तिब्बती सिमानाको २६ किलोमिटर ट्र्याक खुल्यो

गोरखा — तिब्बतको सिमाना जोड्ने लार्के सडक खण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले २६ किलोमिटर ट्र्याक खोलेको छ  । हावाडाँडाबाट सल्लेरीसम्मको ट्र्याक खुलेको हो  ।

सल्लेरी खण्डमा रहेको पानीको पाइप, बिजुलीका पोलहरू सार्ने काम सकेर सल्लेरीबाट काम थाल्ने तयारी भइरहेको सेनाले जनाएको छ । बेनीघाट–लार्के सडक खण्डअन्तर्गत हावाडाँडाबाट काम सुरु गरेको सेनाले सल्लेरीसम्मको क्षेत्रमा खण्ड छुट्टाएर काम गरिरहको छ ।

राष्ट्रिय गौरवको सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको सेनाका एक अधिकृतले बताए ।

‘कडा चट्टान रहेको ६–७ किलोमिटर ब्लास्टिङ नगरी खोल्न सकिएन,’ उनले भने । बेनीघाटदेखि लार्केसम्मको १८६ मध्ये ६२ किलोमिटर सडकको काम सडक विभागले गरेको हो । हावाडाँडादेखि लार्केसम्मको ११८ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । २०७४ वैशाख ११ गते तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीले सडकको शिलान्यास गरेका थिए । ट्र्याक खोल्ने काम आर्थिक वर्ष २०७८/०७९ सम्म सक्ने लक्ष्य राखिएको छ ।

यतिबेला ५ सय जना काममा खटिएका छन् । जोखिम हुने भन्दै वैकल्पिक बाटोको प्रयोग गर्न स्थानीयलाई भनिएको छ । ट्र्याक खुलेसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको खण्डमा हिउँदमा गाडी चलेको थियो । गाडी गुडेपछि स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको माछाखोलाका धनबहादुर गुरुङले बताए ।

‘बर्खा लागेसँगै बाटो बिग्रिएर असार २१ गतेबाट गाडी चल्न छाड्यो, अब असोज नलागी गाडी चल्दैन,’ गुरुङले भने, ‘खच्चडबाट सामान बोक्न थालेका छौँ ।’ तातोपानीसम्मको खण्डमा गाडी गुड्न मिल्ने भए पनि सडक निर्माणाधीन अवस्थामा रहेको भन्दै नेपाली सेनाले माछाखोलाबाट सवारी आउजाउ भने नखुलाएको उनले बताए ।

लार्केभञ्ज्याङसम्मको सडकको ट्र्याक खोलिएसँगै गुम्दा लापु, उहिया, काशीगाउँ, केरौँजा, सिर्दिबास, विही, प्रोक र सामागाउँवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक खण्डलाई तिब्बतदेखि वीरगन्जसम्मको छोटो दूरीको रूपमा पनि लिइएको छ । ट्र्याक खुले पनि तातोपानीमाथिको क्षेत्रमा गाडी गुड्न नमिल्ने स्थानीयले बताए ।

‘अहिले ट्र्याक मात्र खुलेको हो, यसलाई सफा गरेर गाडी गुड्न मिल्ने बनाउन समय लाग्छ,’ सिर्दिबासका शेरबहादुर गुरुङले भने, ‘ट्याक्टर मात्र चल्न सक्ने सडक भए पनि सामान वोक्न सजिलो हुन्थ्यो ।’ बर्खामा पैदलमार्ग पनि असुरक्षित हुने भन्दै ढुवानीमा सारै समस्या रहेको स्थानीय बताउँछन् ।


यहाँको ११ स्थानीय तहमध्ये सडक सञ्जालले नछोएको चुमनुव्री गाउँपालिकामात्र हो । गाउँपालिकाको ७ वडाका स्थानीयले दैनिक उपभोग्य सामाग्री खच्चडबाट बोकाएर लाने गरेका छन् ।

प्रकाशित : असार २९, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?