कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अपांगमैत्री संरचना नहुँदा परिचयपत्र लिन सास्ती

बिना थापा

कास्की — पोखरा–११ फूलबारीकी ३२ वर्षीया दुर्गादेवी घिमिरे जन्मजातै अपांग हुन् । उनको न हात चल्छ, न खुट्टा । ह्विलचियरमा हिँड्ने उनी सहयोगीबिना कहीँ जान सक्दिनन् । पोखरा महानगरपालिका कार्यालयमा सोमबार अपांग परिचयपत्र लिन आएकी उनले सास्ती खेप्नुपर्‍यो ।

अपांगमैत्री संरचना नहुँदा परिचयपत्र लिन सास्ती

महानगरपालिका कार्यालयको संरचना अपांगमैत्री नहुँदा परिचयपत्र बनाउन आएका अपांगले सास्ती भोग्छन् । दुर्गादेवीका बुबा बेदराज घिमिरेले महानगर कार्यालय नै अपांगमैत्री नहुँदा दुःख पाएको बताए । ‘छोरीलाई बोक्न पनि सम्भव छैन,’ उनले भने, ‘घरबाट ट्याक्सीमा सजिलो गरी ल्यायौं तर महानगर छिरेपछि गाह्रो भयो ।’ परिचत्रपत्र बुझ्ने कोठासम्म पुग्दा कतै अग्लो र कतै होँचो ठाउँ हुँदा ह्विलचियर गुडाउन अप्ठेरो भएको उनले सुनाए ।


उनले परिचयपत्र वितरण प्रणाली समेत व्यवस्थित नभएको गुनासो गरे । ‘बूढो मान्छेले सकिनसकी ह्विलचियर भित्र लगियो, भित्र छिरेपछि पनि धेरै समय कुर्नुपर्‍यो,’ उनले भने, ‘न सिस्टम छ न कार्यालय भवन अपांगमैत्री छ, सबै भद्रगोल देखियो ।’ परिचयपत्र वितरण गर्ने कोठासम्म पुग्ने बाटो मात्रै अपांगमैत्री बनाए धेरै सहज हुने उनी बताउँछन् । भने, ‘अपांगमैत्री बाटो बनाउन नसके मूल गेट छिर्नेबित्तिकै परिचयपत्र वितरण गर्दा हुन्छ ।’


परिचयपत्र लिन महानगर पुगेका भरतविक्रम बानियाँले गेटदेखि नै ह्विलचियर छिराउन गाह्रो हुने बताए । गेटबाट प्रवेश गरेपछि ठाउँठाउँमा कर्मचारीले मोटरसाइकल पार्किङ गरेर राख्दा बाटोमा अवारोध पुगेको उनले सुनाए । ‘मोटरसाइकलवाल कता हुन्छ जानकारी हुँदैन, महानगरले कुनै चासो देखाएको छैन,’ उनले भने, ‘सुरक्षा गार्डलाई सवारीसाधन हटाउन भने पनि वास्ता गर्दैनन् ।’ परिचयपत्र बाँड्नुमात्रै ठूलो कुरा नभएकोले अपांगमैत्री संरचनामा पनि महानगरले ध्यान दिनुपर्ने उनको तर्क छ ।


परिचयपत्र वितरणलाई व्यवस्थित बनाउन अपांगको अवस्था र दर्ता संख्या हेर्नुपर्ने सुझाव उनले दिए । परिचयपत्र लिने ठाउँ खचाखच हुँदा पानीमा भिज्नुपरेको गुनासो उनले गरे ।


पोखरा–१६ अर्मलाबाट परिचयपत्र लिन महानगर कार्यालय आएका मनोज गुरुङले परिचयपत्र लिन उस्तै सास्ती खेपे । उनले परिचयपत्र लिन दिनभर कुरेर बस्नुपरेको उल्लेख गरे । ‘दृष्टिविहीन, बौद्धिक अपांग, शारीरिक अपांग गरी छुट्याएर बाँड्ने हो भने समय लाग्ने थिएन,’ उनले भने ।


महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले ३८ वर्ष अघि बनाएको संरचना भएकोले अपांगमैत्री बनाउन सम्भव नभएको बताइन् । ‘अपांगलाई महानगर आउन कसरी सहज गर्ने भन्नेमा सचेत छौं,’ उनले भनिन्, ‘संरचना साँघुरो छ । अब नयाँ भवन नबन्दासम्म विकल्प छैन । नयाँ बन्ने भवन अपांगमैत्री बनाउँछौं ।’ परिचयपत्र लिनेको संख्या धेरै भएको दिनमा सोहीअनुसार व्यवस्थापन गर्ने उनले जनाइन् ।


महानगरले ६ महिनाअघिदेखि अपांग परिचयपत्र बाँड्न सुरु गरेको हो । हरेक महिनाको अन्तिम सोमबार महानगरभित्रका अपांगले परिचयपत्र बुझ्छन् । महानगरले हालसम्म २ सय ४८ अपांग परिचयपत्र वितरण गरिसकेको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?