आमा समूहको सक्रियतामा मोटरबाटो

कान्तिपुर संवाददाता

तनहुँ — भिमाद नगरपालिका–९ ठामडाँडामा रहेको नवजागृति आमा समूहले करिब २ किलोमिटर मोटरबाटो बनाएको छ । समूहले देउसीभैलो र पूजाआजामा रमाइलो गरेर संकलन गरेको पैसाले भिमाद–८ काफलडाँडादेखि भिमाद–९ शमिभञ्ज्याङ हुँदै ठामडाँडासम्म मोटरबाटो बनाएको हो । 

आमा समूहकी अध्यक्ष पुतली गुरुङले २०७३ फागुनदेखि मोटरबाटो निर्माणको काम थालिएको बताइन् । ‘वडा कार्यालयले उपलब्ध गराएको २ ह्युमपाइप र १८ थान जाली गुटेखोला र कमेरो खोलामा राखेका छौं,’ उनले भनिन्, ‘बाटो निर्माणमा ७ दिनसम्म करिब ३७ जनाले जनश्रमदान गरेका छौं ।’

मोटरबाटो नहुँदा गाउँलेले पाएको दुःख देखेर डोजर लगाएर बाटो खन्ने आँट गरेको तर समूहमा पर्याप्त पैसा नहुँदा चन्दा उठाउँदै पैसा संकलन गर्न समय लागेको उनले बताइन् । पैसा जम्मा भएपछि बल्ल काम सुरु गरिएको र ढिलै भए पनि बाटो बनेको उनले बताइन् ।

गाउँमा बाटो नहुँदा कोही विरामी हुँदासमेत जरेबरसम्म बोकेर झार्नुपर्ने बाध्यता थियो । ‘भूगोलले पायक नपरेको ठाउँ भएर होला सरकारको पनि त्यति ध्यान परेन,’ उनले भनिन् ‘हुन त सरकारले कहाँकहाँ हेर्छ र, त्यहि भएर हामी आफैं बाटो बनाउन जुट्यौ ।’ मोटरबाटो सञ्चालनमा आएपछि सबै खुसी छन् । ‘मोटरबाटो निर्माण भएर साना सवारी साधन पनि चलेका छन्,’ कोषाध्यक्ष बन्दना थापाले भनिन्, ‘बजेटको अभावले नाला निर्माण गरिएको छैन । बर्खाको बाढी र पहिरोले बाटो बिगारेको छ, अब बाटो मर्मत सम्भारको काम वडाले गर्ने वडाध्यक्षले प्रतिबद्धता गर्नुभएको छ ।’ मोटरबाटो निर्माणको क्रममा ६ लाख ९५ हजार ४ सय ३० रुपैयाँ खर्च भएको थापाले बताइन् ।

बाटो निर्माण भएपछि आवतजावत गर्न, मालसमान ओसारपसार गर्न र बिरामी पर्दा सहजै गाउँमै एम्बुलेन्स बोलाएर अस्पताल लैजान सहज भएको स्थानीय श्रीप्रसाद गुरुङले बताए । ‘बाटो नहुँदा साह्रै गाह्रो थियो, अहिले आमा समूहको नेतृत्वमा बाटो बनेर आवातजावतमा सहज भएको छ,’ उनले भने ।

मोटरमार्ग खुलेपछि गाउँमा उत्पादित कृषिउपज बजारसम्म सहज रूपले लैजान सकिने अवस्था रहेको स्थानीय मीनबहादुर
गुरुङ बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

गाउँ नै जोखिममा रहेको भूगर्भविद्को निष्कर्ष

घनश्याम गौतम

रूपन्देही — गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले औंल्याएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको औंल्याएको हो । 

गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकको थुम्का गाउँको तलपट्टिबाट गएको पहिरो र माथिपट्टि रहेको गाउँ । तस्बिर : घनश्याम/कान्तिपुर

विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर अध्ययन गरिरहेको छ । कमजोर चट्टान, अव्यवस्थित सडक निर्माण, स्लोप जमिन रहेकाले बस्ती जोखिमपूर्ण रहेको टोलीले जनाएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा प्रभावित क्षेत्रमा शुक्रबार टोली पुगेको थियो । मंगलबारदेखि वडा ४ लिम्घामा अध्ययन गर्ने जनाएको छ ।

‘गाउँअनुसार फरक–फरक कारण देखिएका छन्,’ टोलीमा संलग्न आचार्यले भने, ‘पहाडको स्लोप जता फर्केको छ, त्यतै चट्टान फर्किएको देखियो । जुन पहिरोका लागि बढी र सधैंको जोखिमपूर्ण भूगोल हो ।’ लुम्पेकका धेरै बस्ती र जंगल क्षेत्रसमेत सामान्य पानीले बग्ने खालको कमजोर माटो र कमजोर चट्टान रहेको उनले बताए । ‘त्यस्तोमा अझ बढी जोखिम हुन्छ,’ उनले भने, ‘यहाँका धेरै बस्ती त्यस्तै स्थानमै छन् ।’ त्यस्ता बस्ती स्थानान्तरण गर्नुपर्ने टोलीको सुझाव छ । तीन दिनमा लुम्पेकका पल्लोखोला, गेजाकोट डाँडा, कसिङथलामा अध्ययन सकेको छ । पहिरोले बढी प्रभावित सिङदी, थुम्का, जसकोट, ढुंगा चाल्नेलगायत बस्तीमा अध्ययन हुँदैछ ।

पहिरोका कारण ठुलोलुम्पेकमा ३ सय ७१ विस्थापित भएका थिए भने ५ को ज्यान गएको थियो । वडाध्यक्ष रुकबहादुर रानाका अनुसार अध्ययन टोलीले अध्ययन सकेका बस्ती जोखिमपूर्ण देखिएको बताए । ‘पहिरो नगएको क्षेत्रसमेत जोखिमपूर्ण देखियो,’ उनले भने, ‘पहिरो क्षेत्रमा त समस्या छँदै छ ।’

पानी पर्न नरोकिएकाले विस्थापितको बसाइँ व्यवस्थान जटिल बन्दै गएको उनले सुनाए । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालका अनुसार लुम्पेकमा अहिलेसम्म १६ वटा टहरा निर्माण गरेर ४० परिवारलाई व्यवस्थापन गरिएको छ । अझै ३ सय बढी परिवार स्थानीय धर्मपुर माविमा छन् । ‘केही परिवार जोखिम भए पनि आफ्नै घरमा बस्न थालेका छन्,’ उनले भने, ‘घर नजिक धेरै पहिरा गएकाले हामीले अझै बस्नूस् भन्न सक्ने अवस्था छैन ।’ पहिरोपीडितका लागि राहत संकलनबाट ठूलै सहयोग पुगेको भए पनि विस्थापितको बसाइँ व्यवस्थापन चुनौतीबन्दै गएको उनले बताए ।

सत्यवतीका लुम्पेक र लिम्घाका पहिरोपीडित र प्रभावितका लागि विभिन्न क्षेत्रबाट अहिलेसम्म ३२ लाख रुपैयाँ राहत संकलन भएको छ । त्यसबाहेक अन्य खाद्यान्न, लत्ताकपडा पनि संकलन भएको छ । गाउँपालिकाले पीडित मृतकका परिवारलाई प्रतिपरिवार १० हजार, बिरामीलाई १० हजारका दरले राहत उपलब्ध गराएको छ ।

थप प्रतिपरिवार २५ हजार पनि दिने तयारी भएको अध्यक्ष ढकालले बताए । पहिरोले लुम्पेकमा १८ घर पूर्ण क्षति र ३ सय ७ घर उच्च जोखिममा रहेको प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ४ सय पशु चौपाया मरेका, ६१ गोठ भत्किएका र ६० भन्दा बढी शौचालय पहिरोले बगाएका छन् । त्यस्तै वडा ४ लिम्घामा ३ घर पूर्ण क्षति, २१ घर आंशिक क्षति र ५५ घर उच्चजोखिममा रहेको बरालले सुनाए ।

‘तीनै तहका सरकारले समन्वयमा काम गरिरहेको र विस्थापितका लागि सकेसम्म छिटो व्यवस्थापन गर्नेमा सरकार लागेको छ,’ उनले भने, ‘अहिले पनि दुई वडामा गरेर १२ सय ६० जना घरबाहिर आश्रित छन् ।’ लिम्घामा पनि विस्थापितलाई सरस्वती मावि र आसपासमा टेन्ट टाँगेर राखिएको वडाध्यक्ष दुर्गाबहादुर रानाले बताए । लिम्घामा ८ जनाको ज्यान गएको थियो । २४ घर बस्न नमिल्ने अवस्थाका र ५५ घर जोखिममा रहेको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्