फेरिए बस्ती : क्रंक्रिटका घरको बाहुल्य

हरिराम उप्रेती

गोरखा — दुई पाखे, दुईतले घर । ढुंगाको छाना, ढुंगामाटाकै भित्ता । गोरखा नगरपालिका–५ स्वाँराका टेकबहादुर बस्नेतले ०५२ मा आफ्नै सीप, श्रम र लगानीले बनाएको यस्तो घर २०७२ वैशाख १२ को भूकम्पले भत्कायो । 

अहिले त्यो घरको झझल्कोमा मात्रै छ । ‘त्यो बेला अढाई लाख खर्च गरेर बनाएको दुईतले घर, तीनतिर अटाली, सालको काठका झ्याल, ढोका, ढुंगामाटोको जोडाइको गारो थियो,’ उनले भने, ‘बन्दीपुरदेखि ढुंगा ल्याएर मन लगाएर बनाएको घर भूकम्पले भत्काउँदा मनै खिन्न भयो ।’ भूकम्पपछि बनेका एक र दुईकोठे घरहरूको बनोटप्रति उनीसन्तुष्ट छैनन् ।

‘पहिलेको घरको उपल्लो तलामा धान, कोदोको भकारी, मकैको कुन्यु हुन्थ्यो, अटालीमा सुत्न उस्तै मज्जा,’ उनले भने, ‘अहिले बनेका घरमा तला नै छैन । अन्नपात कहाँ राख्ने, पाहुनापासा आउँदा सुत्ने ठाउँ पनि पुग्दैन ।’ भूकम्पपछि दुई पाखे घर देख्न मुस्किल परेको उनको गुनासो छ । परम्परागत घर भूकम्पले नासिँदै गएकोमा उनले चिन्ता जनाए ।

समयको परिवर्तनसँगै सुविधाभोगी हुँदा क्रंक्रिटका घर बन्ने दर बढेको उनको बुझाइ छ । ‘पहिले–पहिले स्याउलाले बारेको स्याउलाकै छाना भएका घरहरू देखिन्थे । पछि अलिअलि कमाउनेले टिन, ढुंगाको छाना हाल्न थाले तर अहिले त्यस्ता घर पनि नासिने क्रममा छन्,’ उनले भने, ‘यस्तै अवस्था हुँदै गए अब पुराना घर इतिहास बन्छन् ।’

भूकम्पपछि यहाँका ग्रामीण भेगमा दुई पाखे घर देखिन छाडेका छन् । बस्ती फेरिएका छन् । स्याउला, खर र ढुंगाका छाना भएका घर विस्थापित बन्दैछन् । जस्ताको रंगीचंगी छाना र पिल्लर उठाएर बनाएका क्रंक्रिटका घरको संख्या बढेको छ । २०७२ वैशाख १२ को भूकम्पले यहाँको ७१ हजारभन्दा बढी संरचनामा क्षति पुग्यो ।

क्षतिग्रस्त भएकामध्ये अधिकांश घर ढुंगामाटोले परम्परागत शैलीमा बनेका थिए । भूकम्पपछि पुनः त्यस्तै घर बनाउँदा असुरक्षा हुन्छ भन्ने बुझाइले पुराना शैलीका घर बनाउन बन्द भयो । भूकम्पले ढुंगामाटाका घरमा बढी क्षति पुर्‍याउँदा पनि सिमेन्ट जोडाइको घरप्रति आकर्षण बढेको स्वाँराकै पवन बस्नेत बताउँछन् ।

प्राविधिकले पनि ढुंगामाटोको प्रयोगबाट पनि भूकम्पप्रतिरोधी संरचना बनाउन सकिन्छ भन्ने बुझाउन सकेनन् । ‘अहिले बनेका घर देख्नलाई राम्रा छन् । बस्नलाई ढुंगामाटोकै घरमा मज्जा, फराकिलो मझेरी जता पल्टिएपनि हुने,’ उनले भने, ‘अहिलेका घरलाई धूवाँ लाग्ला भन्ने डर, बनाउन पनि महँगो ।’ स्थानीय स्तरमा पाइने ढुंगामाटोभन्दा महँगो खर्च हालेर सिमेन्ट, इँटा र रडको प्रयोगबाट घर बनाउन थाल्दा लागत बढेको भूकम्पपीडित बताउँछन् । देखासिकीले पनि क्रंक्रिटका घर बन्ने क्रम बढदो छ ।

८५ वर्षीय रत्नबहादुर बस्नेतलाई पनि अहिले बनेका घरप्रति खासै चित्त परेको छैन । पछिल्लो पुस्ताको क्रंक्रिटकै घरतर्फ आकर्षण बढदा परम्परागत शैली हराएको उनले बताए । ‘पहिले खरकै छाना थिए, छोराहरूले अलि–अलि कमाएपछि जस्ता लगाए,’ उनले भने, ‘भूकम्पपछि त गारो लगाउने इँटा, सिमेन्ट पनि बजारबाट किनेर ल्याउन थालेका छन् ।’ सिमेन्टको घरमा चिसोको समस्या हुने उनको गुनासो छ ।

गत पुसमा अनुदान सम्झौता गरेर ५० हजार बुझेका स्वाँराका रामशरण बस्नेतले गत वैशाखमा दुई कोठे घर निर्माण सुरु गरे । डीपीसी सकेपछिको कामका लागि पैसा पुगेन । ‘डीपीसी सक्नै डेढ लाख लाग्यो,’ उनले भने, ‘एक लाख त ऋण खोजेँ । अब पैसो छैन ।’ पैसा नभएर उनको घर निर्माण रोकिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा सहुलियत दरमा पाउने ऋण लिन प्रक्रिया सुरु गरे पनि उनले पाउन सकेका छैनन् । ‘घर बनाउन कम्तीमा ७ लाख लाग्छ, अनुदान ३ लाख आउँछ,’ उनले भने, ‘सस्तो ब्याजदरमा वाणिज्य बैंकबाट ऋण लिउँ भन्दा पनि झन्झटरहेछ ।’ ज्येष्ठ २४ सहुलियत कर्जाका लागि कागजपत्र बुझाएका उनलाई बैंकका कर्मचारीले बारम्बार निराश फर्काएका छन् । ‘३ लाख ऋण लिन सकेँ, एक–डेढ लाख खसीबोका बेचेर जुटाउने सोचमा थिएँ,’ उनले भने, ‘बैंकले पैसा नदिए तीन/चार लाख ऋण पत्याउने कोही छैनन् ।’

सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मा पहिलो किस्ता लिएर घर बनाउन नसकेकाहरूका लागि बढीमा तीन लाखसम्म कर्जा उपलब्ध गराउन सक्ने प्रावधान छ । तर, आफूलाई बैंकले दुःख दिए पनि ऋण नदिएको उनले गुनासो गरे । ‘पाँच परिवार छौं, नयाँ घर बनाउन पाएको छैन । पुरानै घरको काठपातले बारेर बनाएको झुप्रोमा बसेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

दर्जन बढी गाउँमा सम्पर्कविच्छेद

कान्तिपुर संवाददाता

बझाङ — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले एनसेलको टावरमा आगजनी गरेयता बझाङका दर्जनपछि गाउँहरू सञ्चार सम्पर्कविहीन भएका छन् । सञ्चार सञ्जाल विच्छेद भएपछि यहाँका बासिन्दाहरूको दैनिकी असहज बनेको छ । 

गत बुधबार जिल्लाका ३ वटा एनसेल टावरमा चन्द समूहका कार्यकर्ताले आगजनी गरेका थिए । मष्टा गाउँपालिकाको रिलु, बित्थडचीर गाउँपालिकाको धारी र थलारा गाउँपालिकाको चित्रुमा रहेको एनसेल टावरमा आगजनी गरेपछि संचार सम्पर्क विच्छेद भएको हो ।

तल्कोट, मष्टा, बित्थडचीर, थलारा, छविस पाथीभेरा गाउँपालिका, बुंगल नगरपालिकाका धेरै गाउँमा मोबाइल सेवा ठप्प छ । टेलिफोन सेवा अवरुद्ध भएपछि सामान्य खबर पुर्‍याउन पनि घण्टौं पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको र गाउँ बाहिर रहेका आफन्तको अवस्था पनि यहाँका बासिन्दाहरू बेखबर रहेको स्थानीयले बताए ।

‘कि त हिँडेरै खबर पुर्‍याउन जानुपर्छ । कि त ४/५ घण्टा हिँडेर डाँडामा गएपछि मात्र नेटवर्क टिप्छ,’ तल्कोटका स्थानीय मानबहादुर कठायतले भने, ‘सञ्चारविहीन हुँदा साह्रै समस्या भएको छ ।’ उनले कोही बिरामी भयो, कसैलाई आपतविपत पर्‍यो भने पनि खबर गर्नका लागि मान्छे दौडाउनुपरेको बताए ।

‘घरमै बसेर देश विदेशको खबर पाइरहेका थियौं,’ मष्टा गाउँपालिकाका राजेश खडकाले भने, ‘हप्ता दिनदेखि अन्धकारमा बसे जस्तै भएको छ । टेलिफोन नहुँदा निकै दुःख पाइएको छ,’ यस्तै गाउँपालिका नै सञ्चार सम्पर्कबाट विच्छेद भएपछि दैनिक प्रशासनिक कामकाज गर्न पनि आफूहरूलाई समस्या भइरहेको तल्कोट गाउँपालिका ४ का वडा अध्यक्ष मनबहादुर घर्तीले बताए ।

‘कार्यालयको काम पनि प्रभावित भएको छ,’ उनले भने, ‘बैठक बोलाउनुपर्‍यो वा कुनै विषयमा जानकारी लिनुदिनुपर्‍यो भने फोनबाट गर्ने गरेका थियौं । मोबाइल सेवा नभएपछि एकै छिनमा हुने काम पनि समय लाग्ने गरेको छ ।’

एनसेलको टावरले कभरेज गरेको क्षेत्रमा नेपाल टेलिकमको मोबाइलले काम गर्दैन । कतिपय गाउँमा नेपाल टेलिकमको टावरले काम गर्ने भए पनि लगातार बादल लागेको कारणले सौर्य ऊर्जा चार्ज नभएर काम नगरेको टेलिकम बझाङ शाखाले जनाएको छ । क्षतिग्रस्त एनसेलका टावर पुनः सञ्चालनमा आउने विषयमा एनसेलको धनगढीस्थित कार्यालय र केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले आफूहरूलाई जानकारी नभएको बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्