मेहनती पाइजा

५ सय रूपैयाँको कोदो र मकै फल्ने बारीको सदुपयोग गर्दा किबीबाट वार्षिक १० हजार कमाउन सकिने मेहरसिंह बताउाछन्
प्रकाश बराल

बागलुङ — उनी गाउँपालिका अध्यक्ष हुन् । नाम मेहरसिंह पाइजा । बडिगाढ गाउँपालिका प्रमुख ५७ वर्षीय पाइजाको घर गाउँपालिका केन्द्र रहेको ग्वालीचौरदेखि ३ घण्टा उकालो चढेपछि पुगिन्छ । अधिकांश दिन गाउँपालिकाको काम सकेर उनी घरै पुग्छन् ।

घरमा श्रीमती मनकुमारी मात्र छिन् । दुई छोरा काम विशेषले बाहिर हुन्छन् । उनको गोठमा गाईभैंसी, बाख्रा, कुखुरा प्रशस्त छन् । त्यति मात्र हैन, झन्डै ५० रोपनी जमिनमा उनको खेतीपाती छ । सार्वजनिक पदमा पुगेका र केही पैसा कमाएकाले खेतीपाती गर्न छाडिसकेका छन् तर उनी अध्यक्ष भए पनि कृषि कर्ममै उदाहरणीय बनेका छन् ।

पाइजाको बारीमा सबैभन्दा धेरै किबी खेती छ । डेढ दशकअघि उनले रोपेका ५ सयमध्ये २ सय बिरुवामा किबी फलेको छ । समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको उनको घरमा गर्मीमा पनि चिसो छ । त्यसैले अधिकांश खेतीपाती जाडो मौसममा पाइने छन् । उनले बारीमा स्याउदेखि सुन्तलासमेत रोपेका छन् । केही वर्षदेखि स्याउ फलेपछि उनलेउत्पादन बढाउने लक्ष्य राखेका छन् ।

किबी फलफूलमध्येको सबैभन्दा बढी माग र मूल्य भएकामा पर्छ । अहिले उनको बारीमा लटरम्म फलेका किबीमध्ये एउटै बोटमा डेढ सय केजीदेखि दुई क्विन्टलसम्म फलेको छ । आगामी वर्ष थप ३ सय बोटमा फल्ने तयारी छ । ‘सबै बोटमा फलेपछि ट्रकमै लोड गरेर बजारमा पठाउन सकिन्छ,’ पाइजाले भने, ‘उत्पादन बढाउने हो ।’ उत्पादन गर्नसके बजारकोचिन्ता लिन नपर्ने उनले बताए ।

उनले एक्लै किबी खेती गरेका होइनन् । गाउँका ४५ घरमा पनि किबी फलाउन लगाएका छन् । केहीले थोरै र केहीले १ सयदेखि २ सय बोटसम्म लगाएको उनले बताए । गाउँकै जितबहादुर पाइजा र लालमाया बुढाले पनि व्यावसायिक रूपमा किबी फलाएका छन् । सबैले एकैपटक धेरै फलाएपछि गाउँघरमा खाने मात्र नभई मनग्य कमाइ गर्ने गरी बिक्री गर्न सकिने उनले बताए ।

‘मैले मात्र होइन, अब हरेक घरले कम्तीमा १० वटा फलफूलका बिरुवा रोप्नुपर्छ,’ उनले भने, ‘अर्गानिक कृषि फसल फलाएर आयातलाई रोक्नुपर्छ ।’ तरकारी, अन्नबाली र फलफूल किनेर खानै नपर्ने वातावरण तयार गर्न घरघरबाटै अभियान थाल्नुपर्ने उनले बताए । ५ सय रुपैयाँको कोदो र मकै फल्ने बारीको सदुपयोग गर्दा किबीबाट वार्षिक १० हजार कमाउन सकिने उनले बताए । अहिले पाइजाले किबीको उत्पादनबाट मात्रै १० लाख कमाउने दाबी गरे ।

गाउँपालिकाले पनि किसानलाई फलफूल र अन्य बोटबिरुवा रोप्न चाहेमा खरिद गरिदिने कार्यक्रम बनाएको छ । ‘किबीकै बिरुवा रोप्न चाहे पनि निःशुल्क उपलब्ध गराउने हो,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले भने, ‘उत्पादन अत्यधिक भयो भने गाउँमै जुस र वाइन उद्योग खोल्न सकिन्छ ।’

अध्यक्षले झं सबै गाउँलेले मेहनत देखाए भने गाउँमै करोड भित्र्याउन धेरै समय कुर्नु नपर्ने उनको भनाइ छ । भूगोल र वातावरणले किबीका लागि उपयुक्त भएकाले यो गाउँपालिकाको रणसिंकिटेनी, जलजला र ग्वालीचौरमा किबी विस्तार गर्ने उनले योजना सुनाए । ‘कृषिबाटै समृद्धि खोज्ने हो भने सयौं युवा रोजगार पनि बनाउन सकिन्छ,’ उनले भने, ‘फलफूल बिरुवा खरिदकै लागि आगामी वर्षको बजेटमा १० लाख रकम विनियोजन गरिएको छ ।’

अध्यक्ष पाइजाले जडीबुटी खेती पनि गरेका छन् । सतुवा, दाँतेओखर, जापानी ओखर, चिराइतोलगायत दर्जन बढी जडीबुटी छन् । मेहनत मात्र नभई उनले जडीबुटीको उपयोगबारे पनि अध्ययन गरेका पाइजाले औषधिजन्य उद्योगसमेत सञ्चालन गर्न सकिने बताउँछन् । कृषि र जडीबुटीमा लगानी गर्दा हरेक घरले वार्षिक ५ देखि १० लाख कमाउन सकिने बताउँछन् ।

उनको मेहनत देखेर उपाध्यक्ष अमरबहादुर श्रीस दंग पर्छन् । पेसाले स्वास्थ्यकर्मी श्रीसले जडीबुटीलाई औषधि बनाउन सकिने बताए । ‘उद्योग सञ्चालन गर्न सकिन्छ,’ श्रीसले भने, ‘राम्रो उत्पादन भयो भने असम्भव भन्ने छैन ।’ उनको यो अभियानलाई श्रीमती मनकुमारीसहित छोरा राजन पाइजाले पनि साथ दिएका छन् । राजन मार्सल आर्टका खेलाडी हुन् । बचेको समय घरमा पुगेर बाबुको काममा साथ दिने गरेका छन् ।

गाउँमा लघु जलविद्युत् आयोजना निर्माण गर्नेदेखि सडक, खानेपानी र कृषिका महत्त्वपूर्ण योजना भित्र्याउन ३० वर्षदेखि लागेकै कारण अहिले उनले अध्यक्षको भूमिका पाएको छिमेकीले बताए । ‘सानैदेखि मेहनती थिए, अहिले अध्यक्ष भएर पनि उस्तै मेहनत गर्छन्,’ उनका दौंतरी दलबहादुर पाइजाले भने, ‘राजनीतिक दलको भन्दा सामाजिक अगुवाकै भूमिका निर्वाह गरेका छन् ।’ उनकै अगुवाइमा बनेको चाचलघाट लघु जलविद्युत् आयोजनाले गाउँ झिलिमिली भएको छ । यहाँ राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन ।
कृषि कर्म गरेकै कारण सेवाग्राहीलाई उनले कहिले पनि अप्ठ्यारो पारेका छैनन् । बरु पहिरोले सडक अवरुद्ध हुँदा तत्काल डोजर पठाएर बाटो खुलाउन लगाउँछन् र बिरामीलाई उपचारका लागि अस्पताल पठाउँछन् । उनले गाउँपालिकाको बजेटले गाडी पनि किनेनन् । नकिन्ने निर्णय गरेपछि मन्त्रालयमा खाली बसेको पुरानो जिप ल्याएर मर्मत गरेर चलाएका छन् । घर जानुपर्दा उनी भाडाकै जिप चढेर जान्छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

न्यायिक समितिमा ७४ विवाद

सम्झना रसाइली

तनहुँ — बन्दीपुर गाउँपालिकाको न्यायीक समितिमा ७४ विवादका निवेदन दर्ता भएका छन् । दर्ता निवेदनमध्ये धेरैजसो घरेलु हिंसाका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक करुणा गुरुङका अनुसार आर्थिक वर्ष २०७५/०७६ को असार तेस्रो सातासम्म ४० मध्ये २५ मुद्दा टुंगिएका छन् भने अघिल्लो आर्थिक वर्षमा ३४ विभिन्न विवादका निवेदन दर्ता भएकामा सबै फर्छ्योट भएका छन् ।

न्यायिक समितिमा श्रीमान्–श्रीमतीबीचको झगडा, वैदेशिक रोजगारमा गएको बेला आर्थिक हिनामिना गरेको, पारिवारिक झगडा, लेनदेन, जग्गा मिचेकोजस्ता विवादका मुद्दा दर्ता हुन आएको संयोजक गुरुङले बताइन् । उनका अनुसार अधिकांश विवाद दुवै पक्षको सहमतिमा मिलापत्र गराएर टुंग्याउने गरिएको छ ।

‘दुवै पक्षलाई राखेर सकेसम्म मिलापत्र गराएर पठाउने गरेका छौं । समितिले परामर्श दिँदै आवश्यक परे घरदैलोमै पुगेर समस्या बुझी निष्पक्ष भई समाधान गर्दै आएका छौं,’ उनले भनिन्, ‘समितिको क्षेत्राधिकारभित्रका विवाद लिएर गाउँपालिकावासी आउने गरे पनि आवश्यक परामर्श दिई जिल्ला प्रहरी वा अदालत जान सहजीकरण गरेका छौं ।’

दुई मुद्दा जिल्ला अदालत पुगेका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका अधिकार निरूपण गर्न संविधानको धारा २१७ मा स्थानीय तहमा न्यायिक समितिसम्बन्धी व्यवस्था कायम गरिएको छ । गाउँपालिकाको हकमा उपाध्यक्ष र नगरपालिकाको हकमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरी कार्यसम्पादन गर्नुपर्ने व्यवस्था रहेको छ ।

न्यायिक समितिको संयोजकका रूपमा न्यायसम्पादन गर्दा कानुनी ज्ञानको आवश्यकता पर्ने बताउँदै गुरुङले काम गर्दै जाँदा बुझिने बताइन् । कानुनी जटिलता आउँदा कानुनी सल्लाहकारसँग आवश्यक परामर्श गरी विवाद सल्टाउने गरेको उनको अनुभव छ । त्यस्तै आफ्नो क्षेत्राधिकारभित्रका मुद्दामामिला मात्र दर्ता गरिने गरेकाले पनि त्यस्तो कानुनी जटिलता झेल्न नपरेको उनी बताउँछिन् ।

संविधानमा उल्लिखित भएअनुसार न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबन्डा, लैंगिक हिंसा, बाँध, कुलो, पोखरी, पानीको बाँडफाँट, बाटो निकास मिचेको विवादजस्ता मुद्दाको टुंगो लगाउन पाउँछन् । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग गरी न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा बसेको छिनोफनोबाट गरिएको मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : असार ३१, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×