१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नामको मात्र पिच

सडकको स्तरोन्नति राम्रो नहुँदा स्थानीय मात्र होइन सवारी साधनले पनि सास्ती खेप्नुपरेको छ
सम्झना रसाइली

तनहुँ — ‘सडक हेर्दा पिच गरेको देखिन्छ । तर पिचबीचको केही भागमा मात्र छ । अरू सबै भत्किएर सडकै बिग्रेको छ,’ भिमाद–७ का ५३ वर्षीय भक्तबहादुर श्रेष्ठ भन्छन् । हुन पनि यस्तै छ भिमाद नगरपालिकाको प्रवेशद्वारबाट करिब ५ सय मिटरसम्मको सडक खण्ड । सडकको स्तरोन्नति राम्रो नहुँदा स्थानीय मात्र होइन सवारी साधनले पनि सास्ती खेप्नुपरेको छ । 

नामको मात्र पिच

पानी परेको समयमा सवारी साधन गुड्दा सडकका खाल्डाखुल्डीमा जमेर बसेको पानीले छेप्ने गर्छ । सडक कालोपत्रे गरेको लामो समय भयो तर नगरपालिकाले सडकको स्तरोन्नतिमा ध्यान दिएको छैन । नगरको प्रवेशद्वार सेती नदीमाथिको पुलदेखि भित्र पसेपछि बिग्रेको सडकमा यातायातका साधन गुड्नुपर्ने मानिसले धूलो, धूवाँ अनि हिलोको सामना गर्नुपर्ने बाध्यता छ ।


पुरानो बजारकी लक्ष्मी कुँवर भन्छिन्, ‘सडकबाट निस्किएको धूलोले गर्दा आँखाको समस्यसँग जुध्नपरेको छ,’ उनी भन्छिन्, ‘बाटो साँगुरो छ, सडक ठाउँठाउँमा प्वाल परेको छ, तीव्र गतिमा टिपर चलाइँदा निस्कने धूवाँ, उड्ने धूलोले हाम्रो स्वास्थ्यमा धेरै असर पुर्‍याएको छ । बच्चाहरूलाई पनि जोगाउन मुस्किल भएको छ ।’


पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकले पुरानो बजार साँच्चिकै पुरानो हुने हो कि भन्ने चिन्ता कुँवरलाई छ । वर्षातको समयमा सडकमा तीव्र गतिमा हिँड्ने सवारी साधनले सडकमा जमेका पानी छ्यापेर सडकको छेउछाउ हिँड्न र आफ्नै घरआँगनमा बस्न पनि नसक्ने कुँवर बताउँछिन् । सडक डिभिजन कार्यालय मातहतमा निर्मित सडक भएकाले वडा र नगरले केही गर्न नसकेको वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘सडक डिभिजनले बनाएको रोड हामीले बनाउनका लागि भत्कायौं भने अख्तियार लाग्ने गर्छ, त्यसैले सबै देखीदेखी पनि हामीले केही गर्न सकिरहेका छैनौं ।’


सडक डिभिजन कार्यालयले आर्थिक वर्षको पहिलो टेन्डर मार्फत भिमाद–७ को सडक स्तरोन्नतिको काम गर्ने भनिएकाले पर्खिएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । नगरपालिका र सडक डिभिजनको समन्वय हुन नसक्दा पनि सडक निर्माण कार्य अघि बढ्न नसकेको उनले बताए ।


‘अघिल्लो वर्षसम्म खैरेनीटार–भिमाद सडक खण्ड सडक डिभिजन कार्यालयले हेर्थ्यो,’ सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर सचिन श्रेष्ठले भने, ‘अहिले सडक विभागले राष्ट्रिय राजमार्ग मात्र हेर्ने भनेको छ र त्यहीअनुसार बजेट पठाउने तयारी गरेको छ । खैरेनीटार–भिमाद सडक खण्ड सहायक राजमार्ग भएकाले यस वर्ष सडक निर्माणका लागि बजेट आउँछ/आउँदैन हामी भन्न सक्दैनौं ।’


अघिल्लो वर्ष सडक निर्माणका लागि कार्यालयले बजेट माग गरेको र बजेट आए मात्र काम सुरु गर्ने उनले बताए । सडक डिभिजन कार्यालयलाई जिल्लाको राजमार्गअन्तर्गत १४ हजार ९ सय किलोमिटर सडक खण्ड हेर्ने भनिएको र अन्य सहायक राजमार्गहरू प्रदेश सरकारले हेर्ने श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?