कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गाउँ सहर सफाइ

गाउँमा आमा समूह, युवा क्लब, बाल क्लब, बाबा समूह सबै गाउँको सामाजिक कार्यमा
आश गुरुङ

लमजुङ — गाउँमा फोहोर हुँदै गएपछि बेंसीसहर नगरपालिका–३ गाउँसहर थुम्काडाँडाका कथित दलित समुदाय यसको व्यवस्थापनमा जुटेका छन् ।

गाउँ सहर सफाइ

उनीहरूले घरघरमै फोहोर राख्ने भाँडा (डस्टबिन) को व्यवस्थापन गरी कुहिने र नकुहिने छुट्याउन थालेका छन् । नकुहिनेलाई खाडलमा व्यवस्थापन गरी कुहिनेलाई मलको रूपमा प्रयोग गर्छन । नकुहिनेलाई पनि प्लास्टिकजन्य, सिसाजन्य र फलामजन्यलाई छुट्याएर व्यवस्थापन गर्ने गरेका छन् ।


ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल गाउँसहरको नजिकै पर्ने थुम्काडाँडामा मजाकोटी, मौरती, दुलाल, मालुवा, बसेल, गोतामे, परेललगायत दलित समुदायको बसोबास छ । बानिया र देउजाका ८ घर गैरदलितबाहेक सबै दलित समुदाय रहेको स्थानीय अगुवा एवं बेंसीसहर नगरकार्यपालिका सदस्य अजय मजाकोटीले बताए । गाउँमा ७२ घर छन् । ‘पहिले कोही आए पनि कति फोहोर भन्ने गर्थे । अहिले कति सफा रहेछ भन्ने गरेका छन्,’ उनले भने ।

थुम्काडाँडामा दलित समुदायका २ घरले होमस्टे चलाएका छन् । ६ घरको भौतिक पूर्वाधार निर्माण भइरहेको छ । १० घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । गण्डकी प्रदेश सरकारले दिएको १० लाख रुपैयाँबाट स्थानीयले गाउँसम्म जाने सिँढी निर्माण गरेका छन् । ‘हामी सरसफाइ, सचेतना र विकासका लागि अघि बढेका छौं,’ मजाकोटीले भने, ‘हिजोको जस्तो अवस्था रहेन । हामी युवा अझै पनि गाउँमै बस्छौं । गाउँकै विकासका लागि एकजुट भएका छौं ।’


उनीहरूले गाउँमै संग्रहालयसमेत स्थापना गरेका छन् । फोहोर व्यवस्थापनका लागि उनीहरूले दसैंमा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रम र तिहारको देउसीभैलो कार्यक्रमबाट उठेको रकम उपयोग गरेका छन् । गाउँकै जनज्योति युवा क्लबले घरघरै डस्टबिनको व्यवस्था गरेको हो ।


विभिन्न सामाजिक काममा सक्रिय क्लबले गाउँलाई सफा, स्वस्च्छ र वातावरणमैत्री बनाउन गाउँका ७२ घरलाई डस्टबिन दिइएको क्लबका अध्यक्ष सञ्जय दुलालले बताए । उनका अनुसार सांस्कृतिक कार्यक्रमबाट संकलित ५८ हजार रुपैयाँ डस्टबिनका लागि खर्च गरिएको छ ।


गाउँमा आमा समूह, युवा क्लब, बाल क्लब, बाबा समूह सबै गाउँको सामाजिक कार्यमा लागेको दुलालले बताए । उनीहरूले देउसीभैलो तथा सास्कृतिक कार्यक्रम गरेर संकलन भएको रकमबाट गोरेटो बाटो निर्माण गरेका छन् । खेलकुद मैदान निर्माण, आर्थिक समस्या भएकालाई सहयोग, रोटेपिङ संरक्षणलगायत काम गर्दै आएको उनले बताए । ‘हामीले हरेक साता सरसफाइ गर्छौं । गाउँले सबैले साथ दिएका छन्,’ उनले भने ।


‘गाउँसहर नामैले पनि चर्चित छ । यहाँ पर्यटक आउँछन् । गाउँघर फोहोर देख्दा पर्यटकसामु हामीलाई पनि लाज लाग्यो । त्यसैले युवा जुर्मुराएका हौं,’ उनले भने । गाउँको सरसफाइले पर्यटक पनि आकर्षित भएको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?