२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एकै दिन ३४ प्रतिशत खर्च

असार ३१ गते बिहानसम्म प्रदेश कार्यालयको वित्तीय प्रगति २८ प्रतिशत मात्रै थियो । उक्त दिन राति १२ बजेसम्मको रिपोर्टअनुसार प्रदेश कार्यालयको वित्तीय प्रगति ६२ प्रतिशत पुगेको छ । 
दिप्ती सिलवाल

पर्वत — गण्डकी प्रदेश मातहतका विभिन्न कार्यालयको वित्तीय प्रगति असार मसान्तको दिन सबैभन्दा धेरै देखिएको छ । कृषि, सिँचाइ, भू तथा जलाधार, पूर्वाधार, स्वास्थ्यलगायत कार्यालयले एकैदिनमा ३४ प्रतिशत भुक्तानी दिएको पाइएको हो ।

एकै दिन ३४ प्रतिशत खर्च

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते बिहानसम्म प्रदेश कार्यालयको वित्तीय प्रगति २८ प्रतिशत मात्रै थियो । उक्त दिनको राति १२ बजेसम्मको रिपोर्ट अनुसार प्रदेश कार्यालयको वित्तीय प्रगति ६२ प्रतिशत पुगेको छ ।


‘मंगलबार बिहानसम्म २८ प्रतिशत मात्रै प्रगति थियो,’ प्रमुख कोष नियन्त्रक नवराज सापकोटाले भने, ‘बाँकी ३४ प्रतिशत मंगलबार मात्रै खर्च भएको देखियो ।’ उक्त खर्च एक दिनमा भुक्तानि दिएको देखिएको भए पनि बिविध कारणले भुक्तानि रोकिएको, भर्पाई उठाउन छुटेको लगायतको खर्च देखिएको उनले बताए ।


कोलेनिकाका अनुसार प्रदेश अन्तर्गतका कार्यालयमा विकास बजेट एक अर्व ३ करोड ४७ लाख ७० हजार रुपैयाँ थियो । जसमध्ये ६४ करोड ६० लाख ५७ हजार खर्च भएको देखिएको छ । खर्च भएको रकम ६२ दशमलव ४३ प्रतिशत हो । प्रदेश मातहतका सबैजसो कार्यालय ढिलो स्थापना भएका र बोलपत्र लगायतका प्रक्रियामा जाँदा ढिलाई भएको सरोकारवाला कार्यालयले जनाएका छन् । ‘पहिला कार्यालय नै रहने नरहने दुविधा थियो,’ भु तथा जलाधार व्यवस्थापन कार्यालयका प्राविधिक प्रकाश बस्नेतले भने, ‘ढिला गरि कार्यालय स्थापना भयो । त्यसमा पनि तोकिएका कर्मचारीको आधा पनि दरबन्दी भएन ।’


भू तथा जलाधार कार्यालयमा दशौं तहको अधिकृतसहित १७ जनाको दरबन्दी भएकोमा ५ मात्रै कर्मचारी हुँदा चालुतर्फको बजेट खर्च नभएको बस्नेतले बताए । उनका अनुसार कर्मचारीको तलवभत्ता मात्रै करिव ३७ लाख फिर्ता भएको छ । सिमित कर्मचारीको दरबन्दीबिच पनि कार्यालयले विकासतर्फको बित्तिय प्रगति ९५ प्रतिशत गरेको उनले बताए ।


कोलेनिकाका अनुसार प्रदेश माताहतका कार्यालयमध्ये सबैभन्दा बढी बित्तिय प्रगति भु तथा जलाधार कार्यालयले गरेको छ । मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र स्याङ्जा कार्यक्षेत्र हुने गरी गत भदौमा स्थापना भएको भु तथा जलाधार व्यवस्थापन कार्यालयले ९५ प्रतिशत प्रगति हासिल गरेको हो । त्यसबाहेक कृषि ज्ञान केन्द्रले ९४ प्रतिशत प्रगति हासिल गरेको कोलेनिकाले जनाएको छ ।


प्रदेश माताहतमा सञ्चालन भएका पुर्वाधार विकास कार्यालय, सिंचाई डिभिजन लगायतका ठुला आयोजनासंग जोडिएका कार्यालयमा बित्तिय प्रगति कम भएको छ । ढीलागरि कार्यालय स्थापना भएर बोलपत्र आव्हान गरिएका सडक, पुल, सिंचाई लगायतका योजनाको प्रकृयामा जान ढिलाई हुँदा प्रगति नदेखिएको ती कार्यालयहरूले जनाएका छन् ।


संघको प्रगति सन्तोषजनक

संघीय सरकारबाट प्राप्त बजेट भने सन्तोषजनक खर्च भएको कोलेनिकाको तथ्यांकमा छ । संघबाट प्राप्त एक अर्व ८७ करोड ५१ लाख बजेटमध्ये एक अर्व ५२ करोड ८० लाख ९८ हजार खर्च भएको कोलेनिकाले जनाएको छ ।


कोलेनिकाका अनुसार संघिय कार्यालयहरूबाट पनि असार मसान्तकै दिनमा मात्रै झण्डै १२ प्रतिशत विकासबजेट निकासा भएको थियो ।


संघिय सरकार माताहतका कार्यालयहरूले मंगलबार दिउँसोसम्म ७२ प्रतिशत अर्थात् एक अर्व ३५ करोड ४८ लाख खर्च गरेकोमा मंगलबार मात्रै १७ करोड ८० लाख खर्च भयो । संघको पुँजीगतमा १ अर्व ८७ करोड ५१ लाखमध्ये १ अर्व ५२ करोड ८० लाख ९८ हजार खर्च भयो । यो खर्च जम्मा बजेटको ८३ दशमलव ९८ प्रतिशत हो ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?