पहाडको बाढीमा पनि परे तराईवासी

आश गुरुङ

लमजुङ — बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ का ३५ वर्षीय सैयद अन्सारी लमजुङको दोर्दीखोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ मा फर्मासेटिङको काम गर्थे ।

पहाडको बाढीमा पनि परे तराईवासी

बुधबार दोर्दीमा उर्लिएको बाढीले उनलाई ८ किलोमिटर तल दोर्दी–४ नौथर शेराको पुलनेर पुर्‍यायो । उनीमात्रै होइन, सँगै काम गरेर पानी परेपछि फर्किंदै गरेका पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३० वर्षीय शिवधनुप्रसाद रायलाई बाढीले बगायो । उनको र अन्सारीको एकै ठाउँमा शव भेटियो । अन्सारी र रायमात्रै होइन, तराई घर भई पहाडका उक्त जलविद्युत्मा काम गर्दै आएका सप्तरीको सप्तकोशी नगरपालिका ८ का भुवनेश्वर चौधरीलाई पनि बाढीले बगायो ।


शिवधनुको शव बुझ्न आएका बाबु गोपालराय थारुले बाढीका कारण गाउँघर विचल्लीमा रहेको बताए । ‘तराइमा बाढीले हामीलाई बगाउने । पहाडमा पनि बगाउने । बाढी भन्ने चिज पनि हामीमाथि नै आउने’ उनले भने, ‘बाढीबाट जोगिन र जोगाउन सकिएन । कहाँ जाउँ, के गरौं ।’ तराईमा गरीब धेरै भएकाले छोरा पनि काम खोज्दै पहाडमा आएको उनले बताए । ‘बर्खा सकिएपछि घर आउँछु भन्थ्यो । तराई डुबानमा पर्दा घरमा के भयो भनेर सोधेको थियो । आज आफैं त्यस्तो भयो’ उनले भने ।


प्रहरीका अनुसार दोर्दीले बगाएर शव फेला परेका ५ जनामध्ये ३ तराईका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका ६ का भानबहादुर बुढा र भोजपुरको ट्याम्केमयु गाउँपालिका ७ का दिवस कटवालको पनि मृत्यु भएको छ । डीएसपी रवीन्द्रमान गुरुङका अनुसार कटुवालको शव ३० किलोमिटर तल गोरखाको पालुङटार–५ को मर्स्याङदी किनारमा फेला परेको थियो ।


गुरुङका अनुसार ५ अझै हराइरहेकामा २ जना तराइका छन् । सप्तरीको सप्तकोशी नगरपालिका ७ का सुरेन्द्र चौधरी र बाराको जितपुर उपमहानगरपालिका १२ का ज्ञानेन्द्र चौधरी बेपत्ता छन् । डडेल्धुराको आलिताल गाउँपालिका ६ का कर्णबहादुर बुढा क्षेत्री, उक्त ठाउँकै देवबहादुर कोली र लमजुङको दोर्दी गाउँपालिका ६ का विनोद तामाङको अवस्था अज्ञात छ ।

इन्सपेक्टर बसन्त पाण्डेका अनुसार बाढीले बगाएर घाइते भएका ८ जनामध्ये ४ जना तराइबासी छन् । बाराका अर्जुन शर्मा, सप्तरीका सुरज सादा, सप्तरीकै सन्तोष सरदार र बाराका हरि विक छन् । डडेल्धुराका धनसिंह एडी, डडेल्धुराकै सुरज बुढा, कैलालीका रमेश विक र बेंसीसहर नगरपालिका ६ का अर्जुन आले घाइते भएका छन् । घाइते अर्जुन आले, अर्जुन शर्मा र हरि विक थप उपचारको लागि काठमाडौंमा पुगेका छन् । रमेश विक डिस्चार्ज भएका छन् । ४ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


आयोजनाकाका अनुसार करिब ३ सय कामदारमध्ये हेडवर्क्सको काममा अधिकांश तराईमुल र सुदूर क्षेत्रका बढी छन् । आयोजनाका संचालक राजेन्द्र वस्तीका अनुसार अहिले उद्दार र खोजीकै क्रममा रहेकाले आयोजनाको क्षतिबारे एकीन भन्न नसक्ने अवस्था रहेको बताए । परामर्शदाता बोलाएर क्षतिको विवरण निकालिने उनले बताए ।


उनका अनुसार ज्यान गुमाएका कामदारका आश्रित परिवारलाई बिमाबाहेक कम्पनीको तर्फबाट दिनसक्ने आर्थिक सहायतबारे व्यवस्थापन पक्षसित छलफल भइरहेको छ । ‘बाढीले ठूलो जनधनको क्षति भयो । अब यतिकै बसेर पनि भएन । काम गर्ने पर्‍यो’ उनले भने, ‘तत्काल बाँध क्षेत्रमा काम गर्न सक्ने अवस्था छैन । सुरुङ र विद्युतगृहको काम सुचारु गर्नेछौं ।’

प्रकाशित : श्रावण ११, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?