कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तोकिएको समयमै बन्यो पुल

(गण्डकी) — एउटै ठेकेदारले धेरै योजनाको ठेक्का लिने । ठेक्का लिएर समयमा नै काम नगर्ने । अधिकांश योजना पुनः भत्काउनुपर्ने गरी काम गर्दै आएको अवस्थामा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा निर्माण गरिएको मोटरेबल पुलको काम तोकिएको समयमा नै सम्पन्न भएको छ । 

नौडाँडा–बिचारीचौतारा–कार्कीनेटा सडकखण्डअन्तर्गतको जुग्लेखोलामाथिको पुल निर्माणको समय एक वर्षको भए पनि ८ महिनामै सकिएको हो । पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार उद्घाटन गरे । २२ मिटर लम्बाइको पुलको चौडाइ ६ मिटर रहेको छ ।


पुल २ करोड ९५ लाख ९१ हजारको इस्टिमेट गरे पनि ठेकेदारसँग सम्झौता भने २ करोड २० लाख ७० हजार रुपैयाँमा गरिएको थियो । पुलको २ इन्च उचाइ बढाइएकाले लागत बढेर २ करोड ४७ लाख ५४ हजार रुपैयाँमा सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचीव ईश्वरचन्द्र मरहट्ठाले बताए । पुल गजिन्द्र निर्माण सेवा प्रालिले बनाएको हो ।

गत कात्तिक १९ मा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पुलको शिलान्यास गरेका थिए । आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले तोकिएको समयभित्रै पुल निर्माण गर्ने बाचा गरेअनुरूप काम भएको बताए । ‘जिल्लामै पहिलोपटक समयभित्रै पुल निर्माण भएको यो एउटै उदाहरण हो,’ उनले भने, ‘हामीले प्रदेश सरकार, ठेकेदार कम्पनीसँग सहकार्य गरी कामको निगरानी गर्दै आएका थियौं । त्यसको परिणाम हो यो ।’


पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको मर्मअनुसार गण्डकी प्रदेशले काम गरेको बताउँदै स्थानीय उत्पादनसँग जोडिनुपर्ने बताए । ‘हामीसँग सहकार्य गर्नुस्,’ उनले भने, ‘देशका तीन तहका सरकारमध्ये कान्छो सरकार प्रदेश सरकार हो । हामी जनताको घरघरमा पुगेका छौं । कहाँ छ सरकार भन्नेलाई हामीले गरेका काम देखाउँदै मुख्यमन्त्री कार्यालय आउनुहोस् । हामीसँग आएपछि फाइदा लिएर जानुहुनेछ ।’


उनले केही गर्छु भन्ने मानसिकता लिएर कार्यालय आए मात्र सरकारले लगानी गर्ने बताए । मुख्यमन्त्री गुरुङले शनिबारै सोही सडकको बासकोट खोलामा बन्ने पुल र सडकको पिच गर्ने कामको पनि शिलान्यास गरे । असार ६ मा सम्झौता गरिएको पुल निर्माणको अवधि ०७७ असार १७ सम्म छ । १ करोड १८ लाख ६० हजार लागतमा पुल बन्न लागेको हो । पुलको लम्बाइ १० मिटर र चौडाइ ६ मिटर रहनेछ ।


०३५ सालमा बनेको सडकको स्तरोन्नति हुन नसकेका कारण विकासमा पछाडि परेको अध्यक्ष पौडेलले बताए । सडकको पिचका लागि गण्डकी प्रदेश सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । सडकले पर्वत जोड्छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, प्रदेश सांसद मीनप्रसाद गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासलगायतले विकासले गति लिएको दाबी गरे ।


प्रकाशित : असार ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?