२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दृश्य हेर्न पाइने झोलुंगे पुल

विना थापा

कास्की — झोलुंगे पुल केका लागि ? उत्तर सहजै छ, खोला वारपार गर्न सहजताका लागि । पोखरामा बनेको पुलको विशेषता भने फरक छ । प्राकृतिक दृश्य हेर्नका लागि झोलुंगे पुल बनेको छ । 

दृश्य हेर्न पाइने झोलुंगे पुल

पोखरा–१७ र १५ वडा जोड्ने सेती नदीमाथिको सीतापाइलामा बनेको पुलमा यतिबेला वारपारका लागि पैदल यात्रुभन्दा पनि आन्तरिक र बाह्य पर्यटकको घुइचो लाग्ने गर्छ ।


पुलबाट भासिएको सेती नदी, खोंच र केही माथि रहेको प्राकृतिक पुललगायत रमणीय दृश्य देखिन्छ । यसले पर्यटकको मन लोभ्याएको हो । पुलले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सेती नदी सीतापाइला झोलुङगे निर्माण उपभोक्ता समितिको विश्वास छ । पुलमा दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको समितिका अध्यक्ष प्रेम थापामगरले बताए ।


अरु पुलभन्दा छुट्टै विशेषता रहेको पोखरा–१० रामघाटकी चन्द्रा भुजेलले बताइन् । उनी पुलबाट प्राकृतिक दृश्य हेरिरहेकी थिइन् । ‘धेरै पुल आवतजावत गरियो तर प्राकृतिक दृश्यका लागि बनेको पुलमा आएको पहिलो पटक हो,’ भनिन् ।


सय मिटर नजिक प्राकृतिक पुल भएकाले त्यहाँबाट सबैखालका सवारी साधन समेत हिंड्न मिल्ने भएकाले आवतजावतमा लाभान्वित भएको भन्न नमिल्ने स्थानीय समाजसेवी दिपक आचार्यले बताए । ‘पुलदेखि सेती नदी, प्रकृति पुलमा सवारी साधत आवतजावत गरिएको हरिहर गुफा, खोजलगायत प्राकृतिक थुप्रै दृश्य अवलोकनका लागि पुलले सहज गराउँछ,’ आचार्यले भने, ‘पुलबाट देखिने सेती अन्तबाट देख्न सकिँदैन, त्यसकारण पनि यसलाई व्यवस्थित गरे धेरै पर्यटन भित्र्याउन सकिन्छ ।’ पुल पर्यटकीय रुपमा महत्त्वपूर्ण छ । प्राकृतिक साँघु नेपालको पहिलोसमेत हो, जसकारण पनि पर्यटन प्रवर्द्धनको विकासमा टेवा पुर्‍याउने धेरै सम्भावना भएकाले यसलाई व्यवस्थित रुपमा अझ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।


पुलले पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पोखरा–१७ का वडासदस्य वैकुण्ठ भण्डारीले बताए । यहाँदेखि प्राकृतिक पुल, सेती नदी, खोज, शुक्लागण्डकी सीताघाट, हरिहर गुफालगायत दृश्य देख्न सकिन्छ । पुलको लम्बाइ ५६ मिटर र उचाइ ८० मिटर छ ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?