बन्यो नौमती बाजा पार्क

कान्तिपुर संवाददाता

(पोखरा) — अग्रभागमा २ ठूला सनई छन् । पछाडि दाइनेतर्फ ट्याम्को, दमाहा र झ्याली । देब्रेतर्फ ढोलकी, दमाहा र झ्याली रहेका छन् । अन्तिममा २ वटा नरसिंगा राखिएको छ । सबै बाजालाई सहज रूपमा अवलोकनका लागि सिँढी बनाइएको छ । संरक्षणका लागि तारजालीले बेरिएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरीमा परम्परागत नौमती (पञ्चे) बाजा पार्कको दृश्य हो यो । सुरुमा कर्नाल मात्रै राख्ने योजना बनेकोमा संघीय सरकारले आवश्यक बजेट उपलब्ध गराएपछि गाउँपालिकाले नौमतीका सबै बाजा राखेर पार्क बनाएको हो । नेपाली परम्परागत बाजा र संस्कृति झल्काउने उद्देश्य यसको छ ।

‘ग्रामीण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको गाउँमा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्‍याउन पार्क बनाएका हौं,’ वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले भने, ‘पार्कलाई विस्तार गरी ढिकीजाँतो, उखु, निबुवा पेल्ने कोल पनि राख्ने योजनामा छौं ।’

सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । धितालमा दमाई समुदायको बसोबास छ । उनीहरूले नौमती बाजा पनि बजाउँछन् । यहाँका बाजा ‘राम्रो’ भनेर देशैभरि चर्चित छ । गाउँको पहिचान नौमती बाजा पनि भएकाले पार्क बनाउने निर्णय गरिएको ढुंगानाले बताए । पार्क निर्माण समितिका अध्यक्ष सुनील दाहालका अनुसार ३ सय किलोग्राम तामाको प्रयोगबाट ९ वटा बाजा बनाएर राखिएको छ ।

यसका लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ‘मुस्ताङबाट कालीगढ ल्याएर बाजा बनाइएको हो,’ उनले भने, ‘पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा ‘प्रोडक्ट’ बनेको छ । यसले पर्यटकको बसाइ लम्बिने विश्वास लिएका छौं ।’ पार्क निर्माणका लागि गाउँपालिकाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँमा पार्क बन्दा खुसी लागेको र यसले परम्परागत बाजाप्रतिको सम्मान गरेको स्थानीय राजु परियारले बताए । बाजा र आफ्नो पेसाप्रति हीनताबोध गर्दै आएको बेला पार्क बनाएर बाजा राख्नाले बाजा र पेसाको महत्त्व बुझाउने काम भएको उनको भनाइ थियो ।

‘परम्परागत बाजा र पेसा लोप हुँदै गएका बेला नौमती बाजाको पार्कले समुदायमा मनोबल बढाउन प्रोत्साहन गरेको छ,’ उनले भने, ‘अब गाउँपालिकालगायत निकायले पुराना पुस्ताका वाद्यवादकलाई सम्मान गरे अझै हौसला बढ्ने थियो ।’ सीप र कला भएकामा हीनताबोध भएको र नयाँ पुस्ता आकर्षण नभएका बेला पार्कले संस्कृति संरक्षण गर्नुपर्छ भन्ने युवामा सूचना प्रवाह गरेको उनले बताए ।

उक्त स्थान ट्रेकिङ रुट पनि पर्छ । गाउँमा होमस्टे र होटलसमेत सञ्चालनमा छन् । आन्तरिक र बाह्य पर्यटकको पनि चहलपहल हुन्छ । ग्रामीण जनजीवन, संस्कृति, हिमशृंखलाको दृश्यावलोकन, शान्त र रमणीय गाउँमा पार्क बनेर थप पहिचान भएको स्थानीय सुन्दर गुरुङले बताए ।

‘नेपाली परम्परागत बाजा र संस्कृतिको विषयमा जान्ने मौका पनि यसले दिएको छ,’ उनले भने, ‘अब व्यापार व्यवसाय पनि फस्टाउने देखिन्छ ।’ पार्क बनेपछि हेर्नकै लागि पर्यटक आउन थालेको स्थानीयले बताए । करिब दुई रोपनी सार्वजनिक जग्गामध्ये ४ आनामा बाजा राखिएको छ । अरू जग्गामा सांस्कृतिक संग्रहालय बनाउने योजनामा स्थानीय छन् ।

प्रकाशित : असार २६, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

विकास पर्खंदै छिम्केश्वरी

सम्झना रसाइली

(तनहुँ) — जिल्लाकै उच्च स्थानमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्वको छिम्केश्वरी क्षेत्र यतिबेला बिकासको पर्खाइमा छ । उच्च पहाडी भू–धरातल भएका कारण यो क्षेत्रमा विकासका गतिविधि न्यून हुँदा अहिले ओझेलमा परेको छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरी मन्दिर जाने पैदलमार्ग निर्माण गर्दै स्थानीय । तस्बिर : सम्झना/कान्तिपुर

ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने २१३४ मिटर उचाइको छिम्केश्वरी पुज्य र आराध्य स्थलको रूपमा मानिन्छ । धार्मिक तथा सांस्कृतिक पदयात्राबाट परिचित यस क्षेत्रको तीनैतिरबाट त्रिशूली, मर्स्याङ्दी र सेती नदी बगेका छन ।

छिम्केश्वरीलाई गोरखा मनकामना मन्दिरको दिदीका रुपमा पुजिन्छ । ‘छिम्केश्वरी माई र यस क्षेत्रको विकासका लागि स्थानीयले आवाज उठाउन नसक्दा ओझेलमा परेको हो,’ छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले भने । उच्च भूभागका कारण सडक, खानेपानी, सञ्चार र बिजुली जस्ता आधारभूत पूर्वाधारबाट पनि यो क्षेत्र पछाडि परेको छ ।

‘खानेपानीको लागि आकासे पानीको भर पर्नुको विकल्प छैन,’ गुरुङले भने, ‘मन्दिर क्षेत्र वरपर सहज रूपमा पानी नपाउँदा पूर्वाधार निर्माणको कामले पनि गति लिन सकेको छैन । छिम्केश्वरी माईकी बहिनीहरू मनकामना र गोरखकाली धेरै अघि पुगिसके, यस क्षेत्रको विकास र यस मन्दिरको महिमाबारे प्रचार गराउन चासो नदेखाउँदा ओझेलमा पर्‍यो ।’

मन्दिर क्षेत्रको पुनर्निर्माण तथा पहुँच मार्ग निर्माणका लागि स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि स्थानीयमा केही आशा जगाएको छ । पुरानो ढुंगाले छाएको मन्दिरलाई भत्काएर २ महिनायता नयाँ पक्की मन्दिर निर्माणको काम अगाडि बढाइएको छ । आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षमा उपलब्ध गराएको २० लाख रुपैयाँले मन्दिर, परिसरको पूर्वाधार निर्माण कार्य थालिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

‘आगामी वर्षका लागि २५ लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने सामग्री ल्याउन सहज नभएका कारण बजेटको आधाभन्दा बढी रकम ढुवानीमै खर्च हुने गरेको छ ।’

अहिलेसम्म मन्दिर पुग्ने सहज बाटो बनेको छैन । आँबुखैरेनी बजारदेखि करिब १९ किलोमिटरसम्म कच्ची सडक विस्तार भएको छ । त्यहाँबाट करिब ५ किलोमिटरमाथि डाँडामा रहेको मन्दिरमा निर्माण सामग्री लग्न मानिसले नै बोक्नुपर्ने बाध्यता छ । मन्दिर पुग्ने सिँढी निर्माणका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमले मन्दिर परिसरबाट ५ सय मिटर पैदलमार्ग निर्माण थालिएको छ ।

गाउँपालिकाका विभिन्न पर्यटकीय गन्तव्यको प्रचार र संरक्षणका लागि गुरुयोजना बनाए पनि त्यसअनुसार चल्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताए । उनले भने, ‘गाउँपालिकाको योजना अनुसार बन्दीपुरमा केवलकार बनिसकेपछि त्यहाँ आउने पर्यटकलाई पैदलयात्रा मार्फत छिम्केश्वरी ल्याउने हो ।’

बन्दीपुरबाट हिलेखर्कसम्म करिब १५ किलोमिटर कच्चीसडक (बाह्रै महिना चल्ने) रहेको र त्यसपछि करिब ३ घण्टा पदयात्रा गरेपछि छिम्केश्वरी पुग्न सकिन्छ । अर्को आँबुखैरेनीबाट लाब्दीसम्म १९ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि करिब १ घण्टा पदयात्रा गरे छिम्केश्वरी पुग्न सकिन्छ । आसपासका गाउँमा होमस्टे सुरु भएकाले खान बस्नको असुविधा हुँदैन ।
लहरै हिमशृंखला, खोलानाला, हरियाली फाँट, डाँडाकाँडा यहाँबाट देख्न सकिन्छ । मन्दिरमा प्रत्येक वैशाख १, फागु पूर्णिमा, पुस १५ (तमु ल्होसार), माघी र वसन्तपञ्चमी यस क्षेत्र भ्रमणका विशेष दिन हुन् । यहाँ विभिन्न प्रजातिका लालीगुराँस, चराचुरुङ्गी, वन्यजन्तु, जडीबुटीको अध्ययन, अवलोकन, अनुसन्धानका लागि उपयुक्त स्थानका रूपमा पनि लिन सकिन्छ ।

प्रकाशित : असार २६, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्