पाइन्छ । एउटौ थलोमा २३ वटासम्म गैंडा फेला पारेको सम्झिन्छन् होमस्टेका व्यवस्थापक धनीराम महतो ।

ती सबै वन चितवन निकुञ्जसँग जोडिएको र नारायणी नदीको किनारमा रहेकाले धेरैको मन लोभिने गरेको छ । होमस्टेको बसाइ शान्त, मनोरम र थारू संस्कृतिसँग जोडिएकाले यहाँको आनन्द अन्यत्र अनुभूति गर्न नसकिने व्यवस्थापक धनीरामको भनाइ छ । त्यसो त यहाँ होमस्टे सञ्चालन भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या नगन्य छ । गएका पनि फर्किएर होमस्टे व्यवस्थापनमा रमाउने गरेका छन् ।

मासिक कम्तीमा २५ हजारदेखि ४५ हजारसम्म हरेक घरको कमाइ हुन्छ । पर्यटकको स्वागत सत्कारमै दिन बित्ने गरेको छ । नयाँ अनुहारका व्यक्ति गाउँमा देखिँदा घरभित्र पस्ने यहाँका महिला फूलमाला र अबिर लिएर पाहुनाको स्वागतमा खटिन्छन् । घरघरमै कस्ले धेरै हाँस, कुखुरा हुर्काउने र अर्गानिक तरकारी आफैं फलाउने भन्ने होड छ ।

पैसा बचतले हरेकको घरव्यवहार सजिलो भएको छ । ऋणका लागि ३ लाखसम्म बिनाधितो आफनै हमार दिगो विकास सहकारीबाट पाउँछन । पाहुना आफूखुसी रोजेर बस्न पाउँदैनन् । घरघरै पालैपालो बस्नुपर्छ । आम्दानी समूहमा जान्छ र महिनाको अन्तमा दामासाहीले भाग लगाइन्छ ।

५ वर्षको अवधिमा यहाँको होमस्टेमा ६० हजार ५ सय २१ पाहुना बसेका छन् । विदेशीहरू पनि ६ हजारको संख्यामा आएका छन् । यसबाट ६ करोड ९४ लाख ४० हजार ९ सय १ रुपैयाँको कारोबार भएको छ । ‘हरेक दिन बुकिङ आउँछ, छैन भनेर रद्द गर्नुपर्ने बाध्यता छ,’ धनीराम भन्छन् ।

यहाँ आउनेले नै सन्तुष्ट भएको जानकारी दिने गरेका छन् । उनि भन्छन्, ‘यहाँ आउने पाहुनाहरूको सुविधाका लागि एउटै मोडेलको घर, बास र खानेकुराको साझेदारीका लागि आचारसंहिता बनाउँदै छौं ।’ महेन्द्र राजमार्गको नारायणगढबाट ३२ किलोमिटर पश्चिममा कावासोती पर्छ । त्यहाँको डन्डा बजारबाट ७ किलोमिटर दक्षिणमा अमलटारी मध्यवर्ती होमस्टे पर्छ । देशभरिमा सञ्चालित होमस्टेमध्ये यो गत वर्ष उत्कृष्ट बन्न सफल भएको छ ।

होमस्टेका परिकल्पनाकार प्रेमशंकर मदर्निया कावासोती नगरपालिकाको उपमेयर छन् । उनी हरेक रात होमस्टेमा आयोजना हुने सांस्कृतिक रमझमको संयोजक र कुशल कलाकार पनि हुन् । उनैले यहाँका अन्य बोटे, माझी र मुसहर बस्तीमा होमस्टे सञ्चालन गर्ने गरी काम अघि बढाएका छन् ।

विपन्नको जीवनस्तर सुधार्न विदेश जाने होइन यहीं केही गर्नुपर्छ भन्ने सन्देश दिन मर्दनिया आफैंले होमस्टेको कल्पना गरेर आफ्नै गाउँमा यो लहर सुरु गरेका हुन् । त्यसैको सिको गर्दै नवलपरासीका अन्य ४ स्थानमा होमस्टे सञ्चालनको तैयारी भैरहेको छ । ती सबैमा मर्दनियाले तालिम, प्रशिक्षण र सरसल्लाह दिँदै आएका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

गाउँ सहर सफाइ

गाउँमा आमा समूह, युवा क्लब, बाल क्लब, बाबा समूह सबै गाउँको सामाजिक कार्यमा
आश गुरुङ

लमजुङ — गाउँमा फोहोर हुँदै गएपछि बेंसीसहर नगरपालिका–३ गाउँसहर थुम्काडाँडाका कथित दलित समुदाय यसको व्यवस्थापनमा जुटेका छन् ।

उनीहरूले घरघरमै फोहोर राख्ने भाँडा (डस्टबिन) को व्यवस्थापन गरी कुहिने र नकुहिने छुट्याउन थालेका छन् । नकुहिनेलाई खाडलमा व्यवस्थापन गरी कुहिनेलाई मलको रूपमा प्रयोग गर्छन । नकुहिनेलाई पनि प्लास्टिकजन्य, सिसाजन्य र फलामजन्यलाई छुट्याएर व्यवस्थापन गर्ने गरेका छन् ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल गाउँसहरको नजिकै पर्ने थुम्काडाँडामा मजाकोटी, मौरती, दुलाल, मालुवा, बसेल, गोतामे, परेललगायत दलित समुदायको बसोबास छ । बानिया र देउजाका ८ घर गैरदलितबाहेक सबै दलित समुदाय रहेको स्थानीय अगुवा एवं बेंसीसहर नगरकार्यपालिका सदस्य अजय मजाकोटीले बताए । गाउँमा ७२ घर छन् । ‘पहिले कोही आए पनि कति फोहोर भन्ने गर्थे । अहिले कति सफारहेछ भन्ने गरेका छन्,’ उनले भने ।
थुम्काडाँडामा दलित समुदायका २ घरले होमस्टे चलाएका छन् । ६ घरको भौतिक पूर्वाधार निर्माण भइरहेको छ । १० घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । गण्डकी प्रदेश सरकारले दिएको १० लाख रुपैयाँबाट स्थानीयले गाउँसम्म जाने सिँढी निर्माण गरेका छन् । ‘हामी सरसफाइ, सचेतना र विकासका लागि अघि बढेका छौं,’ मजाकोटीले भने, ‘हिजोको जस्तो अवस्था रहेन । हामी युवा अझै पनि गाउँमै बस्छौं । गाउँकै विकासका लागि एकजुट भएका छौं ।’

उनीहरूले गाउँमै संग्रहालयसमेत स्थापना गरेका छन् । फोहोर व्यवस्थापनका लागि उनीहरूले दसैंमा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रम र तिहारको देउसीभैलो कार्यक्रमबाट उठेको रकम उपयोग गरेका छन् । गाउँकै जनज्योति युवा क्लबले घरघरै डस्टबिनको व्यवस्था गरेको हो ।

विभिन्न सामाजिक काममा सक्रिय क्लबले गाउँलाई सफा, स्वस्च्छ र वातावरणमैत्री बनाउन गाउँका ७२ घरलाई डस्टबिन दिइएको क्लबका अध्यक्ष सञ्जय दुलालले बताए । उनका अनुसार सांस्कृतिक कार्यक्रमबाट संकलित ५८ हजार रुपैयाँ डस्टबिनका लागि खर्च गरिएको छ ।

गाउँमा आमा समूह, युवा क्लब, बाल क्लब, बाबा समूह सबै गाउँको सामाजिक कार्यमा लागेको दुलालले बताए । उनीहरूले देउसीभैलो तथा सास्कृतिक कार्यक्रम गरेर संकलन भएको रकमबाट गोरेटो बाटो निर्माण गरेका छन् । खेलकुद मैदान निर्माण, आर्थिक समस्या भएकालाई सहयोग, रोटेपिङ संरक्षणलगायत काम गर्दै आएको उनले बताए । ‘हामीले हरेक साता सरसफाइ गर्छौं । गाउँले सबैले साथ दिएका छन्,’ उनले भने ।

‘गाउँसहर नामैले पनि चर्चित छ । यहाँ पर्यटक आउँछन् । गाउँघर फोहोर देख्दा पर्यटकसामु हामीलाई पनि लाज लाग्यो । त्यसैले युवा जुर्मुराएका हौं,’ उनले भने । गाउँको सरसफाइले पर्यटक पनिआकर्षित भएको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्