बेनी–जोमसोम सडकमा अवरोध

घनश्याम खड्का

म्याग्दी — गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको हालै स्थलगत अनुगमनबाट फर्केर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मातहत निकायलाई नोट जारी गरे, ‘बेनी–जोमसोम सडकमा रिपोटिङजस्तो काम भएको छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री तथा विभागीय मन्त्रीले ‘चासो’ नदिएको भन्दै गुनासो गरेका थिए ।

कोरला नाका खोल्न सबै तर्फ हतारो र बेनी–जोमसोम–कोरला सडकको काम तीव्र पार्न सर्वत्र दबाब भैरहँदा निर्माण जिम्मा लिएको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक निर्माण गर्न स्थानीयवासीबाट उल्लेख्य सहयोग पाएको आयोजनाले प्राविधिक बाधा आएको जनाएको छ ।

‘ठेक्काको रनिङ म्यादभित्रै काम सम्पन्न गर्न लागेका छौं । तर केही प्राविधिक पक्ष जटिल र पेचिला भएका छन् । नीतिगत रूपमै सुल्झाउनुपर्ने, केही स्थानमा नयाँ संरचना बनाउनुपर्ने आवश्यकता देखिएका छन्,’ सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले भने, ‘विद्युत् प्राधिकरले हदै असहयोग गरेको छ । सबै क्षेत्रबाट जुटेकै छौं । ठेकदारलाई पनि काममा लगाएकै छौं ।’

आयोजनाका अनुसार बेनी–जोमसोम–कोरला १ सय ८४ किलोमिटर सडकमा २ सयभन्दा बढी बिजुलीका पोल छन । सडकको बीचमा परेका पोल नहटाई कामको फिनिसिङ गर्न सकिन्न । पोल हटाउन प्राधिकरण तयार भएको छैन । राहुघाट जलविद्युत् आयोजनाले ३० मिटर सडक अतिक्रमण गरी स्थायी संरचना बनाउन थालेपछि काममा बाधा पुगेको छ ।

‘प्राधिकरणका तारपोल हटाउने र बेनीदेखि ३ किमि उत्तर गलेश्वरमा निर्माणाधीन रहुघाट जलविद्युत्ले पावरहाउस बनाउन सडक पूरै अतिक्रमण गरी बाङ्गो पारिदिएको छ । यी विषयमा हाम्रो तहबाट मात्र सुल्झाउन गाह्रो भएकाले मन्त्रिपरिषद्बाटै नीतिगत निकास दिन आवश्यक छ,’ अधिकारीले भने, ‘काम भएको छ तर फिनिसिरू गर्न हेर्दा झिनामसिना लागे पनि नीतिगत रूपमै सुल्झाउनुपर्ने जटिलताले कार्य प्रगतिमा बाधा पुर्‍याएको छ ।’

सडक खण्डमा पर्ने अन्नपूर्ण गाउँपालिका–३ दानाको तितर, गुइँठे क्षेत्रमा तल सडक विस्तार गर्न कान्ला खन्दा पहिरो चलेको र बस्ती जोखिममा परेपछि पहिरो नियन्त्रण गर्नुपर्ने अर्को काम थपिएको छ । सडकको तीन स्थानमा यस्तो पहिरोको जोखिम छ । सडक निर्माण गर्ने बजेट भए पनि ठूला र दीर्घकालीन पहिरोको समस्या आएकाले पहिरो रोकथामको छुट्टै नयाँ प्रोजेक्ट आवश्यक छ ।

त्यसैगरी रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा ३ वर्षअघि बाढीले बेलिब्रिजसहित ५० मिटर सडक बगाएको थियो । सो स्थानमा सडक सतहभन्दा खोला माथि उठेकाले पुलको डिजाइनै फेर्नुपर्ने भएको छ । टिमुरे, भीरकाटे, बाँदरजुँग भीरमा कालीगण्डकी नदी जोडिएकाले सडक विस्तार गर्न समस्या भएको छ । हाल अर्धसुरुङ खालको ट्र्याक छ ।

मापदण्डअनुसारको सडक विस्तार गर्दा धेरै अग्लो पहाड फोड्नुपर्छ । विस्फोटक पदार्थ प्रयोग गरी पहरा फोड्दा तल कालीगण्डकी नदी थुनिने जोखिम पनि उत्तिकै छ । ‘ब्लास्टिङ गरी पहरा फोडेपछि निक्लेको ढुंगा झिकेर सुरक्षित स्थानमा लैजानुपर्छ । नभए नदी थुनिने जोखिम रहन्छ,’ इन्जिनियर जगत प्रजापतिले भने, ‘टनेल वा विस्फोटनको मोडेलमा विभागमा छलफलपछि विस्फोटनमा जाने करिब टुङ्गो भएको छ । सम्भवतः मनसुन रोकिएपछि काम सुरु गर्छौं ।’

०७६ मंसिरमा सम्पन्न हुनुपर्ने ७ मिटर पिचसहित ११ मिटर चौडास्तरको सडकको प्रगति माथिल्लो खण्डमा ८० र तल्लो खण्डमा ४८ प्रतिशत मात्रै भएको छ । बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमि सडकलाई ११ प्याकेजमा सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक निर्माण गर्न ५ अर्ब लागत अनुमान गरिएको छ ।

सडकको म्याग्दी खण्डमा बढी भीरपहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गर्न थालिएको छ । यसले प्रगति छिटो देखिने
आयोजनाको दाबी छ ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

आमा समूहको सक्रियतामा मोटरबाटो

कान्तिपुर संवाददाता

तनहुँ — भिमाद नगरपालिका–९ ठामडाँडामा रहेको नवजागृति आमा समूहले करिब २ किलोमिटर मोटरबाटो बनाएको छ । समूहले देउसीभैलो र पूजाआजामा रमाइलो गरेर संकलन गरेको पैसाले भिमाद–८ काफलडाँडादेखि भिमाद–९ शमिभञ्ज्याङ हुँदै ठामडाँडासम्म मोटरबाटो बनाएको हो । 

आमा समूहकी अध्यक्ष पुतली गुरुङले २०७३ फागुनदेखि मोटरबाटो निर्माणको काम थालिएको बताइन् । ‘वडा कार्यालयले उपलब्ध गराएको २ ह्युमपाइप र १८ थान जाली गुटेखोला र कमेरो खोलामा राखेका छौं,’ उनले भनिन्, ‘बाटो निर्माणमा ७ दिनसम्म करिब ३७ जनाले जनश्रमदान गरेका छौं ।’

मोटरबाटो नहुँदा गाउँलेले पाएको दुःख देखेर डोजर लगाएर बाटो खन्ने आँट गरेको तर समूहमा पर्याप्त पैसा नहुँदा चन्दा उठाउँदै पैसा संकलन गर्न समय लागेको उनले बताइन् । पैसा जम्मा भएपछि बल्ल काम सुरु गरिएको र ढिलै भए पनि बाटो बनेको उनले बताइन् ।

गाउँमा बाटो नहुँदा कोही विरामी हुँदासमेत जरेबरसम्म बोकेर झार्नुपर्ने बाध्यता थियो । ‘भूगोलले पायक नपरेको ठाउँ भएर होला सरकारको पनि त्यति ध्यान परेन,’ उनले भनिन् ‘हुन त सरकारले कहाँकहाँ हेर्छ र, त्यहि भएर हामी आफैं बाटो बनाउन जुट्यौ ।’ मोटरबाटो सञ्चालनमा आएपछि सबै खुसी छन् । ‘मोटरबाटो निर्माण भएर साना सवारी साधन पनि चलेका छन्,’ कोषाध्यक्ष बन्दना थापाले भनिन्, ‘बजेटको अभावले नाला निर्माण गरिएको छैन । बर्खाको बाढी र पहिरोले बाटो बिगारेको छ, अब बाटो मर्मत सम्भारको काम वडाले गर्ने वडाध्यक्षले प्रतिबद्धता गर्नुभएको छ ।’ मोटरबाटो निर्माणको क्रममा ६ लाख ९५ हजार ४ सय ३० रुपैयाँ खर्च भएको थापाले बताइन् ।

बाटो निर्माण भएपछि आवतजावत गर्न, मालसमान ओसारपसार गर्न र बिरामी पर्दा सहजै गाउँमै एम्बुलेन्स बोलाएर अस्पताल लैजान सहज भएको स्थानीय श्रीप्रसाद गुरुङले बताए । ‘बाटो नहुँदा साह्रै गाह्रो थियो, अहिले आमा समूहको नेतृत्वमा बाटो बनेर आवातजावतमा सहज भएको छ,’ उनले भने ।

मोटरमार्ग खुलेपछि गाउँमा उत्पादित कृषिउपज बजारसम्म सहज रूपले लैजान सकिने अवस्था रहेको स्थानीय मीनबहादुर
गुरुङ बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्