कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घरघरै उद्यमी योजना

प्रकाश बराल

बागलुङ — बडिगाड गाउँपालिका–१० दर्लिङकी दुर्गा बुढाथोकी रोजगारीका लागि दुई वर्षदेखि डुल्दै थिइन् । उच्च शिक्षाको प्रमाणपत्र नभएकाले उनले जागिर पाउन सकिनन् । 

गाउँ र बजार क्षेत्रमा सहकारी, गैरसरकारी संस्था र निजी विद्यालयमा पाउन सकिने रोजगारी सबैलाई उनको शैक्षिक योग्यता बाधक बन्यो । बेरोजगारलाई रोजगारका लागि गाउँपालिकाले दिएको तालिम पाएपछि भने उनले रोजगारीका लागि डुल्न छाडिन् ।


अहिले उनले ढाकाका कपडा बुन्न सक्ने भएकी छन् । गाउँपालिकाले खरिद गरेका १५ वटा तानमा उनीहरूले ३ महिनासम्म तालिम लिए । यस्तो तालिमबाट उनले धागोबाट कपडा बुन्न सक्ने भइन् । अब उनले जागिर खोज्दै भौंतारिनुभन्दा घरमै बसेर कमाइ गर्ने भएकी छन् । ‘घरै छाडेर गरिने जागिरभन्दा घरमै बसेर बढी कमाउन सकिने रहेछ,’ बुढाथोकीले भनिन्, ‘अब यो सीपलाई कमाइमा लगाउने हो ।’


बुढाथोकीजस्तै वडा २ दगातुम्डाँडाकी सुमित्रा भुजेल, रणसिंकिटेनीकी जमुना सुनार र ग्वालीचौरकी सुनीता परियारले पनि ढाका बुनाइको काम थालेका छन् । ‘दुई दिन मिहिनेत गर्दा एउटा ढाकाको पच्छ्यौरा तयार हुन्छ, त्यसलाई बेच्दा २ हजारसम्म कमाइ हुन्छ,’ परियारले भनिन्, ‘घरको काम भ्याएर राम्रो कमाइ गर्न सकिने भयो ।’ गाउँपालिकाले घरघरमै उद्यमी बनाएर बेरोजगारी हटाउने, वैदेशिक रोजगारीका लागि युवा रोक्ने अभियान थालेको छ ।


उनीहरूले पच्छ्यौराबाहेक ढाकाको झोला, टोपी, साडी, पर्स र अन्य उपयोगी सामग्री तयार गर्न थालेका हुन् । ढाकाकै कपडा प्रयोग गरेर युवाले इस्टकोट सिलाउन पनि थालेका छन् ।महिलाका लागि सिलाइ, कटाइ र ढाका बुनाइजस्तै युवालाई कृषि र पशुपालनका लागि आकर्षण गरिएको अध्यक्ष मेहरसिंह पाइजाले बताए ।


१० वटासम्म गाई पाल्न चाहने किसानलाई ५ लाख रुपैयाँसम्म अनुदान दिएर दूध उत्पादनमा लगाउने, तोकिएको संख्यामा भैंसी, बाख्रा र भेडापालनका लागि युवा परिचालन गर्ने योजना उनले सुनाए । गाउँपालिकाले कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नकै लागि चालु आर्थिक वर्षका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


तरकारी खेती, किवी र अन्य फलफूलका लागि लगानी खोज्नेलाई पनि गाउँपालिकाले लगानीको योजना बनाएको छ । ‘बजेट नभएकै कारण व्यवसाय गर्न नसकेर पलायन हुन नपरोस् भनेर कोही नहुनेका लागि गाउँपालिका भन्ने नारा ल्याएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले भने, ‘रोजगार प्रवर्द्धन कार्यक्रममार्फत उद्यमका क्षेत्र खोज्ने काम पनि सुरु भएको छ ।’


युवा गाउँमै रमाउने विषय छनोट गरिरहेको पनि उनले बताए । एक घर १० बिरुवा रोप्ने योजना गाउँपालिकाको छ । व्यावसायिक रूपमा फलफूल खेती गर्न चाहनेलाई सयौं बिरुवा उपलब्ध गराउन तयारी गरिएको छ । अनुदानसहितका बिरुवा पाउन युवाहरूले उद्यमी बन्ने योजना बनाउनुपर्छ ।


होमस्टे सञ्चालनका लागि तालिम, एकीकृत नमुना बस्ती र पर्यटन गुरुयोजना बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने सुवेदीले बताए । ‘ती क्षेत्रमा उद्यमी उत्पादन गर्दा रोजगारीका लागि खाडी जानेलाई रोक्न सकिन्छ,’ सुवेदीले भने, ‘चाहेको क्षेत्रमा रोजगार बन्न खोजे गाउँपालिकाले तालिम र प्रविधिमा लगानी गर्छ ।’

प्रकाशित : श्रावण ५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?