कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकीले बनाएको होमस्टे उत्कृष्ट

राइनासकोटबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, डा. हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङलगायत करिब दुई दर्जन हिमशृंखला नियाल्न सकिन्छ
आश गुरुङ

लमजुङ — एक अमेरिकी नागरिकको पहलमा निर्माण गरिएको लमजुङको राइनासकोट सामुदायिक होमस्टे यस वर्ष उत्कृष्ट घोषित भएको छ । २०७२ वैशाख १२ को भूकम्पमा परेर घरहरू भत्किएपछि अमेरिकी नागरिक नताशा वजनाइक को सहयोगमा राइनासकोटका १४ घर पुनर्निर्माण गरिएको थियो ।

अमेरिकीले बनाएको होमस्टे उत्कृष्ट

पुनर्निर्माणपछि उक्त घरहरूलाई होमस्टेको रुपमा विकसित गरिएको थियो । राइनास होमस्टे २ वर्षको अवधिमै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले उत्कृष्ट होमस्टे घोषणा गरेको हो ।


राइनास नगरपालिका–९ राइनासकोटसहित ३ गाउँलाई भिटोफ नेपालले सन् २०१८ को गन्तव्य गाउँ घोषणा गरेको थियो । गएको सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवसको दिन भिटोफले राइनासकोटसहित मुगुको मुर्मा, रामेछापको दोरम्बा गरी ३ गाउँलाई गन्तव्य गाउँ घोषणा गरेको थियो । यी ३ गाउँबाट राइनासकोट उत्कृष्ट हुन सफल भएको भिटोफका अध्यक्ष ध्रुव सिंखडाले बताए ।


गन्तव्य गाउँ घोषणापछि पर्यटकको चहलपहल, होमस्टेको सेवासुविधा, सरसफाइसहितका व्यवस्थापन, पाहुनाको स्वागतसत्कार, प्राकृतिक तथा साँस्कृतिक दृश्यावलोकन लगायतलाई आधार मानेर उत्कृष्ट ठहर्‍याइएको उनले जनाए । ‘हामीले वर्ष गन्तव्य घोषणा गरेका गाउँको निरीक्षण तथा अवलोकन गर्छौं । नयाँ सम्भावनाको खोजी गर्छौं । राम्रा त सबै राम्रा छन् । राम्रामध्ये झन राम्रो छान्छौं,’ उनले भने, ‘छान्दै जाँदा यसपटक लमजुङको राइनासकोट पर्‍यो ।’


उनका अनुसार गतवर्ष कास्कीको कालाबाङ घडेरी उत्कृष्ट होमस्टेमा परेको थियो । भिटोफले सन् २०१४ मा लमजुङकै काउलेपानीलाई उत्कृष्ट होमस्टे घोषणा गरेको थियो ।


भिटोफले बुधबार काठमाडौंमा आफ्नो २३ औं वार्षिक साधारण सभामा राइनासकोटलाई यसवर्षको उत्कृष्ट होमस्टे घोषणा गरेको छ । राइनासकोटलाई भिटोफले नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । पूर्व वनमन्त्री शंकर भण्डारीले सम्मानपत्र र भिटोफका अध्यक्ष सिंखडाले पुरस्कार वितरण गरेका थिए ।


पुरस्कार ग्रहणपछि राइनासकोट होमस्टे व्यवस्थापन समितिकी उपाध्यक्ष विष्णु गुरुङले उत्कृष्ट होमस्टेमा परेको राइनासकोटले जिल्लाकै इज्जत बढाएको बताइन् । ‘गण्डकी प्रदेश सरकारले पर्यटनबाटै प्रदेश समृद्धिको आधार खोजिरहेको छ । राइनासकोटलाई उत्कृष्ट ठहर्‍याउँदा हामी हर्षविभोर छौं,’ उनले भनिन् ।


राइनासकोटबारे यसैवर्ष पत्रकार विक्रम न्यौपानेले निर्माण गरेको वृत्तचित्र उत्कृष्ट दोस्रो ठहरिएको थियो । यसले पनि राइनासकोटको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको उनले बताइन् । भूकम्पपछि पुनर्निर्माण गरिएको राइनासकोटका १४ घरमा होमस्टे सञ्चालन गरिएको छ ।


राइनासकोट गाउँ पुनर्निर्माणका लागि नताशा एक्लैले १ करोड ६० लाख रुपैयाँ खर्च जुटाएकी छन् । ९० लाख रुपैयाँ स्थानीय आफैंले जुटाएका थिए । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खडबहादुर गुरुङका अनुसार राइनासकोटको प्रचारप्रचार गर्न पहिलोपल्ट २०६३ सालमा पहिलो राइनासकोट महोत्सव गरिएको थियो । निरन्तरता नपाएपछि बेला–बेला मेला तथा महोत्सवको आयोजना हुँदै आएको थियो । राइनासकोटको पुनर्निर्माण पछि होमस्टे सञ्चालन गर्न गाउँले एकजुट भएको उनले बताए । ‘गाउँ एक भएमा सबैको सहयोग पाइने रहेछ,’ उनले भने ।


राइनासकोटबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, डा.हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत करीब दुई दर्जन हिमशृंखला नियाल्न सकिन्छ । १५ औं सताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रब्य शाह राइनासकोटमा बसेको इतिहास छ ।


राइनासकोट भन्दा पारीपट्टी गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेका थिए । राइनासकोटमा बाइसेचौबिसे राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । तनहुँबाट लमजुङ प्रवेशद्वार पाउँदीबाट करीब ३ घण्टाको पैदल वा २ घण्टाको सवारी यात्रापछि राइनासकोट पुग्न सकिन्छ ।

प्रकाशित : श्रावण १६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?