कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपुरमा बढ्दै दुर्व्यसनी

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार र आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा देबचुली नगरपालिकाको रजहरबाट २ र कावासोती नगरपालिका–१६ बाट एक जनालाई पक्राउ गरेको हो । 

रजहरको फारमचोकबाट पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगर–२१ का ४० वर्षर्यी जितेन केसी र रुपन्देही ओमसतिया गाउपालिका–४ बैतौलियाका ३४ वर्षका चुनमुन मल्लाहा छन् ।


उनीहरूको साथबाट नुर्फिन ६०, फेनारागन ६० र डाइजेपाम सेरिजेक ६० एम्पुल बरामद भएको छ । यसैगरी गोरखाको सहिद लखन गाउँपालिका–३ मनकामनाका २३ वर्षीय विशाल थापा पनि पक्राउ परेका छन् । उनको साथबाट २ मिलिग्राम झोलसहितको डाईजापाम २ सय एम्पुल, फेनरागन २ सय एम्पुल र नुफिन २ सय फेला पर्यो । पक्राउ परेकाहरू लागूऔषध सेवन र ओसारपसरकै लागि भनेर नवलपुर आएका हुन् ।


जिल्लामा पछिल्लो समय दुर्व्यसनी र लागूऔषध कारोबार बढेको यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पूर्वी नवलपरासीमा लागूपदार्थको कुलतमा फस्ने युवाको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वको आँकडाले यस्तो देखाएको हो । गत आर्थिक वर्षमा मात्रै जिल्लामा लागु औषधसम्बन्धी ८६ मुद्दा दर्ता भए र १२० पुरुष र २ महिलाले सजाय पाएका छन् ।


जिल्लामा लागु औषधको कारोवार नभएपनि छिमेकी जिल्लाबाट खरिद गरेर ल्याउने र विभिन्न जिल्लामा लैजाने ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोख्रेलका अनुसार गत आवमा ५५ केजी चरेस, ५ हजार ४ सय ७२ ट्याब्लेट, २ सय २ बोतल फेन्सेडील र आठ सय ग्राम गाजा बरामद भएको छ । ‘जिल्लामा व्यवसायिक कारोबार नभएपनि पश्चिम नवलपरासीको महेशपुर, रुपन्देहीदेखी अन्य जिल्लामा लैजान यो जिल्ला प्रयोग भएको पाईयो,’ पोख्रेलले भने, ‘सवारी चेकलाई कडाइ गरेपछि कारोवारी पक्राउ परेका छन् ।’

प्रकाशित : श्रावण २१, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?