कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२८ प्रतिशत बढी कर संकलन

बागलुङ — कार्यालय स्थापना भएको पहिलो वर्ष आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा २८ प्रतिशत बढी कर संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि राखिएको ५१ करोड २३ लाख ५१ हजारको लक्ष्यमा २८ दशमलव ६७ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए । गत वर्षको असोजमा मात्र कार्यालय स्थापना भएर काम थालिएको थियो ।

यसअघि करदाता सेवा कार्यालय मात्र थियो । कार्यालयका अनुसार आयकर ४५ करोड संकलन भएको छ । त्योबाहेक मूल्य अभिवृद्धि कर १६ करोड ८५ लाख र ९२ लाख ९० हजार अन्तःशुल्क कर संकलन भएको हो ।


करदाता बढाउने अभियान सञ्चालन गर्दा एक आर्थिक वर्षमा ६ हजार ७ सय ४८ करदाता थपिएका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङमा करदाता शिक्षा कार्यक्रम, नयाँ करका क्षेत्र पहिचानलगायत गर्दा कर संकलन बढेको हो । गत असार मसान्तसम्म व्यक्तिगत रूपमा २ हजार ३७ जनाले व्यापारिक पान नम्बर लिएका छन् भने व्यक्तिगत रूपमा ४ हजार ५ सय ८ जनाले लिएको उनले बताए ।


एक आर्थिक वर्षमा २ सय ३ व्यवसाय भ्याटमा समेत दर्ता भएका छन् । अहिलेसम्म कार्यालयमा २४ हजार २ सय ७० करदाता सूचीकृत भैसकेका छन् । यसअघि व्यापारिक क्षेत्रले मात्र करको कारोबार गरेका थिए । ‘अघिल्लो वर्ष लक्ष्य निर्धारणको बेला सेवा क्षेत्रको योगदानबारे खासै कुरा भएको थिएन,’ सुवेदीले भने, ‘ट्युसन सेन्टर, होटल व्यवसायलगायतमा कर शिक्षा र आवश्यकताबारे सचेतना फैलाएपछि राजस्व बढेको हो ।’


पछिल्लो समय साना तथा मझौला उद्योग, व्यवसायी, सहकारी संस्था र संस्थागत विद्यालयसमेतले कर तिर्न थालेका छन् ।

कार्यालयमा बैंक र हेल्पडेक्स कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमै नेपाल बैंकको शाखा खोलिएको छ ।


त्यस्तै बागलुङ, पर्वत र म्याग्दीका उद्योग वाणिज्य संघको सहकार्यमा निःशुल्क सेवा दिने गरी हेल्प डेक्स स्थापना गरिएको छ । यो डेक्सबाट सेवाग्राहीले पान नम्बर लिने, व्यवसाय कर तिर्ने, किस्ता र करकट्टीलगायतका सेवामा भर्नुपर्ने फारक तथा अनुसूचीका लागि सहायता पाउनेछन् ।

प्रकाशित : श्रावण ६, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?