१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सानो असावधानीले ठूलो क्षति

आश गुरुङ

लमजुङ — दोर्दीखोलामा ४ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । यीमध्येको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा साउन ८ गतेको बाढीले धनजनको क्षति पुर्‍यायो । 

सानो असावधानीले ठूलो क्षति

आयोजनामा कार्यरत ५ कामदारको बाढीमा परेर मृत्यु भयो । ५ कामदार हराइरहेका छन् । धनजनको क्षति भएको आयोजनामा केही सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति बेहोर्नुपरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उनका अनुसार विपद् सूचना प्रणाली जडान गरेको भए क्षति हुँदैनथ्यो ।


दोर्दीको घटनाले पाठ सिकाएको उनले बताए । ‘हामी सचेत भएका छौं । यो काम निर्माण कम्पनी, आयोजना आफैंले गर्दा पनि हुने हो । हाम्रा निकायको पनि ध्यान पुगेन,’ उनले भने, ‘हामीले सिस्टम जोड्ने भन्दाभन्दै बर्खा लागिगयो, बाढी आएर धनजनको क्षति भयो ।’ व्यवस्थापन क्रममा प्रकोपसम्बन्धी इन्फर्मेसन सिस्टम मात्रै जोडिदिएको भए सम्भवतः दोर्दी घटनामा भौतिक क्षति भए पनि मानवीय क्षति नहुने उनले बताए । लिबर्टी इनर्जी कम्पनीले दोर्दीखोलामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।


आयोजनालाई प्रभावित पार्ने गरी आएको बाढीले धनजन र आयोजनामा क्षति पुर्‍याएको आयोजना निर्देशक राजेन्द्र वस्तीले बताए । ‘एक्कासि बाढी आउँदा आश्चर्यमा परेका छौं,’ उनले भने । बाढीले हेडवर्कस्को डिसेन्डरमा काम गरिरहेका कामदारलाई बगाएको हो । ‘माथिल्लो क्षेत्रमा निर्माण भइरहेको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ साथीहरूले बाढी आयो भनेपछि समयमै कामदारलाई खबर गरेका हौं । ज्यान जोगाउन भागेका र बासस्थानमा गएका मथि बाढी जाइलागेको हो,’ उनले भने ।


बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न आएका मुख्यमन्त्रीले बाढीपहिरोको जोखिम भएको खोलानालाको मुहान तथा जलाधार क्षेत्रमा हेलिकप्टर द्वारा भूक्षयको सर्वेक्षण तथा अवलोकन गर्न प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । ग्रामीण सडकले उद्दार तथा राहतका काममा अप्ठ्यारो परेको भन्दै यसमा पनि प्रदेश सरकारको ध्यानाकर्षण भएको उनको भनाइ छ । अन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नारायणी नदी बेसिनका नदीमा विपदसम्बन्धी सूचना प्रणाली जडान भए पनि खोलानालामा उक्त प्रणाली नजोडिँदा समस्या आएको बताए ।


लमजुङको दोर्दीखोलाको बाढीले माथिल्लो दोर्दी 'ए’ को हेडवर्क्स र कामदारको क्याम्पमा पुर्‍याएको क्षति  निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत । तस्बिर : आश/कान्तिपुर


मृतक र बेपत्ता परिवारलाई १० लाख

बाढीमा ज्यान गुमाएका तथा बेपत्ता कामदारका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने प्रक्रिया थालिएको छ । मृतक परिवारले किरिया खर्चबापत ५० हजार रुपैयाँ, आउनेजाने खर्च ५० हजार रुपैयाँ र तत्कालीन राहत १ लाख रुपैयाँ पाइसकेको निर्देशक वस्तीले बताए । मृतकका परिवारलाई बिमा रकम पनि उपलब्ध हुनेछ ।


१ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत विपद् व्यवस्थापन समितिले दिनेछ । बेपत्ता भएकालाई बिमा कम्पनीले राहत नदिने अवस्थामा मृतक बराबरको राहत दिने विषयमा आयोजना र निर्माणपक्षबीच छलफल भएको उनले बताए । घाइतेको उपचार पनि निर्माण कम्पनीले गर्ने छ ।


२६ करोड क्षति अनुमान

दोर्दीखोलाको बाढीले आयोजनाको हेडवर्क्समा बढी क्षति पुर्‍याएको छ । इन्टेक र डिसेन्डर पुरेको र यहाँ मात्रै करिब १५ करोड क्षति भएको प्रारम्भिक आकलन गरिएको निर्देशक वस्तीले बताए । केही पेनस्टक, सडकलगायत सामग्रीमा पनि क्षति पुर्‍याएको छ । पावरहाउस नजिकै राखिएको मेसिनरी सामग्री बाढीले लगेको छ ।


डोजर, एक्साभेटर, ट्र्याक्टर तथा अन्य सामग्री गरी ११ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । ‘प्रारम्भिक अनुमानमा हामीले २६ करोड बढीको क्षति अनुमान गरेका छौं । विस्तृत जानकारी परामर्शदाताले अध्ययन गरेपछि मात्रै प्राप्त हुन्छ,’ उनले भने । बाढीले क्षति पुर्‍याएपछि रोकिएको आयोजनाको काम

आइतबारदेखि सुचारु भएको छ ।


दोर्दी बाढीले वरपर जोखिम

दोर्दीमा बाढी आएपछि दोर्दी गाउँपालिका ६ को खोला आसपासमा जोखिम बढेको छ । वारपार गर्ने सडकहरू बगाएको छ । फलेनी क्षेत्रका जग्गामा नदीले कटान गरेको छ । केही घर विस्थापित भएका छन् । दोर्दी ६, छोटेखोलाकी निशा तामाङले नदीमा बाढी आएपछि विस्थापित भएको बताइन् । खोलामा बाढी आएपछि घरबार, सडक तथा खेत जोखिममा पारेको भन्दै स्थानीयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।


स्थानीयले नौथरशेरा–ताँजे सडकको स्तरोन्नतिको माग गरेका छन् । दोर्दी वरपरका बस्तीहरू जोखिममा रहेकाले पूर्वसूचना प्रणालीको व्यवस्था, सञ्चार सुविधालाई प्रभावकारी बनाउन र दोर्दी करिडोरको माथिल्लो भेगमा रहेको भौगोलिक अवस्था र पछि हुन सक्ने सम्भाव्य अध्ययन गरिदिन आग्रह गरेका छन् ।


सञ्चार व्यवस्थापनका लागि टेलिकमको टावर निर्माण गरिदिन आग्रह गरेको स्थानीय सुनील घलेले बताए । दोर्दी गाउँपालिका ६, ढोडेनीका अध्यक्ष नन्दराज घलेले नौथर शेरादेखि हिलेबेंसी पारी, कीर्तिपुर, छोटेखोला हुँदै सिमी ताँजेसम्म बाढीपहिरोले जोखिम बढाएको बताए ।

प्रकाशित : श्रावण १४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?