सुत्केरीलाई हेलिकप्टरद्वारा उद्धार

‘महिना पुगेको थिएन । हुन्छ कि भनेर कल्पना नै गर्न सकिन, सँगै बसेका दाइ सबै काममा जानुभएको थियो । साहुनीहरू पनि काममा हुनुहुन्थ्यो, आफैं सुत्केरी भएँ, आफैं सम्हालिएँ ।’ 
आश गुरुङ

(लमजुङ) — घरमै सुत्केरी हुनु आमा र बच्चा दुवैका लागि जोखिम हुन्छ । घरमा कोही नभएको बेला एक महिला सुत्केरी भइन् । जन्मिएको बच्चा ७ महिनाको छ । आमाको उमेर १८ वर्ष मात्रै छ । न आमाको सुत्केरी हुने उमेर नै पुगेको छ, न बच्चा पुरै समय (९ महिना) पुगेर जन्मिएको छ ।

घरकै कटेरोमा जन्मिएको बच्चाले सास फेर्न नसकेर निलो हुँदै गएपछि मात्रै बच्चालाई अस्पताल लगियो । घरबेटी र छिमेकी मिलेर अस्पताल पुर्‍याए । जन्मिएको बच्चा २१ घण्टापछि अस्पताल पुर्‍याउँदा बच्चाले सास फेर्न छोडिसकेको थियो । अस्पतालमा आईसीयू न एनसीयू छ । न बालरोग विशेषज्ञ नै । बच्चालाई तत्काल अक्सिजन दिएर राखियो ।


हिमाली जिल्ला मनाङको चामेस्थित जिल्ला अस्पतालबाट बच्चा र आमा दुवैको शनिबार नेपाली सेनाको हेलिकप्टले उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले नि:शुल्क हवाई उद्धार सेवा दिएको हो । डीएसपी टीकाबहादुर कार्कीका अनुसार रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रेगाउँ घर भई मनाङमा यार्सागुम्बु संकलनका लागि पतिसँगै आएकी प्रमिशा बुढामगर र उनको बच्चालाई हेलिकप्टरले उद्धार गरेको हो । पोखरा लगिएका आमाछोराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


मनाङ जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.सन्तोष अधिकारीका अनुसार बिहीबार साँझ ५ बजेतिर सुत्केरी भएकी प्रमिशालाई शुक्रबार दिउँसो २ बजेतिर मात्रै अस्पताल ल्याइएको थियो । ‘बच्चाको अवस्था नाजुक थियो । सास समेत नफेरेपछि हामीले अक्सिजन दिएर राख्यौं र हवाई उद्धारका लागि पहल गर्‍यौं,’ उनले भने, ‘मन्त्रालयले तत्काल उद्धारको प्रयास गरे पनि मौसममा आएको खराबीले सफल हुन सकेन । मन्त्रालयकै पहलमा सेनाको हेलिकप्टले शनिबार बिहान उद्धार गर्‍यो ।’


हेलिकप्टरले उद्धार गरेको बच्चालाई अक्सिजन दिएरै पोखरा पुर्‍याएको सँगै गएका डा.अधिकारीले बताए । उनका अनुसार बच्चालाई एनआईसीयूमा भर्ना गरिएको छ । ‘ब्यथाको बेला कम्प्लिकेसन आएन । आमा १८ वर्षको । बच्चा २९ हप्ता २ दिन (७ महिना) को,’ उनले भने, ‘श्रीमान् लेक गएछन् । कोठामा सुत्केरी एक्लै । बच्चा नीलो भएपछि मात्रै अस्पताल ल्याए ।’ आमाको सुत्केरी हुने उमेर नपुगेको, बच्चा पर्याप्त आयु नपुगी जन्मिएकाले समस्या भएको उनले बताए । भोल्टेज कहिल्यै नपुग्ने चामेमा सबै ठाउँका बिजुली बन्द गराएर अस्पतालमा मात्रै बिजुली दिएर सामान्य हिटरले न्यानो बनाएर बच्चालाई अक्सिजन दिएर बचाएको उनले बताए ।


प्रमिशाका अनुसार सुत्केरी हुँदा कोही थिएनन् । ‘महिना पुगेको थिएन । हुन्छ कि भनेर कल्पना नै गर्न सकिन,’ उनले भनिन्, ‘सँगै बसेका दाइ सबै काममा जानुभएको थियो । साहुनीहरू पनि काममा हुनुहुन्थ्यो, आफैं सुत्केरी भएँ, आफैं सम्हालिएँ ।’ उनका अनुसार शुक्रबार बिहान खाना खानेबेलासम्म बच्चाको अवस्था राम्रो थियो । ‘एकैछिनमा बच्चा कालो र नीलो भयो । साहुनी र दाइले दिउँसो अस्पताल पुर्‍याए ।’ उनका अनुसार पति ओमबहादुर बुढामगर फु गाउँतिर गएका थिए । ‘बुढा फु गाउँ गएको ३ दिन भएको थियो । हिजो (शुक्रबार) राति मात्रै आउनुभयो,’ उनले भनिन् ।


ओमबहादुरका अनुसार उनीहरू वैशाखमा मनाङ आएका हुन् । आएपछि उनीहरू मनाङका लेकमा यार्सागुम्बु टिप्न हिँडे । गर्भवती अवस्थामै प्रमिशा पनि पति ओमबहादुरसँगै यार्सा टिप्न लेकमा खटिइन् । यार्सा टिप्ने मौसम सकिएसँगै उनीहरू केही सातायाता चामेको कोतोमा बसे । मनाङको लेकमा यार्सागुम्बु टिप्न जाने र यार्साको सिजन सकिएपछि पति ओमबहादुर अन्य काममा लागेका थिए । ‘गाउँमा पनि खेती किसानी हो, काम गर्ने नै हो । यता पनि काममै आएका हौं,’ ओमबहादुरले भने, ‘किरा टिपेको सकिएपछि कोतोमा बस्यौं । म माथि काममा गएको थिएँ, थाहै भएन,’ उनले भने । प्रकाशित : श्रावण १९, २०७६ ११:५६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिल्ली–बुटवल बसमार्फत तस्करी

कान्तिपुर संवाददाता

भैरहवा — दिल्ली–बुटवल चल्ने यात्रुवाहक बसबाट तस्करी गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म राजस्व भन्सार सुरक्षा भैरहवाले शुक्रबार बरामद गरेको कपडाको मूल्य साढे ६ लाख रुपैयाँभन्दा धेरै रहेको अनुमान छ । 

दिल्लीबाट बुटवल आउँदै गरेको लु१ख ६६४९ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा बसको सिटमुनि फल्स बटममा लुकाएर ल्याइएको कपडा बरामद भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले बताए । कपडासँगै बस चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगाका ३६ वर्षीय राजु सुनार र सोही ठाउँकै सहचालक २५ वर्षीय यमबहादुर सुनारलाई पक्राउ गरिएको छ ।

‘बस चालकको सिटनजिकै नटबोल्टको प्रयोग गरी सामान लुकाउनका लागि फल्सबटम बनाएर कपडा लुकाउने गरिएको पाइयो,’ उनले भने, ‘यसअघि पनि धेरैपटक दिल्लीदेखि नेपालमा चल्ने गरेका यात्रुवाहक बसबाट तस्करी गर्ने गरेको पाइएको थियो ।’ यस रुटमा चल्ने गरेका बसबाट जतिपटक सामान बरामद गरे पनि तस्करी नरोकिएको उनले बताए ।

बसबाट टप्स ४ सय ९२, लेडिज सुट ३ सय ४३, ट्राउजर ७०, चुन्नी ५८, लेहंगा ३७, साडी ३६, ब्रा २४, पार्टी ब्लाउज २० र ब्रा–पेन्टी सेट ९ पिस पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुल्मले तस्करीमा प्रयोग गरिएको भन्दै २५ लाख रुपैयाँ मूल्य कायम गरी बससमेत बरामद कपडासँगै भैरहवा भन्सार चलान गरेको छ ।

गत पुस महिनामा पनि भन्सार क्षेत्रबाट सशस्त्र र भन्सार कर्मचारीले चेकजाँच गर्ने क्रममा ना६ ख४०३३ नम्बरको काठमाडौं–दिल्ली चल्ने र लु१ख ८५५६ नम्बरको बुटवल–दिल्ली चल्ने बसबाट कपडा, मोटर पार्टसलगायत गरी १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो ।

प्रकाशित : श्रावण १९, २०७६ ११:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×