राजमार्गका खाल्डा संकेत गराउने टायर !

नारायण शर्मा

(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डमा दुर्घटनाको जोखिम बढेको छ । राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेको २ महिना बितिसक्दा पनि मर्मत नभएपछि दुर्घटनाको जोखिम बढेको हो । लगातारको झरीले खाल्डामा पानी भरिँदा गाडी झन् अनियन्त्रित हुने गरेको स्थानीय बताउँछन् । ‘राजमार्गका मुख्य बजारमा धरापझैं छ’ दुम्किवासका प्रमोद काफ्ले भन्छन्, ‘महिनौं बितिसक्दा पनि खाल्टा पुर्ने काम भएको छैन । यसले दुर्घटनाको जोखिम बढेको छ ।’

राजमार्गका खाल्डा संकेत गराउने टायर !

कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, कीतिपुर बजारमा ठुल्ठूला खाल्टा बनेका छन् । कावासोतीको सभापति चोक आसपासमा राजमार्गका ठूला खाल्डामा टायर राखिएको छ । टायर देखेर चालकले सावधानी अपनाओस् र दुर्घटना नहोस् भनेर त्यसो गरिएको स्थानीय देवबहादुर थापा बताउँछन् । राजमार्गमा खाल्डाले गाडी हिँडाउनै नमिल्ने अवस्था छ । मुख्य राजमार्गमा बाटो काट्नसमेत पैदलयात्रुलाई समस्या छ ।


पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले डिभिजन सडक कार्यालय बर्दघाटलाई पटक पटक टेलिफोन गरी बोलाउँदा पनि अटेर गर्दै आएको दुखेसो पोखे । उनका अनुसार महेन्द्र राजमार्गमा खाल्डा बनेको २४ घण्टाभित्रै पुरिसक्न पर्ने नियम रहे पनि लागू भएको छैन ।


दाउन्ने गैंडाकोट सडक खण्ड हेर्न बर्दघाट सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सुजन अधिकारीले अब बन्ने ४ लेन सडकका कन्ट्रयाक्टरलाई सोझै निर्देशन दिन नमिल्ले र कन्सल्टयान्टलाई यसबारेमा जानकारी दिने कान्तिपुरलाई बताए । बुटवल–नारायणगढ खण्डको अब बन्ने ४ लेन सडकको ठेक्का चिनियाँ ठेकेदारलाई परेकाले काम ढिलाई भएको उनको दाबी छ ।

प्रकाशित : श्रावण ९, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?