कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वन्यजन्तुको आक्रमण बढ्यो

प्रताप रानामगर

दमौली — तनहुँमा केही समययता वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेको पाइएको छ । जिल्ला वन कार्यालयको तथ्यांक हेर्दा अहिलेसम्म वन्यजन्तुको आक्रमणबाट भानुमा मात्र ४ बालबालिकाले अकालमा ज्यान गुमाएका छन् । घर आँगनमै आएर चितुवाले आक्रमण गरेपछि स्थानीय त्रासमा छन । 

डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वन अधिकृत केदार बरालले बताए । ‘भानुमा चितुवा र भालुको त्रास छ,’ उनले भने । चितुवाको आक्रमणबाट ०७४ फागुन महिनामा भानु– ३ का ६ वर्षीय विशाल श्रेष्ठले ज्यान गुमाए ।


त्यसैगरी ४ वर्षीया रन्जिता लम्साल, गोरखा घर भई मामाघर भानुमा बस्दै आएका अमृत गुरुङ पनि घरआँगनमा खेल्नेक्रममा चितुवाको सिकार बन्न पुगे । गत जेठ महिनमा भानु–२ का ८ वर्षीय पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको उनले बताए । मृतक तीन जनाको परिवारलाई १० लाख रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ । अधिकारीको भने प्रक्रियामा छ ।


‘घटनापछि वन्यजन्तुको त्रास छ,’ उनले भने, ‘वन्यजन्तुबाट सुरक्षित रहन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ दर्जन बढी विद्यालयका विद्यार्थीलाई वन्यजन्त आक्रमणबाट सुरिक्षत हुने तरिका सिकाइएको छ । घरवरपरका झाँडी तथा बुट्यान फाँड्न भनिएको छ । जंगलमा चितुवाको आहार नभएकाले गाउँमा पसेर बालबालिकालाई आक्रमण गरेको हुनसक्ने बरालले बताए । मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण गर्न जंगलमा चितुवाको बासस्थान पहिचान गरी आहाराको व्यवस्थापन तयारी भइरहेको छ ।


जंगलमा खरायो, मृगजस्ता जीवजन्तु संरक्षण गरेर चितुवालाई जंगलमा भुल्ने वातावरणको व्यवस्था गर्ने उनले बताए ।

चितुवाले बालबालिकामाथि आक्रमणका घटना भएकाले स्थानीयमा त्रास अझै रहेको स्थानीय नानबहादुर अधिकारीले बताए । पछिल्लो घटनापछि चितुवा घरघरमा आएर बाख्रालाई आक्रमण गर्न आएको छ ।


मान्छेलाई पनि नगर्ला भन्न नसकिने उनको भनाइ छ । ‘आधा दर्जन बाख्रा मारिसकेको छ । घटनाबारे डिभिजन वन कार्यालयमा खबर गरेका छौं,’ उनले भने, ‘वर्ष दिनदेखि चितुवाको त्रासमा बसिरहेका छौं ।’ एक दुई दिन सशस्त्र प्रहरीको टोलीले गस्ती गरे पनि अहिले छाडेकाले आफूहरू त्रासमा रहेको बताए ।


भालुको आक्रमण परी भानुमा ३ घाइते भएका डिभिजन वन कार्यालयका कर्मचारी पुष्प खनालले बताए । ०७५ कात्तिकमा भानु ११ का ४८ वर्षीय भीमबहादुर तामाङ, ०७४ वैशाखमा प्रेम बानिया र ६० वर्षीय चिजबहादुर कुँवर भालुको आक्रमणबाट घाइते भएका हुन् । घाइतेको औषधी उपचार खर्च प्रावधान अनुसार राज्यबाट रकम दिएको छ । भानु ११ र १३ मा भालुको त्रास छ ।


यहाँका आधा दर्जन गाउँमा रातभर घरआगनमा भालु डुल्ने गर्छन् । गाउँमा भालुको त्रास रहेको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताए । ‘बारीको मकै भालुले खाएका छन्,’ उनले भने, ‘गाउँलेले मकै बारीमा राँको र बत्ती बाल्ने गरेका छन् ।’ साँझ परेपछि गाउँका मानिस समूहमा हिँडने गरेको उनले बताए ।


सम्जुर, बकैले, धनुबास, अतभैया, माझगाउँ र सिरना गाउँ दैनिक रातको समयमा भालु आउने गरेको छ । भालुले मुस्लिम समुदायको चिहानबाट गाडेको लास खोतल्न थालेपछि झनै त्रास बढेको छ । भालुको मुख्य आहारा फलफूल भएकाले जंगलमा फलफूलका बिरुवा रोप्नुपर्ने वन अधिकृत बरालले बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?