कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होमस्टेले सुधार्‍यो आनीबानी

प्रताप रानामगर

दमौली — तनहुँको व्यास–१४ कुलुङमा होमस्टे सञ्चालनमा आएको धेरै समय भएको छैन । होमस्टे सञ्चालन अघि स्थानीयको रहनसहन र जीवनशैली पुरानै थियो । घरआँगन, गल्ली र बाटोघाटो व्यवस्थित थिएनन् । ‘पहिले घरवरिपरि जताततै सुंगुर बंगुरका खोर थियो,’ स्थानीय श्रीमाया आलेले भनिन्, ‘दुर्गन्धले बसिनसक्नु हुन्थ्यो ।’ 

होमस्टेले सुधार्‍यो आनीबानी

होमस्टे सञ्चालनपछि भने गाउँ र गाउँवासीको आनीबानीमा निकै परिवर्तन आएको छ । स्थानीयले घरआँगन, बाटोघाटो सरसफाइमा ध्यान दिएका छन् । होमस्टे मार्फत गाउँमा पर्यटक भित्र्याउन गाउँले लागेका छन् ।


‘गाउँ सुन्दर छ,’ उनले भनिन्, ‘अझै राम्रो बनाउन सरसफाइमा ध्यान दिएका छौं ।’ पर्यटकलाई मध्यनजर गर्दै घरवरिपरि पाल्दै आएको सुंगर र बंगुरको खोर सबैले हटाएको उनले बताइन् । होमस्टेका कारण सरसफाइमा परिर्वतन आएको उनको भनाइ छ । गत मंसिरबाट होमस्टे सञ्चालन गरेको कुलुङ सामुदायिक होमस्टेका अध्यक्ष रीतामाया थापाले बताइन् ।


होमस्टे सञ्चालन भएपछि गाउँमा परिवर्तन आएको उनको दाबी छ । घरआँगन, बाटोघाटो सरसफाइ, फोहोर व्यवस्थापन, बाटोघाटोमा फूल रोपणजस्ता काम भएको छ । ‘गाउँवासीको आनीबानीमा निकै परिवर्तन भएको छ,’ उनले भनिन्, ‘पहिले परिचय पनि दिन नसक्नेले अहिले आफूलाई लागेको सबै कुरा भन्न सक्ने भएका छन् ।’


अतिथि सत्कारदेखि खानापान र पाहुनालाई गाउँ घुमाउन सक्ने भएका छन् । होमस्टेले व्यक्तिको व्यक्तित्व विकास र समाज परिवर्तनमा सहयोग गरेको उनले बताइन् । होमस्टे सञ्चालन गरेपछि गण्डकी प्रदेश सरकारले पूर्वाधार विकासका लागि दस लाख रुपैयाँ दिएको थियो । मौलिक संस्कृतिहरू लोप हुने अवस्थामा पुगेको थियो । होमस्टेमा आउने पाहुनालाई लोपन्मुख नाँच देखाउँछन गाउँलेले ।


मगर जातिको मौलिक नाँच कौराहा, झाउरे, कृष्णचरित्र र नेवार समुदायको लाखे नाच पाहुनालाई देखाउँदा लोपन्मुख नाचको संरक्षण भएको स्थानीय छाब्दीबाराही आमा समूहकी अध्यक्ष एव्म होमस्टे सञ्चालक नानीमाया आलेले बताइन् । पाहुनालाई देखाउन पनि पुराना नाच संरक्षणतर्फ लागेका छौं । होमस्टे सञ्चालनपछि व्यक्तिको आनीबानीमा परिर्वतनदेखि संस्कृति संरक्षणसम्म सहयोग भएको छ ।


सरसफाइयुक्त यस गाउँमा आउने पर्यटकले पारिवारिक व्यवहार, सद्भाव, सहिष्णुता एवं एकताले पर्यटकको मन जित्ने वातावरण सिर्जना गरिरहेका छन । अर्गानिक खानाका परिकार, मगर र नेवार समुदायको सांस्कृतिक नाच, प्राकृतिक दृश्यालोकन, प्रसिद्ध धार्मिकस्थल छाब्दीबराही मन्दिरको दर्शन गर्न पनि कुलुङ होमस्टेका विशेषता हो । तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनबाट ७ किलोमिटर दक्षिणमा कुलुङ होमस्टे पुग्न सकिन्छ ।


यस्तै तनहुँको प्रसिद्ध छाब्दीबाराही मन्दिरबाट करिब ६ किलोमिटरको दूरीमा पूर्वतर्फ कुलुङ रहेको छ पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दीपुरबाट करिब १२ किलोमिटर दूरीमा कुलुङ रहेको छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?