कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मन लोभ्याउने झरना

प्रताप रानामगर

दमौली — ‘आहा, कति राम्रो झरना ।’ देख्ने सबै यसै भन्छन् । सबैले क्यामरा र मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । तनहुँको म्याग्दे गाउँपालिका– ५ थाग्दीमा रहेको झरनाले धेरैको मन लोभ्याएको छ । त्यसैले त यहाँ आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको स्थानीय कान्छीबराही टोल विकास संस्थाकी अध्यक्ष नयाँमाया थापाले बताइन् ।

मन लोभ्याउने झरना

‘झरना र्हेर्नका लागि ठाउँ ठाउँबाट पाहुना आउनुहुन्छ,’ उनले भनिन्, ‘भरनाले सबैलाई लोभ्याएको छ ।’ झरना हेरेपछि आनन्द र खुसी भएर फर्कने उनले बताइन् । पछिल्लो समय झरनाको प्रचार भएसँगै पर्यटक आउन थालेको स्थानीयको भनाइ छ । ‘झरना असाध्यै राम्रो छ,’ आन्तरिक पर्यटक शोभा थापाले भनिन्, ‘मेरो पनि मनै लोभ्यायो । यसको प्रचार गरी पूर्वाधार बनाउन सके गतिलो पर्यटकीय गन्तव्य हुन्थ्यो ।’ झरना देखेपछि सबै दुःख कष्ट भुलेको उनले बताइन । सामाजिक सञ्जालमा झरनाको फोटो देखेर भिमादबाट साथीभाइ मिलेर र्हेर्न आएको र झरना नजिकै ठाँटी वा प्रतिक्षालय बनाउन उनले सुझाइन् ।


झरना नजिकै कान्छीबराही मन्दिर पनि रहेको समितिकी अध्यक्ष थापाले बताइन् । त्यसैले झरनाको नाम पनि कान्छीबराही राखिएको छ । स्थानीय झरनालाई पर्यटकीय गन्तव्य बनाउने योजनामा छन् साथै वनभोज स्थलको रुपमा विकास गर्ने योजना पनि छ । झरना नजिकै सार्वजनिक जग्गा भएकाले पूर्वधार विकासका लागि गाउँपालिकासंग बजेट माग गर्ने उनले बताइन ।


वनभोजस्थलले आन्तरिक पर्यटक बढ्ने विश्वास स्थानीयको छ । ‘झरना र्हेर्न मेसो मिलाएर पाहुना वनभोज खान पनि आउछन,’ उनले भनिन, ‘पूर्वाधार निर्माणमा गाउँपालिकाले बजेट विनियोजन गर्नैपर्छ ।’ झरनाले म्याग्दे गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । ‘पर्यटकीय दृष्टिकोणले झरना निकै राम्रो छ,’ उनले भनिन्, ‘झरनको क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्न गाउँपालिका तयार छ ।’


कान्छीबराही झरनाको विस्तृत अध्ययन गरी पर्यटकीय गतिविधि केके थप्न सकिन्छ भन्नेतर्फ आफू लागेको उनको भनाइ छ । क्यानोनिङको लागि विज्ञ र प्राविधिकसँग सल्ल्लाह गर्न लागिएको उनले बताइन् । झरनाको क्षेत्रमा पर्यटीकय स्थलका लागि विस्तृत अध्ययनपछि गाउँसभाबाट आवश्यक बजेट विनियोजन गर्न सकिने भएकाले वडाबाट योजना लिएर आउनुपर्ने उनले स्थानीयसँग आग्रह गरिन् ।


झरनाको उचाइ करिब ७० मिटर छ । झरना नजिक कान्छीबराही मन्दिर पनि छ । जहाँ दर्शन पनि गर्न सकिन्छ । उक्त झरना पृथ्वीराजमार्गको खैरेनी भिमाद सडक खण्डमा पर्ने थाग्दीबाट करिब डेढ किमी दूरीमा पर्छ । थाग्दीबाट झरनासम्म सडकको ट्र्याक खुलेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?